चुनाव हुँदैछ, हामी जित्दै छौं- प्रचण्डलाई सूर्य चिह्न किन चाहियो ? (भिडियो रिपोर्ट) – Nepal Press
ओलीको दृढ बोली

चुनाव हुँदैछ, हामी जित्दै छौं- प्रचण्डलाई सूर्य चिह्न किन चाहियो ? (भिडियो रिपोर्ट)

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध देशै एकजुट भइरहेको जस्तो देखिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीमा देखिएको ‘कन्फिडेन्स’बारे साताअघि नेपाल प्रेसले नै रिपोर्ट प्रकाशित गरेको थियो ।

‘आक्रामक ओली- कहाँबाट आइरहेको छ यो ‘कन्फिडेन्स’ ?’ भन्ने उक्त फिचर रिपोर्टमा पक्ष र विपक्षमा नेता र राजनीति शास्त्रीले आ-आफ्नै तर्क पस्किएका थिए ।

ओलीले त्यो आक्रमकता र आत्मविश्वासलाई पुन एकपटक प्रकट गरेका छन् । शनिबार राजधानीमा भएको आफू पक्षीय नेकपाको प्रदेश १ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले आफू आत्मविश्वासी हुनुको कारण समेत खुलाए ।

‘यस्तो हुँदा पनि केपी ओली मुस्कुराउने ?’ भन्ने प्रश्न आफूप्रति लक्षित गरिएको भन्दै ओलीले त्यसको जवाफ दिए- के भयो चुनाव हुँदै छ । चुनाव हुँदै छ, हामी जित्दै छौं । चुनाव भनेकै त्यही हो कसैले जित्ने कसैले हार्ने ।’

राष्ट्रियसभामा सम्बोधन गर्दा ‘लोकप्रियताको ग्राफ’ जाँच्न चुनावी मैदानमा आउन आह्वान गरेका ओलीले आत्म विश्वासको त्यही लय पकड्दै आज पनि भने-आउनुहोस्, पार्टीमा आउनुहोस्। पार्टीमा आउनुभएन भने चुनावमा आउनुहोस् ।

आफ्नो सम्बाधोनका क्रममा ओलीले पछिल्लो समय उठेका केही प्रश्नको जवाफ समेत दिए, भलै उनले ठट्यौली र अरुलाई उडाउने शैलीमा त्यसलाई व्यक्त गरे ।

मैले हँसाएँ, के बिगारेँ

प्रचण्ड र नेपाललाई आफूले जनता हँसाउँदै हिड्दा चिन्ता भएको उनले टिप्पणी गरेका छन् । सम्बोधनका क्रममा ओलीले भनेका छन्-उहाँहरूलाई केपी ओलीले मान्छे हँसाउँदै हिड्दा चिन्ता छ । के म मान्छे मार्दै, दुनियाँलाई रुवाउँदै हिडौँ । म बालबालिका, किशोर किशोरी, युवा, दाजुभाइ दिदीबहिनी, बा-आमाको अनुहारमा मुस्कान ल्याउन चाहन्छु ।

मजदुरमा मुस्कान ल्याउन चाहन्छु । उनीहरूका आँखामा आँसु हुनु हुँदैन । उनीहरूले दुनियाँ रुवाएर । कसैको घोडा खोसेर रुवाए । कसैलाई गाडी खोसेर रुवाए । कसैको खेत खोस्या छ । कसैको घर र पैसा खोस्या छ । रुवाउने अनेक काइदा छन् । मारेर, कुटेर, लुटेर पनि रुवाएको छ । अनि मैले हँसाएँ भनेर कुरा गरिराखेका छन् । जता गए पनि हँसाएर मख्ख पार्यो भनेको छ । नेपाली जनता हाँस्दा किन पीर परेको हो ?

किन चाहियो सूर्य चिह्न ?

ओलीले चुनाव चिह्न सूर्य आफ्नो पार्टीको भएको दावी गरेका छन् । प्रचण्डलाई लक्षित गर्दै उनले आफू हालसम्म सूर्य चिह्न लिएरै चुनाव लडेको भन्दै एक पटक पनि सूर्यबाट चुनाव नलडेको व्यक्तिले दावी गर्न नसुहाउने बताए ।

ओलीले भने-उहाँहरू सूर्य चिह्न दावी गर्न जानुभएछ। सूर्य चिह्न दावी गर्न जाने मान्छे को? जो एकपल्ट पनि सूर्य चिह्नबाट चुनाव लडेको छैन । उसले सूर्य चिह्न त मेरो हो भन्यो । हामी दर्ता गरेदेखि अहिलेसम्म सूर्य चिह्नबाट चुनाव लडेका छौँ। त्यो हाम्रो पार्टीको चिह्न हो ।

न्यायाधीश भेटेको पनि छैन, देखेको पनि छैन

प्रधानमन्त्री ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई भेटेको भन्ने समाचारमा कुनै सत्यता नभएको दावी गरे ।

उनले भने- न्यायाधीश प्रधानमन्त्रीलाई भेट्न गए भनियो, यो भन्दा झुट के हुन्छ? न्याय प्रणालीमाथिको जनताको विश्वास हटाउनको लागि, न्याय प्रणालीमाथिको यो गम्भीर प्रहार हो । योभन्दा घिनलाग्दो कुरा के हुन्छ ? उहाँहरू यस कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ ?

उनले सपना प्रधान मल्ललाई न्यायाधीश हुनअघि सार्वजनिक कार्यक्रममा भेटे पनि अरु न्यायाधीशलाई देख्दै नदेखेको दावी गरे ।

ओलीको भनाइ थियो-ती नाम गरेका न्यायाधीशजीहरूलाई मैले सायद कहिल्यै भेटेको पनि छैन । यसपल्ट मात्रै होइन, कहिल्यै पनि सायद भेटेको छैन । सपना प्रधान मल्ललाई मैले भेटेको थिएँ, सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडि वकिल भएका बेला ।

त्यो पनि सार्वजनिक कार्यक्रममा। व्यक्तिगत भेटघाट कहिल्यै भएको छैन । अरु न्यायाधीशहरूलाई मैले देखेको पनि छैन । सायद चिनेको पनि छैन । हिजो सर्वोच्च अदालतले खण्डन गरिसक्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर