कोभिडले रोकिँदा ७० प्रतिशत काम, अब निर्माण धमाधम ! – Nepal Press
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

कोभिडले रोकिँदा ७० प्रतिशत काम, अब निर्माण धमाधम !

जग्गा अधिग्रहण २ प्रतिशतमात्रै बाँकी

पोखरा । राष्ट्रिय गौरवको योजनाअन्तर्गतको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्झौता मितिभन्दा ६ महिनाअघिनै सक्ने निर्माण कम्पनीको घोषणा थियो । तर, सम्झौता मिति सकिन ६ महिना बाँकी हुँदा ७० प्रतिशतमात्रै निर्माण कार्य सकिएको छ ।

समयमै निर्माण सक्ने लक्ष्य लिएर काम तीब्र रूपमा अघि बढाइएको भए पनि विश्वव्यापी फैलिएको कोभिड-१९ महामारी र लामो समयको लकडाउनले गर्दा विमानस्थल निर्माण कार्य सम्पन्‍न मिति धकेलिएको हो।

सम्झौता अनुसार विमानस्थल निर्माण कार्य सन् २०२१ जुलाई १० मा सक्नुपर्ने थियो । महामारीले प्रभावित बनेको निर्माण कार्य समयमै नसकिने देखिएको नागरिक, उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

‘कोभिड महामारीले गर्दा चिनियाँ कामदारहरू स्वदेश फर्किए । थोरै र सीमित कामदारले काम अघि बढाउनुपर्ने भयो,’ विमानस्थलको निरीक्षण गर्न पोखरा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई जानकारी दिँदै निर्देशक अधिकारीले भने, ‘अब समयमै सक्न गाह्रो छ । ५/५ महिना अझै समयावधि थप गर्नुपर्ने देखियो ।’

निर्देशक अधिकारीले विमानस्थलका लागि पूर्वतर्फको रिठ्ठेपानी डाँडा काट्न पनि स्वीकृति नपाएको बताए । विमानस्थलमा उडानका लागि रिठ्ठेपानी डाँडाले समस्या पार्ने भएकाले त्यहाँको ४० मिटर डाँडा काट्ने भनिएको थियो । ‘त्यहाँको डाँडा सम्याएपछि उडानमा कुनै समस्या हुँदैन । त्यसका लागि स्वीकृति बाँकी छ, त्यो कागजी कुरामात्रै हो । होला !’ उनले भने ।

पोखरा क्षेत्रीय विमानस्थलका लागि कुल ३ हजार ८ सय ९९ रोपनी क्षेत्रफल आवश्यक छ । जसमध्ये हालसम्म ९८ प्रतिशत जग्गा अधिग्रहण गरिसकिएको छ । विमानस्थल आयोजना प्रमुख विनश मुनकर्मीका अनुसार २०३२ सालदेखि हालसम्म ३ हजार ८ सय २० रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ।

‘०७२/७३ देखि थप जग्गा अधिग्रहण सुरू गरिएको थियो । त्यसबेला पहिलो चरणमा ६ सय २९ रोपनी, दोस्रो पटकमा बाटोका लागि ६० रोपनी र तेस्रो पटकमा १ सय ४ रोपनी जग्गा अधिग्रहण गरेका थियौं,’ मुनकर्मीले भने, ‘अब २ प्रतिशतमात्रै जग्गा अधिग्रहण गर्न बाँकी छ ।’

विमानस्थलमा टर्मिनल भवन, ह्यांगरलगायत १४ वटा भवन निर्माण र छाना लगाउने काम पनि पनि सकिसकेको आयोजना प्रमुख मुनकर्मीले जनाए । विद्युतीय र प्लम्बिङ सम्बन्धी कामसमेत ८० प्रतिशत पूरा भइसकेको र चाँडै सकिने उनको दाबी छ । ‘पानी पम्प र एअर प्रेसर ट्यांकको कामसमेत सुरू भइसकेको छ,’ उनले भने ।

कोभिड महामारीले चिनियाँ कामदार स्वदेश फर्किएको र काममा फर्किन ढिलाइ भएका कारण निर्माण कार्य पनि प्रभावित भइरहेको मनकर्मीको भनाइ छ । कोभिडका कारण उडान बन्द र कामदारको भिषा स्वीकृत नहुँदा पनि चिनियाँ जनशक्ति नेपाल आउन ढिलाइ भइरहेको उनको भनाइ थियो ।

‘पहिले नेपाली चिनियाँ गरेर ६ सय कामदार थिए । तर, अहिले हामीसँग ३ सय ३० जना कामदारले मात्रै काम गरिरहेका छन्,’ उनले भने, ‘बाँकी चिनियाँ कामदार पनि कोभिड भ्याक्सिन लगाएर काममा फर्किन तयार भइसकेका छन् ।’ विमानस्थलमा हाल १ सय ५० जना चिनियाँ र १ सय ८० जना नेपाली कामदारले काम गरिरहेका छन् । विमानस्थलका लागि हालसम्म ५० प्रतिशतमात्रै वित्तीय खर्च भएको छ ।

आयोजना निर्माणमा तेलको डिपोका लागि नेपाल आयल निगमबाट पनि ढिलाइ भइरहेको आयोजना प्रमुख मुनकर्मीले बताए। उनले पटक-पटक पत्राचार गरेको भएपनि निगमबाट ठोस रूपमा काम अगाडि नबढाइएको बताए । ‘डिपोका लागि जग्गा छुट्याइसकेका छौं । पछि उडान सुरू हुने तर, डिपो नहुने आउन समस्या हुन सक्छ,’ उनले भने ।

विमानस्थल क्षेत्रबाहिरबाट बग्ने पानीका कारण पूर्वी भागमा बाढीले समस्या भइरहेको मुनकर्मीले जानकारी दिएका छन् । उनका अनुसार पोखरा महानगरले ल्यान्डफिल्ड साइटको स्थानान्तरण कार्य अघि नबढाउँदा पनि काम प्रभावित भइरहेको छ । ‘महानगरलाई ३ पटक पत्राचार गरिसकेका छौं । तर, महानगरबाट अन्य कामकामकारबाही अघि नबढेकाले समस्या भएको छ,’ उनले भने ।

भैरहवाभन्दा पोखरा विमानस्थलनै राम्रो : मन्त्री ढकाल

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पोखरा विमानस्थल राम्रो भएको पर्यटनमन्त्री भानुभक्त ढकालले बताएका छन् । बुधबार भैरहवा विमानस्थल अवलोकनपछि बिहीबार पोखरा आइपुगेका उनले २ विमानस्थलको तुलना गरेका हुन् ।

‘भैरहवा विमानस्थल बुद्धझैं शान्त छ । पोखरा फेवाताल, माछापुच्छ्रेझैं भन्ने होला,’ मन्त्री ढकालले भने, ‘व्यक्तिगत रूपमा भने मलाई पोखरामा बनिरहेको विमानस्थल मन परेको हो ।’ उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य कोभिडका कारण ढिलाइ भएपनि एकदमै सकारात्मक रहेको सुनाए । ‘सकेसम्म तोकिएको समयमै काम सक्ने गरी हामी कोसिस गर्छौं नसकेपनि के-के कुराले समस्या पारिरहेका छन्, ती समस्या समाधान गर्न पहलकदमी गरी विलम्व गर्ने पक्षमा छैनौं,’ उनले भने ।

विमानस्थल निर्माणका लागि करिब २२ अर्ब रुर्पयाँमा २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो । सन् २०१७ नोभेम्वर महिनादेखि निर्माण सुरू भएको विमानस्थलको २०२१ जुलाई २०२१ सम्म सम्पन्न गरिसक्ने र नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *