कास्कीमा ओली पक्ष बलियो, स्थानीय तहमा शतप्रतिशत – Nepal Press

कास्कीमा ओली पक्ष बलियो, स्थानीय तहमा शतप्रतिशत

प्रचण्ड-नेपाल समूहको दाबी: ग्राउन्ड लेबलमा हामी बलियो छौं

पोखरा । पार्टी विभाजनपछि प्रचण्ड र माधव नेपालको राजधानी बाहिर पहिलो संयुक्त कार्यक्रम मंगलवार पोखरामा भयो । समग्र गण्डकीमै ओली पक्षभन्दा कमजोर रहेको सन्देश गएकाले कार्यकर्तालाई उत्साह भर्न विभाजित पार्टीका दुवै अध्यक्षलाई पोखरा बोलाइएको स्थानीय नेताहरुले बताएका छन् ।

गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने संख्या समेत नरहेको प्रचण्ड-माधव पक्ष प्रदेश राजधानी रहेको पोखरामा अझ कमजोर छ । पूर्व माओवादी त्यसै कमजोर थियो नै,माधव नेपाल पक्ष पनि कास्कीमा रक्षात्मक अवस्था रहेकाले यहाँ तलदेखि माथिसम्मको सेटनै अ‍ोली पक्षको पकडमा छ ।

कास्की जिल्ला तत्कालीन समयमा पनि पूर्व एमालेको बलियो क्षेत्रका रुपमा मानिँदै आएको थियो । जिल्लाका प्रायः सबै जनप्रतिनिधि पूर्व एमालेतर्फबाटै विजयी भएकाले पनि विभाजनपछि पनि ओली पक्षकै दबदबा कायम रहने देखिएको हो ।

पार्टी विभाजनपछि पूर्व माओवादीका ठूलो संख्या प्रचण्ड–माधव पक्षमा लागेपनि त्यसले जिल्लाको ‘राजनीतिक समीकरण’मा ठूलो प्रभाव नपार्ने ओली पक्षको दाबी छ । पूर्व माओवादी बाहिरिएपनि एमालेको सबै हिस्सा आफूहरुसँगै रहेको दाबी नेकपा कास्की जिल्ला अध्यक्ष कृष्ण थापा बताउँछन् ।

‘पार्टी नै विभाजन भएपछि केही पनि समस्या नहुने भन्ने हुँदैन । केही समस्या त उत्पन्न हुन्छन् नै । पूर्व माओवादीतर्फका ठूलो संख्या बाहिरिनु भएको छ,’ नेपालप्रेससँग कुरा गर्दै थापाले भने, ‘तर त्यो ठूलो समस्या होइन । बाँकी पूर्व एमालेका सबै हामीसँगै हुनुहुन्छ ।’

कास्कीबाट विजयी भएका विघटित प्रतिनिधिसभा सदस्यसमेत सबै ओली समूहमै छन् । प्रतिनिधि सभामा कास्कीबाट खगराज अधिकारी, विद्या भट्टराई अधिकारी र जगत विश्वकर्मा गरी ३ जना विजयी भएका थिए । ‘तीनै जना पूर्व एमालेतर्फबाट विजयी हुनुभएको हो । उहाँहरु हाम्रै (ओलीसमूह) पक्षमा हुनुहुन्छ,’ उनले भने ।

कास्कीका विभिन्न क्षेत्रबाट प्रदेश सभामा ११ जनाले प्रतिनिधित्व गर्छन् । जसमध्ये ३ जनामात्रै दाहाल-नेपाल समूहमा गएको अध्यक्ष थापाको भनाइ छ । ‘८ जना पूर्व एमालेबाट निर्वाचित भएका थिए । उहाँहरु हाम्रैमा हुनुहुन्छ,’ उनले भने ।

नेकपा कास्कीमा १ सय ५५ सदस्य छन् । सबै जिल्ला सदस्यमध्ये १ सय ७ जना ओली समूहमै रहेको अध्यक्ष थापाको दाबी छ । ‘अस्ति जिल्ला बैठक गरेका थियौं । बैठकमा १ सय ७ जना सहभागी हुनुभयो,’ उनले भने, ‘बैठकमा पूर्व माओवादीतर्फका २७ जनाले हस्ताक्षर गर्नु भएको छ ।’

प्रतिनिधिसभा र प्रदेश सभा

विघटित प्रतिनिधिसभाका तीनै जना प्रत्यक्ष निर्वाचित सांसद ओली पक्षमा छन् भने प्रदेशसभाका ११ मध्ये ८ जना ओली पक्षमा लागेका छन ।

प्रतिनिधिसभा
कास्की १– खगराज अधिकारी (ओली पक्ष)
कास्की २– विद्या भट्टराई अधिकारी (ओली पक्ष)
कास्की ३– जगत विश्वकर्मा (ओली पक्ष)

प्रदेशसभा
१ क– दिपक कोइराला (प्रचण्ड पक्ष)
१ ख–मनवहादुर गुरुङ (ओली पक्ष)
२ क– कृष्ण थापा (ओली पक्ष)
३ क– रामजी वराल (प्रचण्ड पक्ष)
३ ख– राजीव पहारी (ओली पक्ष)

समानुपातिक
मीना गुरुङ– ओली पक्ष
प्रभा कोइराला– ओली पक्ष
पुष्पा केसी भण्डारी– ओली पक्ष
गायत्री गुरुङ – प्रचण्ड पक्ष
सिर्जना शर्मा– ओली पक्ष
मित्रकुमारी गुरुङ– ओली पक्ष

स्थानीय तहका सबै ओली पक्षमा

कास्कीका सम्पूर्ण स्थानीय तहमा भने विभाजित नेकपा ओली समूहले एकछत्र कायम गरेको छ । कास्कीका पोखरा महानगर, माछापुछ्रे गाउँपालिका, मादी गाउँपालिका र रुपा गाउँपालिका गरी ४ स्थानीय तहमा तत्कालिन एमालेले जितेको थियो ।

ती सबै स्थानीय तहका शतप्रतिशत जनप्रतिनिधि ओली पक्षमै रहेको अध्यक्ष थापाले जानकारी दिए । अन्नपूर्ण गाउँपालिकामा तत्कालिन एमालेले उपाध्यक्ष जितेको थियो ।

पोखरा महानगरको ३३ वडामध्ये २२ वटा वडामा पूर्व एमाले विजयी भएको थियो भने पूर्व माओवादीले कुनै पनि वडामा जित निकाल्न सकेको थिएन ।

पोखरा महानगरपालिका
मेयर–मानवहादुर जिसी (ओली पक्ष)
उपमेयर– मन्जु गुरुङ (ओली पक्ष)

रुपा गाउँपालिका
अध्यक्ष–नवराज ओझा (ओली पक्ष)
उपाध्यक्ष– लालशोभा गुरुङ (ओली पक्ष)

मादी गाउँपालिका
अध्यक्ष–देववहादुर गुरुङ (ओली पक्ष)
उपाध्यक्ष–बिष्णुमाया गुरुङ (ओली पक्ष)

माछापुच्छ्रे गाउँपालिका
अध्यक्ष–कर्ण गुरुङ (ओली पक्ष)
उपाध्यक्ष– कृष्ण दवाडी (ओली पक्ष)

अन्नपूर्ण गाउँपालिका
उपाध्यक्ष–सगुन गुरुङ (ओली पक्ष)

पार्टी विभाजनपछि जिल्लामा ओली पक्ष बलियो देखिए पनि अबको राजनीतिक समीकरण कस्तो बन्ने भन्नेबारे पार्टीको वैधानिकता र चुनाव चिन्हले प्रभाव पार्ने नेकपा कास्की अध्यक्ष कृष्ण थापा सुनाउँछन् ।

अर्को पक्ष भन्छ–ग्राउण्डमा बलियो छौं

विभाजित नेकपाका प्रचण्ड–माधव समूहले भने माथिल्लो कमिटीमा कमजोर देखिए पनि ‘ग्राउन्ड लेबल’ मा भने आफूहरु बलियो रहेको दाबी गरेको छ । प्रचण्ड–माधव समूहका रहेका जिल्ला सचिव राजकाजी गुरुङले स्थानीय तहमा पनि कस्को पक्षमा धेरै भन्ने थाहा पाउन ‘चुनावी घोषणा हेर्न’ आग्रह गरे । तर, त्यसबारे खुलाएनन् ।

पूर्व माओवादीबाट ओली समूहमा गएको भन्नेबारे गुरुङले हल्लामात्रै भएको र बरु ओली पक्षबाट प्रचण्ड–नेपाल समूहमा आउन लागेको दाबी गरे । ‘पूर्व माओवादी समूहबाट उता (ओली समूह) मा गएको भन्ने हल्लामात्रै हो, ‘सहसंयोजक करणले नेपाल प्रेससँग भने, ‘बरु उहाँहरुको १५/२० जना साथीहरु पनि हाम्रोमा आउने वचन दिनुभएको । केही दिनमै आउनुहुन्छ ।’

पार्टी विभाजनले जिल्लामा प्रचण्ड पक्षलाई कस्तो असर प्रभाव पर्छ ? भन्ने प्रश्नमा गुरुङले ‘चित्र प्रष्ट हुन बाँकी’ नै रहेको जवाफ दिए । ‘धेरै साथीहरु अझै खुल्नु भएको छैन । उहाँहरु अझैसम्म नखुलेकै कारण ठ्याक्कै चित्र खुलिसक्या छैन । केही दिनमा उहाँहरु खुलेपछि चित्र प्रष्ट होला !’ उनले भने ।


प्रतिक्रिया

One thought on “कास्कीमा ओली पक्ष बलियो, स्थानीय तहमा शतप्रतिशत

  1. ओली बलीयो ? के वहाँ ईन्सेट तस्बीर मा भएका ५/६ जनाले मात्रै ओली बलीयो ? की जन्ताका भोट पछी ओली बलीयो????सबै भन्दा Priority काम यो घातक AMERICAN MCC परीयोजना खारेज गर,अनी नक्शाा फोटो छापेर मात्रै हाई हाई खोज्ने होईन ,ईन्डीयानहरूलाई बार्त का लागी टेबुल मा ल्याऊँन सक्नुस।ईन्डीयानहररूले मीचीरहेका र अतिक्रमण गरीएका सँपूर्ण भूभाग का लागी ईन्डीयानहरूलाई टेबुल मा ल्याऊँनुस सुरूमा यी कामहरू गरेर देखाऊँनुस यसरी ओली बलियो भनेर कहीँ पनी कतै पनी यसरी बिज्ञापनहरू दिईरहनु जरूरी पर्ने छैन ,ओली जी ,IMMORTALLY र,सदा का लागी बलियो हुनेछन र रहनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर