अझै तीन दिन मौसम बदली हुने – Nepal Press

अझै तीन दिन मौसम बदली हुने

काठमाडौं। अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अधिकांश भूभागको मौसम प्रभावित हुने मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । “तत्कालै ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन”, उनले भनिन्। वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आगामी तीन दिन देशको धेरैजसो स्थानमा मौसम बदली रहने भएकाले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो महसुस हुने बताइएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रहनुका साथै देशका तराईका भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली हुनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री र अधिकतम तापक्रम १८ दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम माइनस २ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस छ । राससबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर