गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता – Nepal Press

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व। गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ ।

नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा हुने प्रतियोगिता फागुन १९ देखि २२ गतेसम्म काठमाडौंको स्युचाटारमा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूह र पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडी सहभागी हुने मुल आयोजक समितिका संयोजक एवं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए ।

प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिता सञ्चालनका लागि नागार्जुन नगरपालिकाले २० लाख रुपैयाँ बजेट उपलब्ध गराउने नगरप्रमुख बस्नेतले जानकारी दिए ।

उनले प्रतियोगिताको उत्कृष्ट महिला बक्सरलाई व्यक्तिगत खर्चमा एक थान स्कुटर प्रदान गरिने घोषणा पनि गरे । उत्कृष्ट पुरुष खेलाडीलाई आयोजकले मोटरसाइकल प्रदान गर्ने छ ।

प्रतियोगितालाई सफल बनाउन नगरप्रमुख बस्नेतको संयोजकत्वमा एक सय एक सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिताका दौरान १३ औं दक्षिण एसियाली खेलकुदमा बक्सिङका पदक विजेता खेलाडीलाई पनि सम्मान गरिने नगर प्रमुख बस्नेतले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर