प्रचण्ड–माधव पक्षको कार्यदलमा ढिलाइ किन ? – Nepal Press

प्रचण्ड–माधव पक्षको कार्यदलमा ढिलाइ किन ?

हप्ता दिनभित्रै एकताका काम टुंगाउनुपर्ने कार्यादलका दुईवटा मात्रै बैठक

काठमाडौं । नेताहरुको कार्य विभाजन, महासचिव चयन र पार्टी एकताका काम टुंगो लगाउन विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) लाई सकस भएको छ ।
स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी काम टुंग्याउन भन्दै अध्यक्ष माधव नेपालको अध्यक्षतामा कार्यदल बनाएको थियो । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई सात दिनको समय दिइएकोमा नेताहरुको व्यस्तता जनाउँदै गृहकार्य टुंगिन नसकेको हो ।

२० पुसमा सकिएको स्थायी कमिटी बैठकले कार्यदलाई एक साता भित्र ठोस खाका पेस गर्न ‘म्याण्डेड’ दिएको थियो ।

कार्यदललमा ११ जना स्थायी कमिटी सदस्यहरू छन् । कार्यदलमा रहेका नेताहरु हुन्, भीम रावल, अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वेदुराम भुसाल, मातृका यादव, लीलामणि पोखरेल र शक्ति बस्नेत ।

दुई बैठक मात्रै
स्थायी कमिटी सदस्य भीम रावलका अनुसार एक साताको अवधि पाएको कार्यदलको अहिलेसम्म दुई वटा मात्रै बैठक बसेको छ ।

२० पुसको स्थायी कमिटी बैठकले ओली पक्षतिर लागेका प्रदेश इन्चार्जहरु शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई हटाएको थियो । उनीहरुलाई हटाएर लुम्बिनी प्रदेश इन्चार्जमा युवराज ज्ञवाली र गण्डकी प्रदेश इन्चार्जमा देवेन्द्र पौडेललाई नियुक्त गरेको थियो ।

पार्टीमा विभाजन आएपछि बाँकी एकता र पदपूर्तिका विषय टुंग्याउन नेपाल नेतृत्वको कार्यदललाई जिम्मेवारी सुम्पिएको थियो ।

स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यका अनुसार कार्यदलका दुई बैठकमा केही विषयमा छलफल भए पनि पूर्ण रुपमा विषयहरू टुंगिएका छैनन्।

‘कार्यदलको छलफल पूर्ण रुपमा सकिएको होइन,’ शाक्यले नेपाल प्रेसँग भनिन्, ‘छलफल गर्दै टुंग्याउँदै, गर्ने हो ।’

ढिलाई किन ?
स्थायी कमिटी सदस्य लिलामणि पोखरलेलका अनुसार आन्दोलनका कार्यक्रमले नेताहरु उपत्यका बाहिर जानु पर्ने भएकाले ढिलाई भएको हो ।

उनी भन्छन–आन्दोलनको कार्यक्रमले गर्दा नेताहरु पनि बाहिर–बाहिर जानु पर्ने भएकाले टुंगिएको छैन । अहिलेसम्म दुईजना इन्चार्ज तोकियो त्यही हो ।’

पोखरेल आफै पनि कार्यदलका दुई बैठक मध्य एउटा बैठकमा मात्रै सहभागि भएका थिए ।

शाक्यले नेपाल प्रेससँग भनिन्–एकताका कामपनि टुंग्याउनु पर्‍यो, सांगठानिक काम पनि टुंग्याउनुपर्‍यो । कार्यदलले तयार पारेको प्रस्ताव आको स्थायी बैठकमा लगेर छलफल हुन्छ ।’

बिहीबारको बैठकले काम अघि बढाउ थप सहज हुने गरि कार्यदललाई सुझाव दिने  भने पनि त्यास विषयमा छलफल नभएकाे बताइएको छ ।

सजिलो छैन कार्यदललाई
पार्टीमा विभाजन आएपछि प्रचण्ड–माधव पक्षले नेता नेपाललाई अध्यक्ष नियुक्त गरे पनि बाँकी पदाधिकारी छनोट गरेको छैन् ।

संग्लो नेकपाको जस्तै पदाधिकारी संरचनामा गए पनि उपाध्यक्ष र महासचिव नियुक्त हुन बाँकी छ । महासचिवमा धेरै आकांक्षी भएका कारण विशेष गरि महासचिव नियुक्ति प्रचण्ड–माधव पक्षलाई कठिनाइ भएको छ ।

महासचिवमा भीम रावल, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल, वर्षमान पुन,जनार्दन शर्मा लागयत आकांक्षी छन् । पार्टीमा धेरै भाग नपाएका वरिष्ठ नेता झलनाथ खनालको सिफारिस अनुसार सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने तयारी भए पनि आकांक्षीहरुको विरोधका कारण कुनै निर्णय भएको छैन् ।

प्रचण्ड–माधव पक्षले प्रदेश कमिटीमा ९ पदाधिकारी नियुक्त गर्न बाँकी छ। प्रदेश एकमा प्रचण्ड–माधव पक्षकै भीम आचार्य प्रदेश इन्चार्ज छन्। अध्यक्ष देवराज घिमिरे ओली पक्षतिर लागेका कारण त्यहाँ नयाँ नियुक्त गनुपर्ने छ।

त्यसतै प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज प्रभु साह र सचिव सुमन प्याकुरेल पनि ओली पक्षतिरै लागेकाले त्यहाँ पनि नयाँ नियुक्ति गनुपर्ने छ ।

वागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेल पनि ओली पक्षतिर लागेका छन्। उनको ठाउँमा पनि नयाँ नियुक्ति गर्नुपर्ने छ। कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटी र सहइन्चार्ज यामलाल कँडेल पनि ओली पक्षमा लागेकाले त्यहाँ पनि नयाँ नेतृत्व ल्याउनुपर्नेछ।

त्यस्तै सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र सहइन्चार्ज लेखराज भट्ट पनि ओली पक्षतिरै लागेका छन्। त्यहाँ पनि खाली छ । पार्टी विभाजनपछि जिल्ला र नगर कमिटीमा पनि रिक्तता आएकाले त्यहाँ पनि नयाँ नेतृत्व चयन गनुपर्ने छ ।

रिक्त स्थानमा नयाँ नेतृत्व चयन गर्दा प्रचण्ड–माधव पक्षभित्र पनि शक्ति सन्तुलन मिलाउनुपर्ने पर्ने छ । कार्यदलले पूर्व माओवादी पक्ष र पूर्व एमाले पक्षको शक्ति सन्तुलन हुने गरि प्रस्ताव तयार गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर