आक्रामक ओली– कहाँबाट आइरहेको छ यो ‘कन्फिडेन्स’ ? – Nepal Press

आक्रामक ओली– कहाँबाट आइरहेको छ यो ‘कन्फिडेन्स’ ?

आलोचक भन्छन्– आत्मविश्वास होइन, अहंकार प्रकट भएको हो

काठमाडौं । ‘कतिपयले भनेका केपी ओलीको लोकप्रियताको ग्राफ जिरोमा झर्यो । जिरोमा झरेछ कि माइनसमा झरेछ कि प्लसमा गएछ, निर्वाचनमा हेरौं न ।’ यो प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रियसभामा चुनावका लागि विपक्षीलाई दिएको हाँक हो ।

ओली त्यतिमै राकिएनन् । रेस्लिङ खेलसँग चुनावलाई दाँज्दै उनले अगाडि भने– अब खेलको मैदान घोषणा गरिएको छ, रिङ तयार भएको छ । रिङमा आउनुहोस्, अनि जितेर लाग्नुहोस् न रेस्लिङ बेल्ट । खुट्टा किन कामेको ? निर्वाचन भन्ने बित्तिकै सातो किन गएको ?’

प्रतिनिधिसभा विघटन गर्ने उनको कदमको पार्टी बाहेक अरुले खुलेर समर्थन गर्न सकेका छैनन् । धेरैजसो संविधानविद्, बुद्धिजिवी र संचारमाध्यम ओली कदमको विरुद्धमा बोलिरहेका छन् ।

आफ्नो कार्यकालमा प्रतिष्ठा कमाएका चार पूर्व प्रधानन्यायाधीशले समेत बोलिसकेपछि त देश नै ओलीविरुद्ध हो कि जस्तो देखिन्छ । तै पनि ओली आत्मविश्वासका साथ भनिरहेका छन्– मसँग चुनाव लड्ने हिम्मत देखाऊ ।

राष्ट्रियसभामा ओलीले यस्तो बोल्दै गर्दा उनमा कतै पनि लघुताभास पाइदैनथ्यो । मुहारमा कतै पनि निराशाको रेखा भेटाउन मुस्किल थियो । सांसदहरुले आफूविरुद्ध प्रहार गरेका कडा प्रश्नको पनि उनी मन्द मुस्कानसहित जवाफ दिइरहेका थिए ।

हुन त ओली दृढ आत्मविश्वासका लागि परिचित नै हुन् । मृर्गौैला पुनः प्रत्यारोपण गरेको केही दिनमै चिकित्सको सुझाविपरीत ठमठमति हिंडेर सक्रिय भएपछि धेरै त उनको आत्मविश्वास देखेर हायलकायल नै थिए । तर, राजनीतिमा केवल आत्मविश्वासले मात्रै काम चल्दैन ।

ओलीले भने त्यो आत्मविश्वास लगातार प्रकट गरिरहेका छन् । २४ पुसमा धनगढीमा आयोजित सभामा पनि ओलीले आफ्ना पूर्वसहकर्मी प्रचण्ड र माधवकुमार नेपाललाई चुनावमा १० सिट जितेर देखाउन चुनौति दिएका थिए ।

सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित नेकपाको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै ओलीले भनेका थिए– तपाईहरु चुनाव लड्न किन डराउदै हुनुहुन्छ मलाई थाहा छ । दुई अंकमा जितेर देखाउनुस । देशभरमा १० सिट ल्याएइर देखाउनुस । म चुनौति दिन्छु ।

ओलीले यस्तै आत्मविश्वास १५ पुसमा राजधानीमा आयोजित कार्यक्रममा पनि प्रकट गरेका थिए । आफ्ना पूर्वसहकर्मीहरुलाई कम आँक्दै ओलीले एक सिट जितेर देखाउन चुनौति दिएका थिए ।

पछिल्लो समय ओली आक्रामक र प्रचण्ड–माधव पक्ष रक्षात्मक जस्तो देखिएका छन् ।

कांग्रेस सभापति शेरवहादुर देउवाले समेत ओली चुनाव प्रचारमा लागेर मान्छे जम्मा गर्न थालिसकेको भन्दै कांग्रेस चुप लाग्न नहुने बताए ।

सामान्यतः सत्तामा बस्ने मान्छे रक्षात्मक हुन्छ । त्यसमा पनि प्रतिनिधिसभा भंग भएपछि केपी ओली रक्षात्मक अवस्थामा देखिनुपर्ने हो । तर त्यसलगत्तै भएको पार्टी विभाजनपछि ओली आक्रामक अभियानका साथ बालुवाटारबाट निस्किएका छन् ।

पार्टीको केन्द्रीय कमिटी, संसदीय दलदेखि साना ठूला सबै बैठक र सरकारसमेत बालुवाटारबाट सन्चालन गर्दै आएका ओलीले नेकपा विभाजन लगत्तै कार्की पार्टी प्यालेस पुगेर प्रचण्ड–माधव नेपाललाई प्रहार गरे ।

त्यसपछि लगातार भेला र बैठकहरुका लागि निस्करहेका उनी धनगढीमा पुग्दा ओली पक्षले शक्ति प्रदर्शन नै गर्यो । सुदूरपश्चिम प्रदेशस्तरीय सभामा दशौं हजार मान्छेका बीच ओलीले चुनावी कमाण्डरको हिसाबले भाषण गरेका थिए ।

त्यही भाषणको प्रभाव देउवालाई परेछ । उनले पर्सिपल्ट ओली चुनाव प्रचारमा हिँडिसकेकाले कांग्रेसलाई चुनौति थपिएको बताएका हुन् । आन्दोलनमा रहेका विपक्षीहरुलाई रक्षात्मक बनाएर आफैं आक्रामक बन्ने ओलीमा के त्यस्तो कन्फिडेन्स छ ?

के हो आत्मविश्वासको कारण ?

ओलीका पछिल्ला केही सम्बोधनहरु विश्लेषण गरेपछि उनकै पक्षका केन्द्रीय सदस्य एवम् राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई सोधियो– प्रधानमन्त्री ओलीमा यो आत्मविश्वास कहाँबाट आइरहेको छ ? यसको स्रोत के हो ?

यो प्रश्नको जवाफ भट्टराइले तीन बुँदामा दिए । उनको भनाइ थियो,

पहिलो: संवैधानिक हिसाबले पनि उहाँलाई यो कदम औचित्यपूर्ण लागेको छ । र, सर्वोच्च अदालतबाट पनि यसको अनुमोदन हुन्छ भन्ने विश्वास छ ।

दोस्रो: राजनीतिक अवस्थाका हिसाबले त यो झनै बढी आवश्यक थियो भन्ने उहाँको बुझाइ छ । जनताले उहाँको कदमको एक हिसाबले अनुमोदन गरेका छन् ।

पार्टी भित्रका केही नेताहरु र केही कार्यकर्ताहरु बाहेक जहाँ उहाँ जानुहुन्छ, त्यहाँ उहाँप्रति अपार सर्मथन देखिरहेको छ । शुरुको दिनमा एक खालको अवस्था थियो । तर, अहिले अगाडि बढ्दै जाँदा उहाँकै पक्षमा जनतमत देखा परिरहेको छ ।

पार्टी कमिटीहरुमा पनि शुरुका दिनहरुमा जुन खालको एउटा भ्रमपूर्ण स्थिति थियो, त्यो त अहिले समाधान हुँदै गएको छ । पार्टी भित्र पनि उहाँकै पक्षमा ध्रुवीकरण तीव्र हुँदै गइरहेको छ ।

तेस्रो: प्रतिपक्षी कांग्रेसले विरोधको नाममा वडा स्तरमा कार्यक्रम शुरु गरेको भए पनि चुनाव प्रचार सुरु ग¥यो । शेरबहादुर देउवाले भनिसक्नु भयो– प्रधानमन्त्री चुनावको तयारीमा लागि सके हामीले के गर्ने? पार्टीको औपचारिक धारणा अर्को भए पनि व्यवहारिक रुपमा त उहाँहरु चुनावमा गइसक्नु भयो ।

जनता समाजवादी पार्टीको हेर्ने हो भने पनि उहाँहरु पनि क्षेत्र केन्द्रित कार्यक्रममा लागि सक्नुभयो । देश चुनावतिर गइसक्यो । त्यसले पनि उहाँलाई ऊर्जा दिइरहेको छ । जनताको बीचमा गइन्छ, अहिलेसम्म गरेका जेजति कामहरु छन्, ती जनताको बीचमा लैजाँदा फेरि समर्थन पाउन सकिन्छ भन्ने विश्वास प्रधानमन्त्रीलाई छ ।

विश्लेषक भन्छन्– आत्मविश्वास होइन्, अहंकार

तर, प्रधानमन्त्रीको कदमको विरोध गरिरहेकाहरु भने यसलाई ओलीको आत्मविश्वास भन्दा पनि अहंकारका रुपमा अथ्र्याउँछन् । वामपन्थी राजनीतिक विश्लेषक श्याम श्रेष्ठ ओलीललाई हिटलर जस्तो तानाशाहसँग तुलना गर्दै बलियो आत्मविश्वास प्रकट भएको बताउँछन् ।

उनी तनाशाहमा हुने गुण ओलीमा पनि भएको भन्दै आत्मविश्वास प्रकट हुनुका तीन कारण नै बताउँछन् ।

पहिलो: तानाशाहको तीनवटा विशेषता हुन्छ । एउटा चाहिं दुनियाँमा मै मात्रै ठीक भन्ने हुन्छ । यस्तै कुरा अहिले केपी ओलीमा छ ।

दोस्रो: बाहिर दुनियाँले के भनिरहेको छ भन्ने कुराको पत्तै हुँदैन । हरेक तानाशाहको त्यस्तै हुन्छ । त्यसको पत्ता हुने भए त तानाशाह नै हुँदैन । जनताले के भनिरहेका छन्, दुनियाँले के भनिरहेको छ भन्ने केही पत्तो हुँदैन । त्यो कारणले पनि उहाँमा ज्यादा आत्मविश्वास आएको हो ।

तेस्रो: तानाशाहको अर्को विशेषता सानो कोटरीको राय सुन्ने हो । त्यो कोटरीबाट प्रशंसा आउँछ– तपाईंभन्दा ठूलो यो संसारमा कोही पनि छैन । अनि उसलाई लाग्छ– हो त । कुरा यस्तै हो । यो कुराले उहाँमा त्यस्तो ‘कन्फिडेन्स’ आएको हो । यो भनेको अज्ञानता पनि हो । एक किसिमले अहंकार पनि हो । दुनियाँसँगको सम्बन्धविच्छेद पनि हो ।

ओली कदमको विपक्षमा रहेका अर्का राजनीतिक विश्लेषक हरि रोक्का भने ओलीमा त्यस्तो आत्मविश्वास देखिनुका दुई कारण बताउँछन् ।

पहिलो: उहाँसँग गुमाउनुपर्ने कुरा केही पनि छैन्, उहाँले प्राप्त गर्ने कुरा पनि गरिसक्नु भयो । अब उहाँले प्रतिनिधिसभा विघटन फिर्ता लिएँ भनेर पनि मिल्दैन । यो विषय अदालतमा पुगिसक्यो । उहाँले ‘कन्फिडेन्स’ नदेखाए त मैले गरेको कुरा ठीक हो भन्न सक्नुहुन्न नि ।

दोस्रो: चरम बिन्दूमा गएर सोच्ने बानीका कारण पनि ओलीमा त्यस्तो देखिएको हो । केही एक खालको ढिपी गर्ने मान्छे हुन्छन् । चरम बिन्दूमा जाने मान्छे हुन्छन् । उनीहरु बीचमा तटस्थता वा विकल्प हुन्छ भन्ने पनि सोच्दैनन् । त्यस्ता मान्छेहरुले सोच्ने नै त्यसैगरी हो ।


प्रतिक्रिया

One thought on “आक्रामक ओली– कहाँबाट आइरहेको छ यो ‘कन्फिडेन्स’ ?

  1. कायरहरू रक्षात्मक बनेका छन किनभने तिनलाई थाहा छ, यतिखेर निर्वचानमा गएर आफ्नो सबल पक्ष जनतालाई बताउने कुनै तथ्य र तर्क छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर