ओलीले भने- पार्टी कब्जा गर्न नसकेपछि प्रचण्ड फर्किए, पूर्व लडाकुको यथोचित व्यवस्था गर्छु – Nepal Press

ओलीले भने- पार्टी कब्जा गर्न नसकेपछि प्रचण्ड फर्किए, पूर्व लडाकुको यथोचित व्यवस्था गर्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चटकेको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड पार्टी कब्जा गर्ने उद्देश्यले नेकपामा आएको र त्यो पूरा नभएका कारण फर्किएको टिप्प्णी गरेका छन् । प्रचण्डलाई पार्टी कब्जा गर्नवाट आफूले जोगाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

अखिल नेपाल महिला संघको केन्द्रीय समितिको दोस्रो बैठकमा सहभागी महिला नेतालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–प्रचण्ड चटके छन्, माधवकुमार नेपाल उनका मामुली कार्यकर्ता हुन् ।

प्रधानमन्त्री ओलीले माधव नेपाललाई पनि प्रचण्डले छक्याएको बताएका छन् । ‘तपाई नै अन्तिम वक्ता हो पार्टीको अध्यक्ष भइसक्नुभयो भन्दै झुक्याउँदै छन् भोलि के गर्छन हेर्दै जानुहोला ’ प्रधानमन्त्री ओलीको टिप्पणी थियो । उनले आफू समृद्ध नेपाल र सुखी नेपालीको एजेण्डा लिएर हिँडेका कारण सबैलाई हँसाउने बताए ।

अहिलेको राजनीतिक घटनाक्रमलाई लिएर चिन्तित नहुन र भ्रममा परेकाहरुलाई पनि समेट्न ओलीलेआग्रह गरेका छन । उनले जनयुद्ध कुहिएको फर्सी भन्दै गरेको टिप्पणीको पनि स्पष्टीकरण दिएका छन् । उनले भने- मैले पूर्व माओवादी आन्दोलनमा लागेकाहरुलाई भनेको होइन, ठूला सपना देखाएर महान क्रान्ती भन्दै लाखौं युवालाई सहभागी गराउने प्रचण्डलाई भनेको हुँ ।

उनले जनयुद्धमा लागेर आफ्नो जीवन वर्वाद बनाएकाहरुलाई प्रचण्डले कहिल्यै नसम्झिएको र आफ्ना परिवारलाई मात्र फाइदा दिएको बताए ।
‘देशमा परिवर्तन ल्याउन भन्दै लडाइयो तर अहिले कहाँ ल्याए त्यो कुरा सम्झाउन खोजेको हुँ, वहिर्गमनमा परेका लडाकुहरुलाई यथोचित ब्यवस्था गर्छु’ प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर