दस नेपाली आरोहीले राखे चिसो याममा माउन्ट केटु आरोहणको रेकर्ड – Nepal Press

दस नेपाली आरोहीले राखे चिसो याममा माउन्ट केटु आरोहणको रेकर्ड

काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल केटुलाई हिउँद याममा आरोहण गरेर नेपालका १० जना पर्वतारोहीले इतिहास रचेका छन् । पाकिस्तानमा अवस्थित माउन्ट केटुमा चिसो मौसममा कसैले पनि चढ्न सकेको थिएन । तर, शनिबार यो इतिहास नेपाली पर्वतारोहीको नाममा रचियो ।

यसरी केटु आरोहण गर्नेहरुमा निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा जी, सोना शेर्पा, मिङ्मा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा छन् । चुचुरोको सय मिटर तल भेला भएर सबैजनाले एकैपटक चुचुरोमा पाइला टेकेका थिए । तीन विभिन्न एक्सिपिडिसन टीमबाट चढेपनि उनीहरुले नेपालबाट संयुक्तरुपमा आरोहण गरेको जनाएका छन् ।

‘हामीले नेपाल र नेपाली आरोही समुदायलाई गर्विलो तुल्याएका छौं’ चुचुरोमा पुगिसकेपछि मिङ्मा ग्याल्जी शेर्पाले सामाजिक संजालमा लेखे । यसैगरि निम पूर्जाले पनि सामूहिक मिहेनतका कारण प्रयास सफल भएको लेखेका छन् । चुचुरोमा पुगेपछि सबैले एकैसाथ नेपाली राष्ट्रिय गीत गाएको समेत उनले जनाएका छन् । ‘यतिबेला देशप्रेम महसुस भयो’ पुर्जाले उल्लेख गरेका छन् ।

पर्वतारोहीका अनुसार केटु चढ्नु सगरमाथा आरोहणभन्दा कठिन कुरा हो किनभने केटु पर्वतको संरचना नै जटिल खालको छ । पूर्जाका अनुसार आफूहरु चुचुरोमा पुग्दा त्यहाँको तापक्रम माइनस ४० डिग्री सेल्सियस रहेको र २०० किमी प्रतिघन्टाले हावा चलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर