झोलुङ्गे पुलको नामकरण गर्नेलाई २५ हजार – Nepal Press

झोलुङ्गे पुलको नामकरण गर्नेलाई २५ हजार

बागलुङ । बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने देशकै लामो ९५६७ मि० झोलुङ्गे पुलको नामकरणका लागि सम्भाव्य नाम पठाउन सार्वजनिक आह्वान गरिएको छ ।

कालिगण्डकी नदीमाथि बनेको उक्त झोलुङ्गे पुलको शनिबार उद्घाटनका क्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उत्कृष्ट नाम दिने सर्जक÷व्यक्तिलाई पुरस्कारस्वरुप  २५ हजार प्रदान गरिने घोषणा गरे ।

‘प्रक्रिया शुरु भइसक्यो, नाम आह्वानसहितको सार्वजनिक सूचना नगरपालिकाको वेभसाइटमा पनि रहन्छ, प्राप्त नाममध्येबाट छनोट समितिले उत्कृष्ट ठहरिएकालाई पुरस्कृत गर्छौं’, उनले भने । विश्वभर रहेका नेपालीले इमेललगायतका माध्यमबाट नाम पठाउन सकिने नगरपालिकाले जनाएको छ ।

विश्वकै लामो भनेर दाबी गरिएको उक्त झोलुङ्गे पुललाई राष्ट्रिय÷अन्तरराष्ट्रियस्तरमा पहिचान दिलाउने गरी नामकरण गर्न लागिएको हो । ‘संस्कृति, इतिहास, कालिगण्डकी नदीको सभ्यता नाममा झल्कोस्, जनबोलीमा पनि सजिलै स्थापित हुने खालको होस् भन्ने हाम्रो अपेक्षा छ’, उनले भने ।

नामकरण गर्दा त्यसको भाव र सौन्दर्य पक्षलाई पनि मूल्याङ्कनमा मापन गरिने नगरपालिकाले जनाएको छ । ५६७ मिटर लामो र १३८ मिटर अग्लो उक्त झोलुङ्गे पुलको विसं २०७५ चैत ९ गते शिलान्यास गरी निर्माण थालिएको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत १२ करोड २२ लाखको लागतमा पुल निर्माण गरिएको हो ।

निर्माण कम्पनीले सम्झौता अवधिभन्दा तीन महिनाअगावै पुल सम्पन्न गरेको भए पनि कोभिड–१९ का कारण उद्घाटन पछाडि धकेलिएको थियो । सर्वसाधारणको आवतजावतका लागि भने गत साउनदेखि नै पुल खुला गरिएको थियो ।

उद्घाटन समारोहमै मन्त्रालयका सचिव एकनारायण अर्यालले नगरप्रमुख पौडेललाई पुल हस्तान्तरणको प्रमाणपत्र प्रदान गरेका थिए । पुललाई विश्वकै लामो झोलुङ्गे पुलका रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता गर्न नगरपालिकाले प्रक्रिया अघि बढाएको जनाइएको छ ।

‘झोलुङ्गे पुलको जिल्ला’ भनेर चिनिने बागलुङमा लामो पुलले अर्को चिनारी थपेको छ । देशकै लामो पुल तर्न र अवलोकनका लागि जिल्ला भित्रने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ ।

पुलको आसपासमा सौन्दर्यीकरणको योजना अघि बढाइने नगरपालिकाले जनाएको छ । पुलको शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका थिए । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *