जब अध्याँरो जीवनमा आशाको दीयो बल्यो – Nepal Press
सामाजिक सुरक्षा कोषकाे सार्थकता (भाग–१)

जब अध्याँरो जीवनमा आशाको दीयो बल्यो

सहाराविहीनको सहरा बन्याे सामाजिक सुरक्षा कोष

काठमाडौं । २०७७ साल साउन ८ गते लक्ष्मी महर्जन(३४)को जीवनमा भूकम्प आयो । त्यसदिन मनोहरा नगरपालिका–४ डाँछीकी लक्ष्मीका श्रीमान् हिरालाल महर्जनको एक्कासी खुट्टा दुख्यो । बढी नै गाह्रो भएपछि लक्ष्मीले श्रीमानलाई मनमोहन शिक्षण अस्पताल, स्वयम्भू पुर्‍याइन् ।

खुट्टा दुख्नबाट शुरू भएको हीरालालको विस्तारै शरीरका हरेक पाटपुर्जा दुख्न थाले र बिमारले झन्–झन् च्याप्दै लग्यो । त्यसपछि हीरालाललाई आईसीयूमा राखियो । त्यहाँ पनि सुधार नभए पछि भेन्टिलेटरमा राखेर पनि उपचार गरियो ।

भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि सुधार नभएपछि राति ११ बजे अस्पतालले हीरालाललाई मृत घोषित गरिदियो । लक्ष्मीका लागि त्यो दिनको रात मात्र अँध्यारो भएन, जिन्दगी नै अँध्यारो भयो ।

लक्ष्मीले आफूलाई विस्तारै सम्हालिन् । “श्रीमान्को निशानीको रूपमा एउटा छोरी छ, त्यसैलाई हेरेर चित्त बुझाउनुपर्ला भनेर सोचें र आफूलाई सम्हालें” गहभरी आँशु झार्दै लक्ष्मीले भनिन् ।

दुई वर्षअघि मात्र बनाएको घर । ६ लाखभन्दा बढी ऋण लागेको तिर्न बाँकी नै थियो । अस्पतालमा उपचार गर्दागर्दै श्रीमान्लाई बचाउन त लक्ष्मी सफल भइनन्, तर अस्पतालले भने ९२ हजार रुपैयाँको बिल लक्ष्मीको हातमा थमायो । जसोतजो लक्ष्मीले ऋणमाथि ऋण थपेर अस्पतालको बिल चुक्ता गरिन् ।

श्रीमान् हुँदा र उनको जागिर हुँदासम्म त जसोतसो चलेकै थियो । मासिक रूपमा केही हजार भए पनि पैसा आइरहेकै थियो । तर त्यही श्रीमान् नै नरहेपछि मासिक रूपमा आउने केही हजार रुपैयाँ पनि बन्द भयो ।

श्रीमान् कुनै पनि सरकारी जागिरे भएको भए सके पेन्सन नभए उपदान त पाइन्थ्यो, तर के गर्नु श्रीमान्को जागिर निजी न पर्‍यो । श्रीमानले काम गर्ने कम्पनी भरोसा सर्भिसेज प्रालिले केही न केही सहयोग गर्ला भन्ने लक्ष्मीलाई झिनो आशा थियो । “सहयोग त परकै कुरा, कम्पनीबाट सहानुभूति दिन समेत कोही आएनन् । त्यतिबेला सारै दुःख लाग्यो”, आँसु पुछ्दै लक्ष्मीले भनिन् ।

श्रीमान्को मृत्यु भएपछि लक्ष्मीले गर्दै आएको सानोतिनो व्यापार पनि चौपट भयो । एकातिर श्रीमान्को काजकिरिया गर्नु अर्कोतिर छोरीको स्याहार । भएको पसल पनि बन्द गरेर बस्नुपर्‍यो । “श्रीमान्को काजकिरिया पनि ऋण सापटी लिएर गरें” एकैछिन् अघि पुछेका लक्ष्मीका परेली आँसुले पुनः भरिइसकेका थिए ।

हीरालालको काम गर्ने कम्पनीबाट आधिकारिक रूपमा कोही नआए पनि हीरालालसँगै ड्राइभिङमा काम गर्ने साथीभाइ भने सहानुभूति व्यक्त गर्न लक्ष्मीको घर पुगे । उनका साथीभाइले हीरालाल सामाजिक सुरक्षा योजनामा आबद्ध भएको सुनाए ।

लक्ष्मीलाई श्रीमान् सामाजिक सुरक्षा कोषमा आबद्ध भएको जानकारी त थियो, तर श्रीमान्को मृत्युको पीडाले त्यो कुरा सम्झनै रहेन । “जब प्रकृतिको बाबाका साथीहरू आएर मलाई सुनाए, त्यसपछि मात्र मैले सम्झिएँ उसको बाबा त सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुभएको रहेछ भन्ने कुरा”, लक्ष्मीले चियाको गिलास टेबलमा राख्दै भनिन् ।

हीरालालका साथीभाइले यति मात्र भनेनन्, जतिसक्दो बबरमहलमा रहेको सामाजिक सुरक्षा कोषको कार्यालयमा गएर त्यहाँबाट पाउने सेवा–सुविधाका विषयमा जानकारी लिन पनि सुझाए । श्रीमान्को मृत्युको पीडाले केही समय त लक्ष्मी घरबाट बाहिरै निस्किनन् । एक महिनापछि सामाजिक सुरक्षा कोषको कार्यालय बबरमहल पुगिन् ।

सामाजिक सुरक्षा कोषको रेकर्डमा हेर्दा हीरालालले २०७६ साल फागुन १ गतेदेखि कोषमा योगदान गरेको विवरण भेटियो । हीरालालले मासिक आधारभूत पारिश्रमिक ८ हजार ८५५ पाउने गरेको पाइयो । उनले २०७७ साल मंसिर महिनाबाट आधारभूत तलबको ३१ प्रतिशत जम्मा गर्न थाले पनि जम्मा भने फागुन १ गतेबाट गर्न थालेको विवरण फेला प¥यो ।

यसरी हिसाब गर्दा हीरालालले मंसिरदेखि त्यो बेलासम्म ८ महिना ३१ प्रतिशत योगदान गरेको रकममध्ये २८.३३ प्रतिशत (१७ हजार २३३ रुपैयाँ) वृद्धवृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रहेछ । त्यसपछि लक्ष्मीसँग सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजना सुविधा भुक्तानीसम्बन्धी सम्झौता गर्‍यो । जसको एक प्रति कोषले राख्यो, एक प्रति लक्ष्मीलाई बुझायो ।

लक्ष्मीले सम्झौता पत्र हेरिन् । सम्झौता पत्र अनुसार उनले श्रीमान्को मृत्यु भएपछि अन्तिम संस्कार सुविधाबापत २५ हजार, वृद्धवृद्धावस्था सुरक्षा योजना बापत १७ हजार २३३ पाउने भइन् ।

यति मात्र होइन, श्रीमान्को उपचार गर्दा लागेको खर्चको ४५ प्रतिशत अर्थात् ४२ हजार सामाजिक सुरक्षा कोषले उपचारमा खर्च भएको बिलका आधारमा व्यहोर्‍यो ।

योभन्दा अझ राम्रो त मासिक आधारभूत तलबको ६० प्रतिशत आश्रित परिवार सुरक्षा योजना अन्तर्गत लक्ष्मीलाई जीवनभर ५ हजार ७३ रुपैयाँ उपलब्ध गराउने भयो । अनि छोरी प्रकृतिलाई शैक्षिक वृत्ति सुविधाका लागि आधारभूत पारिश्रमिकको ४० प्रतिशत बापत हुन आउने ३ हजार ३८२ रुपैयाँ मासिक रूपमा २१ वर्ष पूरा नभएसम्म दिने भयो ।

यसले लक्ष्मीको घाउमा थोरै भए पनि मल्हमपट्टी लगायो । “६ लाखभन्दा बढी ऋण मलाई लागेको छ, अब कसरी तिर्ने भन्ने चिन्ताले सताइरहेको बेला केही नभए पनि मासिक रूपमा ५ हजार जति सामाजिक सुरक्षा कोषबाट आउन थालेको छ ।

कम्तीमा ऋण तिर्ने यो पनि त मेरा लागि आधार भयो । यसले गर्दा मलाई ऋण दिएका साहुले पनि तिर्छु भन्दा मान्ने त भए”, अघिदेखि निराशा र पीडाले घेरेको लक्ष्मीको अनुहारमा थोरै भए पनि खुशी देखियो ।

कोषले बैंक खाता खोल्न भनेपछि भदौमा लक्ष्मीले थलीमा रहेको कुमारी बैंकको शाखामा खाता खोलिन् । भदौदेखि मंसिर महिनासम्म छोरी र आफ्नो गरेर मासिक रूपमा एकमुष्ट रकम ३३ हजार ८२०, किरिया खर्च बापत २५ हजार र उपचार खर्चबापत ४२ हजार गरेर १ लाख ८२० रुपैयाँ बैंक खातामा जम्मा भइसकेको छ ।

“पैसा खातामा आएर पनि खर्च नै भइसक्यो”, लक्ष्मीले खुशी हुँदै सुनाइन् । अब लक्ष्मीले कुनै जागिर नगरेसम्म वा अर्को बिहे नगरेसम्म यो सुविधा पाइरहने छिन् भने १२ वर्षकी छोरी प्रकृतिले पनि २१ वर्ष पूरा नभएसम्म अर्थात् अबको ९ वर्षसम्म यो सुविधा पाइरहने छिन् ।

०००

काठमाडौं महानगरपालिका वडा नम्बर ६ महाँकालकी अनिता रिजाल (४८ वर्ष) अहिले यो संसारमा छैनन् । अनिता डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेशनल कलेजमा ए लेभलको इन्चार्जका रूपमा विगत १५ वर्षदेखि कार्यरत थिइन् । निजी र चलेकै कलेज भएकाले पनि जागिर ठीकै चलेको थियो । अरू केही नपाए पनि मासिक रूपमा पाउने तलब खाईपाई आएकी थिइन् ।

सात महिनाअघि जेठको कुरा हो । कोरोनाका कारण सरकारले लकडाउन गरेको थियो । जेठ २४ गते दिउँसो ३ बजेको समय । कलेजको पढाइ भौतिक रूपमा सञ्चालन नभए पनि अनिताले अनलाइनमार्फत भर्चुअल कक्षा घरबाटै सञ्चालन गर्दै आएकी थिइन् । एक्कासी अनितालाई रिंगटा चल्यो । श्रीमान् अरुण रिजालसँगै बसेकी अनिताले श्रीमान्को पाखुरामा बेस्सरी समातेर काखैमा पल्टिइन् । श्रीमान्ले के भयो भनेर टाउको मात्र के उठाउन भ्याएका थिए उनी त बेहोस भइसकिछिन् । श्रीमान् अरुण आत्तिए । उनले हतार–हतार गाडीमा राखेर नजिकै चाबहिलमा रहेको मेडिकेयर अस्पतालमा पुर्‍याए ।

अस्पतालले अनिताको गुमेको होश फर्काउन अनेक प्रयास गर्‍यो । साढे एक घण्टासम्म प्रयास गर्दा पनि होश नफर्किएपछि अस्पतालले अनिताको मृत्यु भएको जानकारी गरायो ।

दिउँसो साढे ४ बजेको समय । बाहिर जेठ महिनाको घामले काठमाडौं शहर उज्यालो थियो, तर अरुणलाई भने श्रीमती गुमेसँगै सदाका लागि जिन्दगी अँध्यारो भएको महसूस भयो ।

श्रीमतीको मृत्युको पीडाले अरुणलाई करिब एक महिनासम्म धेरै सतायो । तर के गर्नु पीडा लिएर गइसकेको मान्छे फर्किने पनि होइन भनेर अरुण मन बलियो बनाउँदै गए । श्रीमती गुमाएको एक महिनापछि अरुण अनिताले काम गर्ने ट्रिनिटी कलेज पुगे । त्यहाँ अनिताका कागजपत्र तथा हिसाबकिताबबारे कुराकानी गरे । विद्यालयले काम गरुन्जेलको तलब बाहेक अरू कुनै सेवा–सुविधा नरहेको जानकारी गरायो ।

“निजी कम्पनी तथा निजी क्षेत्रमा काम गर्दा त जति काम गरे पनि र जति पसिना बगाए पनि तलब बाहेक केही नहुने रहेछ । कलेजले दिने नाममा त्यही एउटा सम्मानपत्रको खोस्टो बाहेक केही पनि दिएन”, अरुणले अनुहार निन्याउरो बनाउँदै भने ।

कजेलबाट निस्किंदै गर्दा कलेजमा सँगै काम गर्ने अनिताका साथीहरूले भने अरुणलाई सम्झाउँदै भने, “अनिता म्याम सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुभएको छ नि थाहा छ कि छैन तपाईंलाई ? त्यहाँबाट केही न केही सेवा–सुविधा लिन पाइन्छ होला, त्यहाँ गएर बुझ्नुहोला ।”

यति भनेपछि अरुणलाई पनि श्रीमतीले सामाजिक सुरक्षा कोषमा आबद्ध भएको कुरा केही समय पहिले सुनाएको याद आयो । “शायद अनिताका कलेजका साथीहरूले नसम्झाएको भए म सामाजिक सुरक्षा कोषमा आबद्ध भएको बारेमा थाहा पाउँन्नथें होला”, अरुणले सुनाए ।

त्यसपछि अरुणले करिब दुई महिनाभन्दा पछि नै सामाजिक सुरक्षा कोषमा गएर बुझे । उनलाई भुक्तानी दाबी गर्नका लागि चाहिने कागजपत्र ल्याएर आउन कोषले भन्यो । पुस २१ गते मात्र सबै आवश्यक कागजपत्र लिएर सामाजिक सुरक्षा कोषसँग सामाजिक सुरक्षा योजना सुविधा भुक्तानी सम्बन्धी सम्झौता भयो ।

कोष र अरुणबीच भएको सम्झौता हेर्दा अनिताले २०७६ साल भदौ २६ गते साउन महिनाबाट योगदान दिन शुरू गरेको पाइयो । उनले आधारभूत पारिश्रमिक मासिक रूपमा ३९ हजार २०४ रुपैयाँ पाउँदा ३१ प्रतिशत योगदान रकममध्ये २८.३३ प्रतिशतले हुन आउने ११ महीनासम्म १ लाख २२ हजार १७१ रुपैयाँ जम्मा गरेको भेटियो ।

जेठ २४ गते नै मृत्यु भएपछि गत असार १ गतेबाट नै उनका श्रीमान् अरुणले आश्रित परिवार सुरक्षा योजनाबापत मासिक २३ हजार ५२२ रुपैयाँका दरले एकैपटक १ लाख ४१ हजार १३२ रुपैयाँ, अन्तिम दाहसंस्कार सुविधाबापत २५ हजार रुपैयाँ र सन्तति वृत्ति योजनाअन्तर्गत आधारभूत पारिश्रमिकको ४० प्रतिशतले हुन आउने मासिक १५ हजार ६८२ रुपैयाँ १९ वर्षका छोरी अपूर्वा सौरभ रिजाललाई गरेर ६ महिनाको एकमुष्ट २ लाख ६० हजार २२४ रुपैयाँ मृतक अनिताका श्रीमान् अरुणको बैंक खातामा जम्मा भइसकेको छ ।

अरुण रिजालले खुशी अनुहार बनाउँदै भने, “श्रीमती गुमाएको पीडा त छँदैछ, तर १५ वर्षसम्म काम गरेको निजी विद्यालयले केही पनि नदिएको अवस्थामा सामाजिक सुरक्षा कोषले ११ महिना मात्र योगदान गरेको भरमा यति धेरै सुविधा दिंदा एकदमै खुशी लाग्यो ।” उनले अगाडि भने, “मलाई त यसले खासै फरक नपार्ला तर जो दैनिक रूपमा ज्यालादारी गरेर खाने व्यक्ति छन्, जागिरबाहेक सहाराविहीन छन्, उनीहरूको त सामाजिक सुरक्षा कोष ठूलै सहारा भएको छ ।”

सामाजिक सुरक्षा कोषलाई सुझाव दिंदै उनले भने ‘कोषका बारेमा अहिले पनि गलत प्रचार भएको छ, अझै पनि वास्तविक श्रमिकले बुझ्न सकेका छैनन् र सरकारले पनि बुझाउन सकेको छैन । यसलाई राम्रोसँग बुझाउनुपर्छ ।’

०००

सामाजिक सुरक्षा कोषमा योगदान गरेर मृत्यु भएका व्यक्तिका परिवारलाई मात्र कोषबाट सहयोग पुगेको छैन, कोषमा योगदान गरेर बिरामी पर्ने र दुर्घटनामा परेर घाइते भएका व्यक्ति पनि सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि सेवा लिन पाएकोमा मक्ख छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *