मन्देकाजी र गौरिका सर्वोत्कृष्ट, अरुणा पपुलर – Nepal Press
पल्सर स्पोर्ट्स अवार्ड

मन्देकाजी र गौरिका सर्वोत्कृष्ट, अरुणा पपुलर

काठमाडौं । कराँतेका मन्देकाजी श्रेष्ठ र पौडीकी गौरिका सिंह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । ललितपुरको सातदोबाटोस्थित कराँते हलमा मंगलबार यसवर्षको अवार्ड प्रदान गरियो । गौरिकाले काठमाडौंमा सम्पन्न १३ औं सागमा ४ स्वर्णसहित ९ पदक जितेकी थिइन् ।

पुरुषतर्फ वर्ष खेलाडी बनेका मन्देकाजीले १३ औं सागमा दुई स्वर्ण जितेका थिए । गौरिकाले कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायलथनकी सोनी गुरुङलाई पछि पारिन् । मन्देकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपिचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई उछिने ।

राष्ट्रिय भलिबल टीमकी कप्तान अरुणा शाहीले भने पिपुल्स च्वाइस अवार्डमा बाजी मारिन् । नागरिकको भोट तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतबाट अरुणाले अवार्ड जितिन् ।

यस विधामा अरुणाले पौडीकी गौरिका सिंह, कराँतेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारिन् । २७ वर्षिया अरुणाले ३७.५२५ मत प्राप्त गरिन् ।

गल्फर सुवास तामाङले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । सुवासले १३ औं दक्षिण एसियाली खेलकुद सागमा दुई स्वर्ण जितेका थिए । तेक्वान्दोका प्रशिक्षक नवीनकुमार श्रेष्ठले उत्कृष्ट वर्ष प्रशिक्षकको अवार्ड जिते । उनको प्रशिक्षणमा तेक्वान्दोबाट साग खेलेका २९ खेलाडीले पदक जितेका थिए ।

तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत स्पेसल अवार्ड पाए । आयशा र सन्तोषीले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तराष्ट्रिय अवार्ड जितेका थिए।

नेपाली राष्ट्रिय महिला भलिबल टीमले टीम अफ दी इयर अवार्ड प्राप्त गर्न सफल रह्यो । महिला भलिबल टीमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड जितेको थियो ।

पूर्व टेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाहले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरे । सन् असीको दशकमा यी दुई पाका खेलाडीले सर्वकालिन गौरवको उपलब्धी हात पारे । सन् १९९१ को पाँचौ दक्षिण एसियाली खेलकुदमा प्राप्त दुई स्वर्ण यी दुईको नाममा रह्यो ।

पारा खेलाडी डिगम सिंह चेम्जोङले पारा एथलिट सम्मान प्राप्त गरेका छन् । मलेसियाका खेल पत्रकार अहमद खवारी इशाले एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड प्राप्त गरे ।

वर्ष पुरुष, महिला प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गरेका छन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *