देउवाको चेतावनी- सडक आन्दोलनबाट अदालतलाई दबाब दिन पाइँदैन – Nepal Press

देउवाको चेतावनी- सडक आन्दोलनबाट अदालतलाई दबाब दिन पाइँदैन

चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा आन्दोलन गरेर, धम्काएर आफ्नो पक्षमा फैसला गर्न लगाउने प्रवृति गलत रहेको बताएका छन् । देउवाले अदालतलाई यसो गर भनेर कसैलै सडकबाट दबाब दिन नहुने बताए ।

कांग्रेसको केन्द्रीय खेलकुद विभागद्वारा सिन्धुपाल्चोकमा मंगलबार आयोजित प्रथम कोमलमाया–खडक बस्नेत स्मृति फुटबल प्रतियोगीता समापन समारोहमा बोल्दै सभापति देउवा आक्रोशित बनेका हुन् ।

कार्यक्रममा देउवाले भने–अदालतमा विचाराधीन मुद्दा लाई प्रभावित हुने गरेर सडक मा आन्दोलन गर्ने धम्काउने हो भने त जसले बढी सडकमा मान्छे जम्मा गर्छ उसकै पक्षमा निर्णय गरे भै गो नि त ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ससंद विघटन असंबैधानिक भएपनि अदालतमा बिचाराधीन मुद्दा भएकोले आफूहरु अदालतबाट आउने फैसला स्वीकार गर्न तयार रहेको बताए । देउवाले भने–अदालतले संसद पुनस्थापना गरेछ भने हामी संसदमा सशक्त रुपमा प्रस्तुत हुन्छौ, चुनावमा जाने निर्णय गरेछ भने चुनावमा भाग लिन्छौ ।

नेपाली कांग्रेस सधै स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको बताउँदै सभापति देउवाले मुद्दामा एउटा पक्षको जित र अर्कौ पक्षको हार हुन्छ तर आफ्नै पक्षमा न्याय दिन पर्छ भनेर आफूहरु सडक सर्घष नगर्ने देउवाले प्रष्ट पारे ।

नेपाली कांग्रेसले अहिले देशभर कार्यक्रम गरिरहेको बताउँदै उनले कार्यकर्ताहरुलाई चुनावी तयारीमा लाग्न समेत निर्देशन दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेसले विगतमा धेरै फरक बिचारका पार्टीहरुलाई समेत मिलाएर संविधान घोषणा गरेको स्मरण गर्दे बस्नेतले अहिले एउटै पार्टी हुदा पनि मिलाउन नसकेर संसद विघटन गर्नु दुःखद भएको बताए ।

बस्नेतका स्वर्गीय आमा कोमलमाया बस्नेत र बुबा खड्गबहादुर बस्नेतको स्मृतिमा बाह्रविसे नगरपालिकाको पलाँतीस्थित अंगेरीपाखा खेल मैदानमा एक साता देखि सिन्धुपाल्चोकको गाउँपालिका/नगरपालिका स्तरीय फुटबल प्रतियोगीता सञ्चालन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर