‘मास्टर’को टिकट लिन मल्टिप्लेक्समा दर्शकको भीड, नेपालमा पनि विहिबार रिलिज हुँदै – Nepal Press

‘मास्टर’को टिकट लिन मल्टिप्लेक्समा दर्शकको भीड, नेपालमा पनि विहिबार रिलिज हुँदै

कोरोनाभाइरस महामारीको बीचमा पनि दक्षिण भारतको बहुप्रतीक्षित फिल्म ‘मास्टर’ विहिबारदेखि नेपालमा पनि रिलिज हुँदैछ । भाइरस लकडाउनपछि निकै हाइपका साथ रिलिज हुन लागेको यो फिल्म दर्शकमाझ कति प्रतिक्षित रहेछ भन्ने दृश्य मंगलबार दक्षिण भारतका कतिपय सिनेमा घरमा देखियो ।

थालापाथी नामले चिनिने साउथका सुपरस्टार विजय अभिनित यो फिल्म हेर्नको लागि उनका फ्यान सामाजिक दूरीको साथ पालना नगरि टिकट लिन घुँइचो गरिरहेका थिए । भारतले कोभिड प्रोटोकल पालना गर्दै फिल्म गतिविधि खुलाएसँगै त्यहाँको फिल्म हलमा यो भीड देखिएको हो । मास्टरको यो ठूलो रिलिजले कोरोनाले थलिएको भारतीय फिल्म बजार लयमा फर्कने अनुमान गरिएको छ ।

यो तामिल एक्सन ड्रामा हेर्नको लागि टिकटको झ्यालमा देखिएको दर्शकीय घुइँचाको तस्विर ट्वीटरमा भाइरल भएको छ । बलिउड फिल्म ट्रेड एनालिस्ट कोमल नाहटाले मिराज मल्टिप्लेक्समा यस्तो दृश्य देखिएको र भीड नियन्त्रण गर्न प्रहरी बोलाउनुपरेको ट्वीट गरेका छन् । केही ट्वीटर प्रयोगकर्ताले सयप्रतिशत अकुपेन्सी हुने भन्दै लेखेका छन् ।

मेगा फ्यान फलोइङको कारण विजयको यो फिल्म छायांकन अगाडिदेखि नै हाइपमा थियो । लोकेश कांगाराज निर्देशित यो फिल्ममा माल्भिका मोहन, अर्जुन दास, एन्ड्री जेरेमी र सान्त्वना भाग्यराजले अभिनय गरेका छन् । उत्तर भारतसहित नेपालमा भने हिन्दीमा स्वरांकन गरिएको फिल्म रिलिज हुँदैछ । ब्यांकटेस इन्टरटेनमेन्टले फिल्मलाई नेपालमा रिलिज गर्दैछ ।

नेपालमा पनि विजय र दक्षिण भारतीय फिल्मको ठूलो फ्यानको हिस्सा भएकाले यो फिल्मले राम्रै दर्शकलाई तान्न सक्ने अनुमान गरिएको छ । कोरोनाले थलिएको नेपाली फिल्मलाई उकास्न यो फिल्म महत्वपूर्ण हुनसक्ने आशा वितरक मनोज राठीले लिएका छन् ।

टाइम्स अफ इन्डियाले फिल्मलाई साढे तीन रेटिङ दिएको छ । एउटा कलेजको प्राध्यापक कक्षामा आफ्ना गुन्डाहरुसँग गएर विद्यार्थीलाई पढाउँछ । उसको उद्देश्य आफ्नो साम्राज्य खडा गर्नु हो । समीक्षामा विजयको अभिनय र फिल्मको निर्देशनलाई प्रशंसा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *