आफन्तको साँघुरो कोठामा आशाका ८ सदस्य – Nepal Press
घर जल्यो, आशा निभ्यो

आफन्तको साँघुरो कोठामा आशाका ८ सदस्य

काठमाडौं । घर जलेको दिन आशा परियार निकै गलिन् । घरसँगै उनको मन जलेको थियो । ५ वर्षअघि ऋण काढेर बनाएको घरको किस्ता अझै बाँकी थियो । ‘अब जलेको घरको किस्ता तिर्ने कि नयाँ घरको लागि ऋण काढ्ने,’ पीडामा छट्पटिइरहेकी आशा द्विविधामा थिइन् ।

काठमाडौं शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा गत मंसिर २९ गते आशाको घर जलेको थियो । घटना भएको २५ दिनपछि समाचार फलोअपका लागि हामी पुगेका थियौं आशाको घर ।

अवशेषका रुपमा बाँकी रहेका घरका भित्ता टाल्दै थिइन् उनी । कान्ति हराएको उनको अनुहार हामीतर्फ फर्कियो । ‘अहिले कहाँ बस्दै हुनुहुन्छ त ?’ हामीले प्रश्न गर्यौं ।

हातका औंलाले इसार गर्दै भनिन्, ‘ऊ त्यहाँ पर आफन्तकोमा बसेका छौं ।’

आशाले उनी बस्दै आएको कोठामा लगिन् । साँघुरो कोठामा उनको ८ जनाको परिवार अटाएको रै’छ । ‘२५ दिनभयो यहीँ बस्दै आएकाे । दिनभर थकान हुन्छ, राति निदाउन सकस हुन्छ,’ आशाले कोठा देखाउँदै भनिन्, ‘यहाँ सामान थुप्रिएका छन् । सुत्न नसकेर नातीहरू रुन्छन् ।’
घरअगाडि चटपटे पसल थियो । आगलागीपछि ठेलागाडा रित्तो छ ।

घर उठाउने चिन्ताले गाँजेको छ आशालाई । त्यही चिन्ताले होला, बेलाबेला ढलाउँछ उनलाई । ‘मलाई थाइराइडको समस्या छ । हिजोमात्रै अचानक ढलेछु,’ उनी दुःखी सुनिन्छिन्, ‘डाक्टरले धेरै चिन्ता नलिनु भनेका थिए । तर, चिन्ता कम गराउने ओखती छैन ।’

डाक्टरले तीन तीन महिनामा उपचार गर्न आउन सुझाएका थिए । तर, उपचार टुटेको छ आशाको । धेरै भयो, ती महिना उपचारबिनै बितेका ।

हेर्दाहेर्दै जलेको थियो घर

गत मंसिर २९ गते, बिहान ११ बजे आशा घर अगाडि गाडामा चट्पटे बेचिरहेकी थिइन् । अचानक घरमा केही पड्केको जस्तो आवाज आयो । के भयो, उनले चालै पाइनन् ।

‘ए दिदी माथि धुवाँ उडिरहेको छ, के भयो घरमा ?’ छिमेकी अस्मिता तामाङ अत्तालिंदै आशाको घर अगाडि आइन् । उनको आँखै अघि घर जलिरहेको थियो । घिमेकीले पानी खन्याउन थाले ।

तर, आगो झन्झन् दन्कियो । केही समयपछि दमकल आयो । प्रहरीहरू आए । निकैबेरपछि आगो निभ्यो । ३५ हजार नगद पैसा केही दिन अघि दराजमा राखेकी थिइन् । पाँच तोला सुन, पाँच तोला चाँदी दराजमै थियो । घरभरि सामान अटाई नअटाई थियो । जल्न केही बाँकी रहेन, केवल लगाएको एक सरो कपडा बाहेक ।

उनलाई रेडक्रसले ग्यास सिलिण्डर राहत दिएको रै’छ । सांसद गणेश दुलालले केही वण्डल जस्ता र ४ बोरो सहयोग गरेका रै’छन् । ‘सहयोग भन्दा बढी आश्वासन मात्र पाइँदो रहेछ,’ आशा सुनाउँछिन् । तर, चिसो छल्ने कपडा भने छैन परिवारको साथमा ।

केही दिनअघि कांग्रेसकी एक नेतृ आएकी थिइन् । ‘४० बोरा सिमेन्ट भए पुग्छ नानी,’ सहयोगको आश्वासन दिँदै उनले हिसाब गरेकी थिइन् । भोलिपल्ट आशाले फोन गरिन् । जवाफ आयो, ‘खै होलाजस्तो छैन । आशा नगर ।’

घर नबनुन्जेल न आशा काममा निस्कन पाएकी छन् न उनको परिवार । ‘सबै जना यही घरकै काममा अल्झिएका छौं । यही पनि पूरा होला जस्तो छैन,’ आशा सुस्केरा काढ्छिन् ।

आफ्नै आफन्तकोमा उनको २ लाख फसेको छ । ३ वर्ष भयो, उठाउन सकेकी छैनन् । ‘मंगलसुत्र बन्धकी राखेर त्यतिबेला एक आफन्तलाई सहयोग गरेकी थिएँ । यस्तो बेलामा पनि उनीहरूले साथ दिएका छैनन्,’ आशा दुखेसो पोख्छिन् ।

एक महिना नबित्दै आशाको परिवारमा दुईवटा ठूला घटना घटे । नाति बितेको दुई महिना पनि पुगेको छैन । ‘नातिलाई निमोनिया भएको थियो । एक महिना अस्पताल बस्दा डेढ लाख भन्दा बढी खर्च भयो । नाति बाँच्ला भन्ने आश थियो, बचाउन सकिएन’ आशा सुँक्सुकाउँछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर