निर्वाचन आयोगलाई ओलीको पत्र–नेकपा विभाजन भएको छैन, प्रचण्डको दावी हास्यास्पद (पत्रसहित) – Nepal Press

निर्वाचन आयोगलाई ओलीको पत्र–नेकपा विभाजन भएको छैन, प्रचण्डको दावी हास्यास्पद (पत्रसहित)

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको जिकिर सहित निर्वाचन आयोगलाई जवाफ पठाएका छन् ।

ओलीले पुष्पकमल दाहाल प्रचण्ड दोस्रो वरियताको अध्यक्ष कायमै रहेको भन्दै अर्को पक्षले अनुशासनको कारवाही गरेको औचित्य तथा वैधानिकता नरहेको आयोगलाई बताएका छन् ।

ओलीले पत्रमा लेखेका छन्–नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु । द्धितीय अध्यक्ष पुष्पकमल दाहाल रहनु भएको छ । दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरि दायर गरेको निवेदन औचित्यहीन छन् ।

ओलीले पार्टीको महाधिवेशन २०७८ मंसिरमा तय भइसकेको र प्रथम अध्यक्ष र महासचिवले बोलाएको बैठकले गरेका निर्णयनै वैधानिक हुने जिकिर गर्दै अर्को पक्ष बैठकमा नआएको बताएका छन् ।

ओलीले निर्वाचन आयोगलाई पठाएको पत्रमा भनिएको छ–विधिसम्मत रुपमा गरिएको मनोनयन र विधानको धारण १८ ९ट० १ वमोजिम अध्यक्षको परामर्शमा महासचिव श्री विष्णु प्रसाद पौडेलले विधि सम्म रुपमा बोलाउनु भए बमोजिम बसेको केन्द्रीय कमिटी बैठकलाई कसैले चुनौति दिन सक्दैन ।

ओलीले केन्द्रीय कमिटीमा गरेको मनोनयन वदर गर्न माग गरि अर्का अध्यक्ष दाहालले पुस २१ गते आयोगमा पेश गरेको पत्रमा आफ्नो कुनै दावी नभएको र अध्यक्ष परिवर्तन वाहेक कुनै दावी नभएको भनी आफैंले पहिला गरेको दावी फिर्ता लिएको भन्दै आयोगमा आफूले पठाएको जानकारी अभिलेख गर्नु बाहेक अर्को विकल्प नरहेको जिकिर गरेका छन् ।

ओलीले भनेका छन्–पार्टीमा जहिले पनि प्रथम अध्यक्ष नै कार्यकारी हुने तथ्य निर्विवाद छ । दुवै जनाले अध्यक्षता गर्ने गरि कार्यकारी अध्यक्ष भन्ने पदावली सिर्जना गरियो ।

यस पदावली सम्बन्धी विधानमा कुनै व्यवस्था छैन । केन्द्रीय कमिटी वैठकले कार्यकारी अध्यक्ष भन्ने पदावलीलाई हटाई अध्यक्ष भन्ने विधान सम्मत पद यथावत राखिएको स्पष्ट गर्न चाहान्छु ।

ओलीले आयोगलाई बुझाएको पत्रमा एकता महाधिवेशन नभई एउटा अध्यक्षे अर्को अध्यक्षलाई निश्कासन गर्न नसक्ने जिकिर गरिएको छ । पार्टीको एकता महाधिवेशन नभएसम्म एकीकरण प्रक्रिया पूरा भएको मान्न नमिल्ने ओलीको पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ–यसरी एकीकरण प्रक्रिया नसकिदै अर्थात एकता महाधिवेशनबाट नयाँ नेतृत्वको छनौट नभई कुनै पनि अध्यक्षलाई निश्कासन गर्ने प्रश्न आउदैन । यस्तो हास्यास्पद कुरा आयोगमा अभिलेखिकरण हुन सक्दैन ।

ओलीले महाधिवेशनबाट पराजित व्यक्तिलाई कथित केन्द्रीय कमिटीले अध्यक्ष बनाउन नसक्ने भन्दै माधव नेपाल अध्यक्ष भएको भनिएको निर्णयनै औचित्यहीन रहेको जिकिर गरेका छन् ।

ओलीको पत्र लिएर नेकपा नेता सुवास नेम्वाङ,अधिवक्ता रमेश बडाल,बाबुराम दाहाल लगायत बुधवार आयोग पुगेका थिए । पार्टीको आधिकारिकताको विवादनै नरहेको भन्दै बडालले निर्वाचन आयोगलाई बिगतका र अहिलेका सबै निर्णय तथा कागजपत्र बुझाइएको बडालले बताए ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर