बाइडेनले घोषणा गरे १.९ ट्रिलियन डलर राहत प्याकेज – Nepal Press

बाइडेनले घोषणा गरे १.९ ट्रिलियन डलर राहत प्याकेज

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाभाइरस महामारीको चुनौतिसँग लड्न १.९ ट्रिलियन डलरको राहत प्याकेज घोषणा गरेका छन् । औपचारिक रुपमा सार्वजनिक गरिएको यो घोषणामा राहत चेक, बेरोजगारी बिमा, साना ब्यापारलाई सहयोग, कोरोनाविरुद्धको खोप र परिक्षणमा थप सहयोग राशी समेटिएको छ ।

प्याकेजमा १४ सय डलरको राहत रकम समेटिएको छ । डेमोक्र्याटहरुले प्रतिनिधि सभामा प्रस्ताव गरेको २ हजार डलरको राहत प्रस्तावलाई समेत अघि बढाउने बाइडेनले जनाए । डेमोक्र्याटिक सांसदले २ हजार डलरको राहत प्रस्ताव गरेपनि रिपब्लिकनले रोकेका थिए । तर, अब बाइडेनको जितसँगै संसदमा डेमोक्र्याटको बहुमत भएको छ ।

बेरोजगारी बिमा रकम अन्तर्गत हप्तामा ३ सय डलर प्रदान गरिएकोमा बाइडेनको प्याकेजमा त्यसलाई ४ सय डलर बनाउने उल्लेख छ । महामारीले सिर्जना गरेको बेरोजगारी कार्यक्रमलाई आगामी सेप्टेम्बरसम्म अघि बढाउने निर्णय पनि प्याकेजमा समावेश छ । भाडा सहायता कार्यक्रमका लागि २५ सय बिलियन डलर विनियोजन गरिएको छ । महामारीमा काम गुमाएकालाई सहयोग गर्न यो कार्यक्रम प्रभावकारी हुने आशा छ ।

घरपरिवार विहिनको लागि ५ बिलियन डलर छुट्याइएको छ । सेप्टेम्बरसम्म फुड स्ट्याम्पमा १५ प्रतिशत वृद्धि गर्ने जनाइएको छ । बालबालिकाको ट्याक्स क्रेडिट बढाइने भएको छ । ६ वर्ष मुनिको बालबालिकाको लागि ३६ सय डलर र ६ देखि १७ वर्षसम्मको बालबालिकाको लागि ३ हजार डलर ट्याक्स क्रेडिटमा समावेश गरिएको छ । आकस्मिक तलब बिदाको सुविधा सेप्टेम्बरसम्म लम्ब्याइएको छ ।

राज्य र विद्यालयको लागि समेत प्याकेजमा राहत रकम विनियोजन गरिएको छ । न्यूनतम तलबमा बढोत्तरी, खोप वितरण तथा परिक्षणको विषय पनि समावेश गरिएको छ । यी प्याकेज कार्यक्रम लागु हुन संसदबाट पारित हुनुपर्छ । जनवरी २० मा बाइडेनले सपथ ग्रहण गरेपछि मात्र यी कार्यक्रमको प्रक्रिया अघि बढ्नेछन् । बाइडेनको यो राहत प्याकेजमा थुप्रै रिपब्लिकन सांसदले समेत समर्थन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर