भारत र चीनबीच ‘मध्यस्थता’ गर्न नेपाल तयार, चुनावपछि आफ्नै सरकार बन्ने ओलीको दाबी – Nepal Press
भारतीय मिडियासँग प्रधानमन्त्री

भारत र चीनबीच ‘मध्यस्थता’ गर्न नेपाल तयार, चुनावपछि आफ्नै सरकार बन्ने ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे भारत र चीनबीच मध्यस्थता गर्न नेपाल तयार रहेको बताएका छन् । भारतीय टेलिभिजन च्यानल जी न्यूजलाई अन्तर्वार्ता दिँदै उनले चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपालले कुटनीतिक ‘मध्यस्थता’को भूमिका खेल्न सक्ने बताए ।

‘उहाँहरु दुबैजना मेरो मित्र पनि हुनुहुन्छ । हामी तीनैजनाले लगभग समान उमेरमा राजनीति पनि सुरु गरेका हौं । हामी एकअर्कालाई बुझ्न सक्छौं’ ओलीले भने, ‘नेपालले तटस्थताको राजनीति गर्छ । हामी एकको विरुद्ध अर्काको कार्ड खेल्दैनौं । हामी समदुरीको सम्बन्ध राख्न चाहन्छौं । कार्ड खेल्दा भलाइ हुँदैन ।’

‘यदि भारत इमान्दार छ भने आफूलाई बोस ठान्दैन । मोदीजी म भन्दा केही वर्षले जेठो हुनुहुन्छ व्यक्तिगतरुपमा तर, सरकार प्रमुखको रुपमा हाम्रो हैसियत एउटै हुन्छ ।’

नेपालले एउटा छिमेकी विरुद्ध अर्काे छिमेकीलाई आफ्नो जमिन र आकाश प्रयोग गर्न नदिने समेत ओलीले बताए । नेपाल चीनप्रति नरम भएको भन्ने भारतीय आलोचनाको ओलीले खण्डन गरे । ‘नेपाल चीनप्रति सफ्ट छैन । हामी छिमेकीसँग समस्यारहित सम्बन्ध चाहन्छौं । हात्ती लडेपनि मैदानलाई नोक्सान हुने हो । हात्ती मिलेपनि नोक्सान मैदानलाई नै हुने हो ।’

नेपाल र भारतबीच दाई र भाइको सम्बन्ध नरहेको बताउँदै ओलीले बदलिएको समयानुसार पारस्परिक सम्बन्ध स्थापना गर्नु जरुरी रहेको बताए । ‘यो पारस्परिक सम्मानको युग हो । यो उपनिवेशको युग होइन । भूगोल र आकारमा देशको साइज ठूलो सानो होला तर, राष्ट्रको रुपमा भारत र नेपाल समान छन्’ ओलीले भने, ‘यदि भारत इमान्दार छ भने आफूलाई बोस ठान्दैन । मोदीजी म भन्दा केही वर्षले जेठो हुनुहुन्छ व्यक्तिगतरुपमा तर, सरकार प्रमुखको रुपमा हाम्रो हैसियत एउटै हुन्छ ।’

के नेपाल भारत र चीनबीच फसेको हो भन्ने जी न्यूज सम्पादक सुधीर चौधरीको अर्को प्रश्नमा ओलीले भने –‘दुबै हाम्रा असल छिमेकी हुन् । छिमेकीलाई चाहेर पनि बदल्न सकिँदैन । दुबै आकार र विकासमा ठूला छन् । यो हाम्रा लागि खुशिको कुरा हो । हामी दुबै मुलुकबीच समदुरीको सम्बन्ध राख्न चाहन्छौं । हामी दुबै मुलुकबीचको गलत बुझाइलाई हटाउन तयार छौं ।’ पछिल्लो समय कस्मिरको गलवान घाटीमा भारत र चीन आमनेसामने भएपछि यी दुई ठूला मुलुकबीच सुखद सम्बन्ध छैन ।

आगामी युग एसियाको भएको भन्दै ओलीले विगतमा भारत र चीनविरुद्ध समेत विज्ञान एवं प्रविधिलाई प्रयोग गरिएको बताए । ‘हिमालदेखि हिन्द महासागरसम्म भारत थियो, के पुगेको थिएन र भारत गरिब रह्यो ? चोमोलोङ्मादेखि मंगोलियासम्म चीन फैलिएको थियो । के पुगेको थिएन र चीन गरिब रहयो ? नेपाल कहिल्यै उपनिवेश भएन तरपनि गरिब भने रह्यो । किनभने विज्ञान र प्रविधि एसियाविरुद्ध प्रयोग गरियो’ ओलीले भने, ‘एसिया, त्यसमा पनि नेपाल ज्ञान, तपस्या र आविष्कारको भूमि हो । न्यूटनले गुरुत्वाकर्षण पत्ता लगाउनुअघि भाष्कराचार्यले ग्राभिटी पत्ता लगाए । गायत्री मंत्र व्यासले कोसी किनारमै बसेर लेखेका हुन् ।’

के बैशाखमा हुने चुनावपछि पनि तपाइँ प्रधानमन्त्री रहिरहनुहुन्छ भन्ने जिज्ञासमा ओलीले चुनाबपछि पनि आफ्नो दलले बहुमत ल्याउने दाबी गर्दै आफ्नै पार्टीको सरकार बन्ने दाबी गरे ।

उनले अबको विकास आफैले गर्नेुपर्ने बताउँदै कसैमा निर्भर हुन नहुने समेत बताए । अब उपनिवेशवादको जमाना नरहेको टिप्पणी गर्दै ओलीले उपनिवेशका अवशेषलाई मन-मस्तिष्कबाट हटाउनुपर्ने धारणा राखे ।

नेपालले लिम्पियाधुरा र कालापानीलाई समेटेर प्रकाशन गरेको चुच्चे नक्साको ऐतिहासिकता, तथ्य र भावनालाई भारतले सम्मान गर्नुपर्ने प्रधानमन्त्रीले ओलीले बताए । आफ्नो सार्वभौम भूगोललाई लिएर नेपालले चीन र भारत दुबैसँग सम्झौता नगर्ने समेत ओलीले बताए । भारतले भूमि कब्जा गर्दा बोल्ने तर, चीनले भूमि कब्जा गर्दा चुप लाग्ने भन्ने कतिपय आलोचनको खण्डन गर्दै ओलीले दुबै देशसँग समान व्यवहार लागु हुने बताए । उनले पटक–पटक दुबै मुलुकबीच पारस्परिक एवं सौहाद्र्ध सम्बन्धमा जोड दिए ।

के बैशाखमा हुने चुनावपछि पनि तपाइँ प्रधानमन्त्री रहिरहनुहुन्छ भन्ने जिज्ञासमा ओलीले चुनाबपछि पनि आफ्नो दलले बहुमत ल्याउने दाबी गर्दै आफ्नै पार्टीको सरकार बन्ने दाबी गरे । ‘चुनावमा केही कमजोर भएपनि ठूलो दल हाम्रै हुन्छ । चुनावपछि पनि सरकारको नेतृत्व हामीले नै गर्नुपर्ने अवस्था हुन्छ’ ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *