विदेशी चलखेलले राजनीतिक अस्थिरता बढेको बाबुरामको निष्कर्ष – Nepal Press

विदेशी चलखेलले राजनीतिक अस्थिरता बढेको बाबुरामको निष्कर्ष

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राजनीतिक अस्थिरता बढ्नुमा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको चलखेल निर्णायक रहेको बताएका छन् ।

संविधानसभा सदस्य मञ्चले आयोजना गरेको ‘प्रतिनिधिसभा विघटन र अबको निकास विषयक’ कार्यक्रममा बोल्दै भट्टराईले प्रतिनिधिसभा विघटनको अन्तर्यमा अमेरिकन, चीन र भारतको स्वार्थ मिसिएको बताएका हुन् ।

‘कति कुरा भन्ने कति नभन्ने ? राजनीतिक अस्थिरता बढाउन हाम्रा मित्र राष्ट्रहरुको भूमिका छैन भन्न सकिँदैन । संसद विघटनको अन्तर्यमा पनि केही न केही छ’, भट्टराईले भने ।

उनले गलत व्यक्तिको हातमा शासन पुगेका कारण संविधान असुरक्षित भएको आरोप समेत लगाए । ‘राजनीतिक परिवर्तन ल्याउने शक्तिहरुले फाँसीवादी, लोकतन्त्र विरोधी र भष्मासुर प्रवृत्तिका केपी ओलीलाई सत्ता सुम्पनु ठूलो भुल थियो । ओलीको धुन्दुकारी प्रवृत्तिले मुलुकलाई गम्भीर दुर्घटनामा लैजान्छ’, भट्टराईले भने ।

उनले राजनीतिक कोर्स सच्याउन ओलीको विपक्षमा रहेका सबै दल र नागरिक समाजले संयुक्त प्रतिवाद गर्नुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर