नेपाल-भारत संयुक्त आयोगको बैठक बस्दै, को-को छन् नेपाली टोलीमा ? – Nepal Press

नेपाल-भारत संयुक्त आयोगको बैठक बस्दै, को-को छन् नेपाली टोलीमा ?

नयाँ दिल्ली । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आज बस्दैछ । आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको १२ सदस्यीय टोली विहीवार नै दिल्ली पुगिसकेको छ ।

नेपाल र भारतबीच नक्सा विवाद भएपछि नेपालबाट भएको यो पहिलो उच्चस्तरीय भारत भ्रमण पनि हो । यसअघि भारतीय विदेश सचिव,सेना प्रमुख र गुप्तचर प्रमुखले नेपाल भ्रमण गरेका थिए । मन्त्री ज्ञवालीले संयुक्त आयोगको बैठकसँगै केही उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने सम्भावना छ ।

हैदरावाद हाउसमा हुने संयुक्त आयोगको बैठकको अध्यक्षता दुवै परराष्ट्रमन्त्रीले संयुक्त रुपमा गर्दैछन् । नेपालले कालापानी लगायत सीमा विवाद टुंग्याउने विषयलाई पनि बैठकमा उठाउने तयारी गरिरहेका बेला भारतले भने सीमा विवादको टुंगो लगाउन प्राविधिक समिति रहेको बताएको छ ।

नेपाल र भारतबीच संयुक्त आयोगका मन्त्रीस्तरीय,सचिवस्तरीय र प्राविधिक कार्यदल समेत गरि अलग अलग संयन्त्र छन् । भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तबले विहीवार दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा संयुक्त आयोगको वैठक र सिमा विषय फरक रहेको बताएका थिए ।

भारतले सीमा विवादको छलफलबाट पन्छिन खोजे पनि नेपालले यो उच्चस्तरीय बैठकमा त्यस विषयलाई प्रवेश गराउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ नेपाल भारतबीच समस्या समाधानको वर्ष हुने भन्दै लिम्पियाधुरा,लिपुलेक र कालापानी नेपालले फिर्ता ल्याउने बताएका छन् ।

नेपाली प्रतिनिधिमण्डलले नियमित विषय बाहेक सिमा विवाद र कोरोनाको भ्याक्सिनका सन्दर्भमा भारतसँग ठोस कुराकानी गर्न खोजेको छ ।

को-को छन् नेपाली टोलीमा ?

नेपालबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा विभिन्न मन्त्रालयका उच्च अधिकारी सम्मिलित १२ सदस्यीय टोली दिल्लीमा छ । टोलीमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल सहभागी छन् ।

त्यस्तै परराष्ट्र मन्त्रालयको दक्षिण एशिया हेर्ने महाशाखा प्रमुख यज्ञवहादुर हमाल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल,विद्युत विकास विभागका प्रमुख नविन राज सिंह, भौतिक पुर्वाधार विकास मन्त्रालयका सहसचिव रामहरी पोखरेल र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल सहभागी छन् ।

टोलीमा गृहमन्त्रालयका सहसचिव चक्रवहादुर बुढा, नापी विभागका महानिर्देशक प्रकाश जोशी, परराष्ट्र मन्त्रालयका उपसचिव लोकवहादुर पौडेल र परराष्ट्र मन्त्रीका स्वकीय सचिव खेमराज ज्ञवाली रहेका छन् भने दिल्लीस्थित नेपाली दूतावासबाट राजदूत निलाम्बर आचार्य सहितका उच्च अधिकारी छलफलमा सहभागी हुँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर