बुटवलवासीको २५ वर्ष पुरानो सपना साकार हुँदै, खानेपानीको हाहाकार छिटै अन्त्य हुने – Nepal Press
विकास/निर्माण

बुटवलवासीको २५ वर्ष पुरानो सपना साकार हुँदै, खानेपानीको हाहाकार छिटै अन्त्य हुने

अर्थमन्त्री पौडेलको विशेष चासो, २५ वर्ष पुरानो योजना पूरा गर्ने संकल्प

रुपन्देही । बुटवल उपमहानगरपालिकामा धेरै पहिलेदेखि नै खानेपानीको समस्या छ । तीव्र जनघनत्व बढ्दै गएको सहरमा खानेपानी व्यवस्थापन गर्ने चुनावी नारा धेरै पटक बनेको छ ।

अहिले बुटवलमा तीन करोड ४० लाख लिटर खानेपानीको माग छ । तर आपूर्ति भने दुईदेखि साढे दुई करोड लिटरसम्म हुने गरेको खानेपानी संस्थानको भनाइ छ । सुख्खायाममा त मागभन्दा झण्डै आधा कम मात्रै खानेपानी आपूर्ती  भइरहेको छ ।

बुटवलले झेलिरहेको खानेपानी अभावको समस्यालाई भने अब दीर्घकालीन रुपमा समाधान गर्ने प्रयास सुरु भएको छ । बुटवल उपमहानगरपालिकाले यहाँको खानेपानी संस्थानसंगको सहकार्यमा खानेपानीको गुरुयोजना नै बनाइरहेको छ ।

पूर्वाधार विकास र अन्यत्रबाट बसाइँ सरी आउने प्रमुख थलोका रुपमा रहेको बुटवललाई अबको पाँच दशकसम्मको जनसंख्यालाई सोचेर खानेपानीको गुरुयोजना बनाउन लागिएको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

गुरुयोजनालाई बुटवल खानेपानी आयोजनामार्फत् कार्यान्वयन गर्ने गरी तीनै तहका सरकारको बीचमा सहकार्य भइरहेको उनको भनाइ छ ।

अर्थमन्त्री पौडेलको विशेष चासो

बुटवल संघीय सरकारका अर्थमन्त्री तथा सत्तारुढ नेकपाका महासचिव विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्र हो । अर्थमन्त्री पौडेलको संकल्पअनुरुप नै तीनै तहले बुटवलको खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीको भनाइ छ ।

केही दिन पहिले बुटवल आएका अर्थमन्त्री पौडेलले खानेपानी संस्थानका प्रबन्धक, यहाँका जनप्रतिनिधिलाई राखेर बुटवल र आसपासको क्षेत्रमा खानेपानीको दीर्घकालीन समाधान गर्न प्रतिवद्धता गराएका थिए ।

बुटवलमा ल्याउने खानेपानीका लागि संघीय सरकारका अर्थमन्त्री तथा नेकपा महासचिव पौडेलले महत्वपूर्ण आयोजनाको शिलान्यास गरिसकेकाले यहाँका स्थानीयमा केही आशा पलाएको छ ।

झुम्सा खोलामा यसअघि निर्माण भएको बाँध भत्किएपछि अहिले अर्को व्यवस्थित ड्याम र इन्ट्याक्ट निर्माण सुरु भएको छ । यो बुटवलको खानेपानी गुरुयोजनाकै एउटा नयाँ कामको सुरुवाती हो ।

नेपाल खानेपानी संस्था बुटवलका प्रमुख मोहनदत्त भट्टका अनुसार बुटवलको खानेपानीको अभावलाई दीर्घकालीन रुपमा समाधान गर्ने गरी योजना बनिरहेको छ ।

उनले झुम्सा खोलाबाट दुई वर्षभित्र मेनलाइनको पाइप बिच्छाउने र मुहान ड्याम निर्माण सम्पन्न गरेर ट्याङ्की निर्माण गरिने बताए । त्यसपछि सर्भिस लाइनका पाइप बिछ्याउने र विस्तारै बुटवलका सबै वडामा पुराइने छ । त्यहाँदेखि झुम्सा हुँदै बुटवलको रामफेदीसम्म यसअघि बिछ्याइएका पाइपलाई पनि मर्मत गरिने भएको छ ।

यसअघि बिछ्याइएका १० इन्च पाइपसँगै अब २० इन्चका पाइप थपिने छ भने झुम्सादेखि बाँध स्थलसम्म यसअघिका २० इन्चका पाइपसँगै अब थप २० इन्चका पाइप बिछ्याइने छ ।

बाँधसँगै मुख्य ‘ट्रान्समिसन पाइप’ लाइनको पनि निर्माण सम्झौता भएर काम गरिने खानेपानी संस्थानका प्रमुख भट्ट बताउँछन् । यो कामलाई पनि २०७९ वैशाखभित्रै सक्ने लक्ष्य लिइएको छ ।

२५ वर्ष पुरानो योजना पूरा गर्ने संकल्प

२०५२ मा बुटवलमा खानेपानी ल्याउने झुम्सा खोलाको मुहाननिरै ‘इन्टेक’ निर्माणदेखि पाइप बिच्छाउने काम सुरु भएको थियो । तर, सरकार परिवर्तन र विभिन्न उतारचढावसँगै प्रभावकारी रूपमा काम हुन सकेको थिएन ।

त्यसैबेला सोही पानीको उपयोग गर्ने गरी गौतमबुद्ध लघु ‘हाइड्रो प्रोजेक्ट’ योजना आएपछि खानेपानी योजना छायाँमा पर्यो । हाइड्रो प्रोजेक्टले पानी उपयोग गर्ने भएपछि उक्त खोलाको पानी बुटवल ल्याउन योजना सेलाउँदै गयो । न त पानी आयो न उक्त प्रोजेक्ट बन्यो । यहीँ घटनाबाट पाठ सिकेरै बुटवलका लागि खानेपानीको गुरुयोजना नै बनाउन जुटिएको प्रमुख सुवेदीले बताए ।

यो योजनाका लागि अर्थमन्त्री पौडेलले रकमको व्यवस्थापन आफूले गर्ने र काम पूरा गर्ने जिम्मेवारी यहाँको स्थानीय सरकारले गर्नुपर्ने निर्देशन दिएका थिए ।

मुहानको संरक्षण

बुटवलको हरियाली प्रतिशत मुलुकका कुनै पनि नगरपालिकाको भन्दा धेरै छ । तर, विडम्बना यहाँको पानीको प्राकृत्तिक स्रोत भने एकदमै न्यून छ । हरियालीमा झण्डै ५५ प्रतिशत रहेको बुटवलमा पानीको स्रोत भने लगभग शून्यको अवस्थामा छ ।

यसलाई सुधार गर्न बुटवल उपमहानगरले मुलुकमै पहिलो पटक एक वन बहुपोखरी कार्यक्रम ल्यायो । चुरेमा रहेका वनहरुमा बुटवलले पोखरी निर्माण गर्यो ।

जसलाई पछि लुम्बिनी प्रदेश सरकारले पनि कार्यक्रममा समावेश गरेर प्रदेशभरी विस्तार गरेको छ । वनमा पोखरी निर्माण भएपछि त्यसले पानीको रिचार्ज गर्ने र प्राकृत्तिक मुललाई सुख्न नदिने हुँदा यो वातावरणीय हिसाबले ज्यादै नै उपयोगी हुने विज्ञहरुको भनाइ छ ।

बुटवललगायका क्षेत्रको वातावरण, पानीका प्राकृत्तिक स्रोतको गहिरो अध्ययन गर्दै आएका इन्जिनियर डाक्टर खेटराज दाहालले बुटवलबाट सुरु भएको एक वन बहुपोखरी कार्यक्रम वातावरणीय हिसाबले मुलुककै नमुना रहेको बताए । बुटवलमा रहेका झण्डै २१ वटा सामुदायिक वनमा पोखरी निर्माण गरिने छ ।

बुटवलसहित तराईका अधिकांश क्षेत्रको जमिन मुनीको पानी भासिने, मासिने, नासिने क्रम पहिलेदेखि नै चल्दै आयो त्यसैले पहिलो प्राथमिकता भनेकै पानीका प्राकृत्तिक स्रोतको संरक्षण गर्नुलाई लिएर सोही अनुरुपका काम अगाडि बढाइएको उपमहानगरको भनाइ छ ।

अहिले बुटवलका लागि पानीका स्रोत भनेको पाल्पाका सिस्नेखोला र झुम्साखोला हुन् । प्राकृत्तिक हिसाबले माथिल्लो तटको प्राकृत्तिक सम्पदामा तल्लो तटसम्मैका उपभोक्ताको हक हुन्छ । त्यहीँको खानेपानीलाई व्यवस्थित पाइपलाइनमार्फत बुटवलमा ल्याउने र बुटवलमा ट्रिटमेन्ट (शुद्धीकरण) गरेर वितरण गरिने छ ।

बुटवलका १९ वटै वडालाई एउटै सञ्जालमा जोड्ने र समुदायस्तरबाट सञ्चालित आयोजनालाई अझ संरक्षण गर्दै व्यवस्थित बनाउने बुटवल उपमहानगरको योजना छ ।

तयार भइरहेको गुरुयोजनामा १९ वडाका सबै बस्ती र आउँदो ५० वर्षपछिको जनशंख्याको चाँपको अनुमान गर्दै विज्ञहरुले काम गरिरहेको उपमहानगरका प्रमुख सुवेदीले बताए ।

मागभन्दा एक करोड लिटर कम आपूर्ति

अहिले बुटवलमा तीन करोड ४० लाख लिटर खानेपानीको माग रहेको छ । तर, आपूर्ति भने दुईदेखि ढाइ करोड लिटरसम्म हुने गरेको छ ।
बुटवलमा अहिले तिनाउ सम्पेवलबाट दैनिक १ करोड लिटर चिडियाखोला डिपट्युबबेलबाट १ करोड ८० लाख लिटर, २० ठाउँबाट भूमिगत १ करोड ८० लाख लिटर गरी दैनिक २ करोड ८० लाख लिटर पानी वितरण हुँदै आएको छ ।

हाल पनि दैनिक करिब ६० लाख लिटर पानी अपूग छ । तिनाउबाट दैनिक ७० लाख लिटर र ११ वटा ट्युबबेल (बोरिङ्ग) बाट ८० लाख लिटर गरी खानेपानी आपूर्ति गरिएको संस्थानले जनाएको छ ।

बुटवलको जनसंख्या दुई लाखभन्दा बढी छ । बसाइसराइ र आर्थिक केन्द्र बुटवलमा दिन प्रतिदिन मानिसहरु थपिने क्रम जारी छ ।

बुटवलमा जनसंख्या वृद्धिसँगै वर्सेनि ६ सयदेखि ७ सयसम्म नयाँ धारा वितरण हुने गरेका छन् । बुटवलमा अहिले खानेपानी २० वटा ट्युबेलहरु सञ्चालनमा ल्याइएका छन् ।

ट्युबेलबाट करिब एक करोड ८० लाख लिटर पानी उत्पादन हुने हुँदै आएको छ । हाल बुटवलमा नगरमा दैनिक पानीको माग तीन करोड ४० लाम लिटर छ । झुम्साखोला पानी आएपछि बुटवलमा आगामी २० वर्षसम्म पानीको माग पूरा गर्नेछ ।

यसका साथै अरु स्रोतको खोजी र संरक्षण गरेर आगामी ५० वर्षपछिसम्मको जनशंख्यालाई मध्यनजर गर्दै खानेपानीको गुरुयोजना बनाउने काम भइरहेको बुटवलका शहरी विकास महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठको भनाइ छ ।

घना बस्तीमा नयाँ आयोजना

बुटवलको सबैभन्दा बढी खानेपानीको समस्या वडा नम्बर ७ र ८ मा छ । यी दुईवटा वडाको समस्यालाई पहिले समाधान गर्ने लक्ष्य अनुरुप अहिले नयाँ काम सुरु भएको छ । धागो कारखाना अगाडिपट्टीको धर्मकाँटा नजिकै गाडिएको बोरिङदेखि दिपनगरसम्म डीआइ पाइप लाइन मार्फत खानेपानी ल्याइने छ ।

नेपाल खानेपानी संस्थान र बुटवल उपमहानगरको सहकार्यमा दुई करोड २१ लाख ५२ हजार ३७ रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाको हालै एक समारोहका बीच बुवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले शिलान्यास गरेका छन् ।

दुई वडालाई लक्षित गरी सञ्चालन हुन लागेको यो आयोजना आगामी वैशाख दोस्रो सातासम्मका सक्ने लक्ष्य रहेको खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्टले बताए । श्रीजीएमआरएम कन्स्ट्रक्सन बुटवल–७, रुपन्देहीले उक्त आयोजनाको काम गर्ने जिम्मेवारी पाएको छ ।

आयोजना शिलान्यास समारोहमा बुटवल उपमहानगरका उपप्रमुख गुमादेवी आचार्य, नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरी, वडा नं. ७ का अध्यक्ष कमलप्रताप थापा, वडा नं.८ का अध्यक्ष भीमबहादुर श्रेष्ठ, खानेपानी संस्थानका मोहन भट्टराईलगायतले आयोजनालाई तोकिएको समयमै सक्न आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर