माघे संक्रान्ति नजिकिएसँगै टोखामा चाकु बनाउन भ्याइनभ्याइ – Nepal Press

माघे संक्रान्ति नजिकिएसँगै टोखामा चाकु बनाउन भ्याइनभ्याइ

काठमाडौं । काठमाडौंको टोखा चाकुका लागि प्रशिद्ध शहर हो । टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा छन् । माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याइ छ । सख्खरलाई पकाएर राम्रोसँग फेटेपछि निर्माण हुने चाकु माघे सक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ ।

माघे सक्रान्तिलाई नेवारीमा ‘घ्यःचाकु संल्हू’ भनिन्छ । नेवारी समुदायमा माघ एक गते मनाइने पर्वमा घिउ र चाकुको परिकार निकै महत्वपूर्ण मानिन्छ । टोखा चाकु प्रोडक्सनका सञ्चालक हंसराज श्रेष्ठले यस वर्ष कोभिडको कारण चाकुको माग कम भएको बताए ।

जाडो महिनामा चाकु खाँदा शरीर तात्ने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ । माघे संक्रान्तिमा चाकुको माग बढ्ने भएकाले चाकु बनाउने कामलाई उद्यमीहरुले तिब्रता दिएका हुन् । यसवर्ष सख्खरको मूल्य बढेको भएपनि चाकुको मूल्य नबढाइएको श्रेष्ठले बताए ।

चाकु बनाउन पहिला उखुलाई पेलेर रस निकालिन्छ र उक्त रसलाई पकाएर सख्खर बनाइन्छ । हिजो आज टोखामा तराइबाट खरिद गरी ल्याइएको सख्खरबाट चाकु बनाइन्छ ।

सख्खरलाई करिब तीन घण्टा सम्म पकाउने, करिब आधा घण्टा सम्म चिस्याउने र राम्रोसँग तन्काएर ताडनुपर्छ । जसले गर्दा चाकुको रंग रातो हुन्छ भने खानको लागि पनि नरम र स्वादिलो हुन्छ । श्रेष्ठका अनुसार ५० केजी चाकु बनाउन करिब ५ घण्टा लाग्छ ।

चाकु उत्पादनमा टोखा प्रसिद्ध भएको कारण मानिसहरु चाकु किन्नका लागि टोखा सम्म पुग्ने गर्छन् । टोखाको चाकु सबैभन्दा धेरै उपत्यकामै बिक्री हुने गर्छ भने विदेशबाट समेत माग आउने गरेको व्यवसायीहरु बताउँछन् । टोखामा परम्परागत शैलीबाट चाकु बनाइने हुँदा पनि मानिसहरुले टोखाकै चाकु खान मन पराउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर