कांग्रेसका युवा भन्छन्- आन्दोलन पनि ठीक, चुनाव पनि ठीक – Nepal Press

कांग्रेसका युवा भन्छन्- आन्दोलन पनि ठीक, चुनाव पनि ठीक

काठमाडौं । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेलगत्तै कांग्रेसले प्रतिवाद गर्‍यो । कांग्रेस पदाधिकारी बैठकले सो निर्णय ‘अलोकतान्त्रिक र असंवैधानिक’ भएको ठहर गरेको थियो ।

त्यसयता कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ । बैठक थाती राखेर कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदेश, स्थानीय तह र वडा केन्द्रीत प्रदर्शन गरिरहेको छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा उभिएपनि कांग्रेसभित्र संसद पुनःस्थापनाका लागि आन्दोलन र निर्वाचनमध्ये कुनलाई प्राथमिकता दिने भन्नेमा विवाद छ ।

कांग्रेसको शीर्ष तहमा देखिएको यस्तो विवाद गुटगत रुपमा पार्टीको तल्लो तहसम्मै प्रवाहित हुँदैछ । यसैबीच हामीले नेपाली कांग्रेसका नौजना युवा नेतालाई पार्टीको अबको नीति कस्तो हुनुपर्छ ? भनी सोधेका छौं ।

नेतृत्वको एउटै धारणा होस
दिनेश कोइराला– चितवन

प्रतिनिधिसभा विघटन गरेर नेपालका कम्युनिष्टहरुले जनमतप्रति घात गरेका छन् । राजनीतिक स्थिरताका नाममा नेपाली जनताबाट प्राप्त गरेको विश्वास कम्युनिष्टले गुमाएका छन् ।

सत्ता सञ्चालनका दौरानमा भ्रष्टाचारमा चुर्लुम्म डुबेको नेकपा कारण मुलुक डुब्ने स्थिति बनेको छ । तर कम्युनिष्टलाई सुुधार्न नसक्नु कांग्रेसको पनि कमजोरी हो । संसदमा आकार सानो भएपनि कांग्रस देशकै अभिभावक पार्टी हो ।

प्रतिपक्षका रुपमा कांग्रेसको भूमिका प्रभावकारी भएको भए प्रधानमन्त्रीले यस्तो दुस्साहस गर्ने हिम्मत गर्दैनथे । संसद पुनःस्थापना हुँदा वा नहुँदा दुवै अवस्थामा मुलुक समस्यामा पर्ने निश्चित भएको छ ।

आन्दोलनका नाममा सडकमा अनियन्त्रित भीड जम्मा गरेर पनि समाधानमा पुग्न सकिदैन । मेरो विचारमा कांग्रेसले जनजागरण अभियान चलाउनुपर्छ । जनतालाई बुझाउनुपर्छ की कम्युनिष्टका कारण मुलक समस्यामा पर्‍यो । यदि आन्दोलन नै हो भने आन्दोलन त कांग्रेसले होइन जनताले गर्नुपर्छ । कम्युनिष्ट होस वा कांग्रेस सबैबाट दिक्क त जनता छन् ।

सबै पार्टीका गलत प्रवृत्ति र नेतृत्पविरुद्ध जनताले नै आन्दोलन गर्नुपर्‍यो । राजनीतिक पार्टीका रुपमा त कांग्रेसले नेकपाका गल्ती र सरकारको असंवैधानिक कदमबारे जनतालाई कन्भिन्स गर्ने हो । अदालतले पुनःस्थापना गरेको अवस्था र नगरेको दुवै अवस्थाका बारे पार्टी नेतृत्वको धारणा तत्काल बन्नुपर्छ ।

कांग्रेसले दुई तिहाई ल्याउन सक्छ
विष्णु धिताल– लमजुङ

प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक छ । नेपालमा कम्युनिष्ट सरकार जनताको पक्षमा हुँदैन भन्ने प्रमाणित भएको छ । आम जनताले कम्युनिष्टबाट धोका पाइसकेका छन् ।

अब फेरी कांग्रेसले नै नेतृत्व नगरेसम्म राजनीतिक स्थायित्व र विकास हुँदो रहेनछ भन्ने जनतालाई परेको छ । कम्युनिष्टको झूठा नारा र आश्वासन बेकार रहेछ भन्ने जनताको निष्कर्ष छ । यस्तो बेलामा कांग्रेसले आफ्नो सान्दर्भिकता देखाउनुपर्छ ।

कांग्रेसले आफ्नो पार्टीको महाधिवेशन पनि गर्नुपर्छ । आन्तरिक रुपमा पनि कांग्रेस एकताबद्ध हुनुपर्छ र जनतामै गएर पछिल्लो राजनीतिक कदमको हिसाब किताब गर्नुपर्छ । अहिले निर्वाचन भएमा कांग्रेसले दुई तिहाई ल्याउन सक्छ । त्यसैले सरकारलाई तोकिएकै मितिमा निर्वाचन गराउन दवाव दिनुपर्छ ।

जनमतबाट एजेण्डा स्थापित गर्नुपर्छ
नैनसिंह महर–डडेल्धुरा

प्रतिनिधिसभा जसरी विघटन गरियो गम्भीर त्रुटी हो । असंवैधानिक, अलोकतान्त्रि र अराजनीतिक कदम हो भन्ने नै कांग्रेसको धारणा हो । प्रतिनिधिसभा विहीनताको अवस्था अन्त्य गरेर मात्रै अहिलेको असंवैधानिक र अलोतान्त्रिक कदमबाट हुने दुर्घटना टार्न सकिन्छ ।

संसद फिर्ता ल्याउनुपर्छ । त्यसका लागि हामीसंग दुई वटा उपाय छ । पहिलो उपाय सर्वोच्च अदालतको निर्णयले तय गर्छ । अदालतबाट पुनःस्थापना भयो भने संसद फर्कन्छ । दोस्रो उपाय भनेको निर्वाचन हो ।

अदालतमा मुद्धा पुगेका कारणले हामीले निर्णय कुर्नुपर्छ । पहिलो कुरा संसद पुनःस्थापना हो र त्यसको बाटो अदालत नै हो । अदालतले पनि यो विषयमा विलम्व नगरिकन निर्णय दिनुपर्छ ।

अदालतबाट भएन भने निर्वाचनबाट पनि संसद ल्याउन सकिन्छ । त्यसका लागि पनि नेपाली कांग्रेस तयार रहनुपर्छ । अदालतमा विचाराधीन भएको मुद्धालाई प्रभावित पार्ने काम कसैबाट हुनुहुँदैन ।

संसद विघटन गलत कदम भएकोले जनतलाई यसका बारेमा भन्नुपर्छ । कांग्रेस एक जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले अदालतको आदेशलाई शिरोपर गर्नुपर्छ । निर्वाचन हुने अवस्था बन्यो भने जनमतबाटै हाम्रो एजेण्डालाई स्थापित गर्नुपर्छ ।

अदालतबाट नभए आन्दोलनबाट संसद पुनःस्थापना
मनोजमणि आचार्य– रोल्पा

आफ्नो दलभित्रको आन्तरिक व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन राजनीतिक र संवैधानिक दुवै दृष्टिले गलत छ । हरेक नेपाली जनताले कम्युनिष्ट पार्टीका कारण मुलुकलाई संकटमा लैजाने काम भएको तथ्य बुझेका छन् ।

यस्तो बेला संविधानविरुद्ध गरिएको षड्यन्त्र सच्याउनुको विकल्प छैन । यो अवस्थामा लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले लोकतन्त्र बचाउनका लागि, जनताले लेखेको संविधान बचाउनका लागि सशक्त आन्दोलनको कार्यक्रम लिएर जनतामा जानुपर्छ ।

अदालतमा मुद्धा हुनु सामान्य कुरा हो । अदालतबाटै संसद पुनःस्थापित हुन्छ भन्ने मेरो विश्वास छ । तर जनताको तागत महत्वपूर्ण हो । अदालतबाट भएन भनेपनि आन्दोलनबाट संसद पुनःस्थापना गराउन सकिन्छ ।

कांग्रेसले आह्वान गर्ने हो भने आजपनि लाखौं जनता सडकमा आउन तयार छन् । लोकतन्त्र र संविधानको चीरहरण कांग्रेसले टुलुटुलु हेरेर बस्न मिल्दैन । सशक्त आन्दोलनको पक्षमा उभिन पार्टी नेतृत्वसंग आग्रह गर्दछु ।

आन्दोलनका विकल्प छैन
नगेन्द्र कुमाल– इलाम

अहिलेको संविधान नेपाली जनताले निरन्तरको संघर्षबाट प्राप्त गरेको उपलब्धी हो । प्रतिनिधिसभा विघटनको कारणले जनताले गरेको संघर्ष र संविधान संकटमा परेको छ । आज कांग्रेसका मात्र नभएर देशभरका युवाहरु केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारको कामबाट निराश भएका छन् ।

यस्तो बेलामा असंवैधानिक कदम सच्याएर मुलुकलाई संविधानको दायराभित्र ल्याउनुपर्छ । त्यसका लागि आन्दोलनको विकल्प छैन । म नेपाली कांग्रेसको नेतृत्वलाई कुनै अलमल बिना कम्युनिष्ट सरकारविरुद्ध संघर्षको थप कार्यक्रम ल्याउन आग्रह गर्दछु ।

संगठित आन्दोलन आवश्यक
गजेन्द्र कार्की–रामेछाप

प्रधाननमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय संवैधानिक सर्वोच्चताको विरुद्धमा छ । यो संसदीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध प्रधानमन्त्रीले गरेको ठाडो हस्तक्षेप हो । यसका विरुद्ध उभिने कुरामा कांग्रेसमा दुईमत छैन । तर पार्टीले संगठित आन्दोलनको कार्यक्रम पनि दिनुपर्छ ।

यससम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतको निर्णय मान्ने पार्टी भएकोले कांग्रेसले सर्वोेच्चको फैसला मान्छ । अदालतको आदेशबाट निर्वाचन मात्रै विकल्प हुने देखियो भने लोकतान्त्रिक पार्टी हुनुको नाताले कांग्रेसले निर्वाचनमा भाग लिनुपर्छ ।

सर्वोच्चमा मुद्धा विचाराधीन रहँदासम्म सरकारको गलत कदमको भण्डाफोर कांग्रेसले गरिरहनुपर्छ । कम्युनिष्ट सरकारले गरेका कमजोरी र गलत प्रवृत्तिविरुद्ध जनतामा जान कांग्रेसका शीर्ष नेताहरु एकताबद्ध हुनसमेत जरुरी छ ।

संसदीय व्यवस्था जोगाऔं
प्रतिमा गौतम– काठमाडौं

संसद विघटन गर्ने निर्णय असंवैधानिक र अलोकतान्त्रिक नै हो । यो प्रतिनिधिसभा मात्र नभई संसदीय व्यवस्था सिध्याउने खेल हो । नेपाली कांग्रेस संसदीय लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएका कारण संसदीय व्यवस्था जोगाउनु हाम्रो मूल धर्म हो ।

संविधान र लोकतन्त्र भएन भने कांग्रेसको औचित्य हुँदैन । नेपालका कम्युनिष्टहरुले यो वा त्यो नाममा लोकतन्त्रविरुद्ध निरन्तर प्रयोग गर्दै आएका छन् । अहिलेपनि संविधान र व्यवस्थाविरुद्ध कम्युनिष्टले नयाँ प्रयोग गरेका हुन् । यसलाई जनताकै बलमा असफल पार्नुपर्छ ।

त्यसका लागि नेपाली कांग्रेसले सशक्त आन्दोलनको घोषणा गर्नुपर्छ । पार्टीले आन्दोलनको घोषणा पनि गरिसकेको छ । यस्तो आन्दोलनलाई जनतासंग जोड्न जरुरी छ । नेपाली कांग्रेसले संसद विघटनको अराजनीतिक कदम सच्याउन पर्याप्त दवाव दिन सक्नुपर्छ ।

सर्वसत्तावादविरुद्ध संघर्ष
कुन्दनराज काफ्ले– दोलखा

हामी नेपाली कांग्रेसका जिम्मेवार कार्यकर्ता हौं । तर हाम्रो स्वार्थ कांग्रेसमात्रै होइन देशको उन्नति हो । कांग्रेसको मात्रै फाइदा हेरेर हामी अगाडि बढ्नुहुँदैन । हिजो हामी राजनीतिक परिवर्तनका लागि लडेर आएका हौं ।

हिजो हामीले लडेर ल्याएको व्यवस्था र संविधान आज कसैको लहडका भरमा संकटमा पर्न दिनुहुन्न । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका कारण कांग्रेसले बनाएको संविधान नै संकटमा पर्ने देखिएको छ । यसर्थ कांग्रेस आन्तरिक रुपमा अल्मलिन आवश्यक छैन ।

कांग्रेसको नेतृत्वमा मात्रै यो देशमा संविधान र लोकतन्त्र सुरक्षित हुन्छ । त्यसैले कांग्रेसले असंवैधानिक कदमविरुद्ध आन्दोलनको उभार ल्याउनुपर्छ । आन्दोलनबाट मात्रै संविधान, लोकतन्त्र र कांग्रेसको भविष्य सुनिश्चित हुन्छ ।

पहिला संविधानविरुद्ध भएको षड्यन्त्र असफल पार्नुपर्छ । संविधानलाई ट्रयाकमा ल्याएपछि मात्रै अरु विषय महत्वपूर्ण हुन्छ । त्यसैले कांग्रेसले एकपटक फेरी सडकबाट ओलीको सर्वसत्तावादविरुद्ध संघर्ष गर्नुपर्छ ।

संवैधानिक र राजनैतिक लडाईं
क्षितिज भण्डारी– कैलाली

नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य मान्यताप्रति सधै जिम्मेवार हुनुपर्छ । आज नेपालका कम्युनिष्टहरुको असफलताका कारण मुलुकलाई समस्यामा पारिदैछ । राजनीतिक स्थिरताको नारा दिएर चुनाव जितेका कम्युनिष्टहरुले जनताको भावना अनुसार काम गर्न सकेनन् ।

यस्तो बेलामा नेपाली कांग्रेसले आफूलाई बलियो विकल्प बनाउनुपर्छ । कांग्रेसले सरकारको असंवैधानिक कदमविरुद्ध आन्दोलन घोषणा गरेको छ । हामी आन्दोलनमै छौं तर अझ सशक्त आन्दोलनको कार्यक्रम आवश्यक छ ।

ओलीको कदम एक प्रकारको प्रतिगमन भएकाले प्रतिगमनविरुद्ध कांग्रेस नेतृत्वले उपयुक्त रणनीति बनाउनुपर्छ । संवैधानिक र राजनीतिक दुवै लडाई लडेर लोकतन्त्र बचाउनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *