खाने तेलको मूल्यमा दोब्बरसम्म बृद्धि, सरकार भन्छ–फागुनबाट घट्छ – Nepal Press

खाने तेलको मूल्यमा दोब्बरसम्म बृद्धि, सरकार भन्छ–फागुनबाट घट्छ

काठमाडौं । पछिल्लो समय भटमास र सनफ्लावर तेल लगायत अन्य उपभोग्य बस्तुको मूल्य वृद्धि भएको छ । कोरोनाको कारण करिब ७ महिना बन्द भएको बजार विस्तारै माथि उठ्दै गएको समयमा व्यापारी र उद्योगीले खाने तेलको मूल्य वूद्धि गरेका हुन् । उपभोक्ताको आयस्रोत कम हुँदै गएका बेला उपभोग्य बस्तुको मूल्य भने वृद्धि हुँदै गएको छ ।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बजारमा खाने तेलको मूल्य २ गुणासम्मले वृद्धि भएको बताए । केही समय अघि भटमासमको तेलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ थियो ।

हाल आएर २ सय १० रुपैयाँ भएको र सनफ्लावर तेलको मूल्य १ महिना अघि प्रति लिटर १ सय ८५ रुपैयाँबाट वृद्धि भई अहिले २ सय २० रुपैयाँ भएको छ । तोरीको तेलमा भने २ सय ५० रुपैयाँबाट बढेर २ सय ६० रुपैयाँ पुगेको उनले बताए ।

उनले भने –हाल विदेशबाट आउने कच्चा पदार्थको मूल्य वृद्धि भएकाले नेपालमा खाने तेलको मूल्य वृद्धि भएको भनिएको छ । तर २ महिना अगाडी उत्पादन भएको तेलमा पनि मूल्य वृद्धि भएर बजारमा विक्री भइरहेको छ ।
तेल उत्पादक र ठुला व्यपारीहरुले आफ्नो मनोमानी तरिकाले खाने तेलको मूल्य वृद्धि गरेको उनले बताए ।

हाल जिरामसिनो र लंगे्रन चामलको पनि मूल्य वृद्धि भएको उनले जानकारी दिए । जिरा मसिनो चामलमा प्रति बोरा ५० देखि १ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । भने लंग्रेन चामलमा पनि प्रति बोरा ५० देखि १ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । हरियो केराउमा भने प्रति केजी १५ रुपैयाँ मूल्य घटेको छ । अन्य खाद्यान्नमा भने मूल्य नबढेको श्रेष्ठले बताए ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक नेत्रप्रसाद सुवेदीले व्यापारीले भनेको जसरी एकै पटक तेलको मूल्य वूद्धि नभएको दावी गरे । पटक पटक गरेर भने तेलको मूल्य वृद्धि भएको उनले बताए ।
उनले भने– बजारमा हल्ला भए जसरी बजारमा तेल लगायत उपभोग्य बस्तुको मूल्य वृद्धि भएको होइन । विश्व बजारमा नै तेल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य वृद्धि भएको कारणले नेपालमा पनि त्यसको प्रभाव परेको हुनसक्छ ।

तेल उत्पादकहरुलाई तेलको मूल्य वृद्धि हुनाको कारण सोधेर बजार अनुगमनलाई तीब्रता दिइएको उनले बताए । विश्व बजारमा नै तेल उत्पादन हुँदा प्रयोग हुने कच्चा पदार्थको मूल्य घट्ने क्रममा रहेकोले नेपालमा खाने तेलको मूल्य फागुनबाट घट्ने सुवेदीले बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष विष्णु प्रसाद तिमल्सिनाले भने नियमक निकाय बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा भएको मूल्य वृद्धिलाई थाहा नपाए जसरी बसेको कारणले नै व्यापारी र उद्योगीले बजारमा लुट मच्चाइरहेको आरोप लगाए ।

उनले भने–विश्व बजारमा उपभोग्य बस्तुको मूल्य घट्दा न सरकारले व्यापारीलाई मूल्य घटाउन भन्छ, न व्यापारी र उद्योगीले नै मूल्य घटाएर बस्तु विक्री वितरण गर्छन् । तर विश्व बजारमा मूल्य वृद्धि भएकै दिन नेपालमा पनि त्यसको असर पर्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *