कर्णाली लगानी सम्मेलन वैशाखमा – Nepal Press

कर्णाली लगानी सम्मेलन वैशाखमा

सुर्खेत । कर्णाली प्रदेशका सम्भावनाको खोजी गर्ने, लगानी जुटाउने र कर्णालीलाई समृद्ध बनाउने योजनासहित कर्णाली प्रदेश सरकारले ठूला लगानीकर्तालाई आकर्षण गर्न भन्दै वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७५/०७६ र ०७६/०७७ मा लगानी सम्मेलन गर्ने भनेर बजेटको समेत व्यवस्थापन भएर पनि स्थगित भएको सम्मेलन वैशाखमा गर्न लागिएको कर्णाली प्रदेश योजना आयोगले बताएको छ ।

प्रदेश योजना आयोगको ७८ औं बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको उपाध्यक्ष सर्वराज खड्काले नेपाल प्रेसलाई बताए । ‘कर्णालीमा लगानीमैत्री वातावरण सृजना गर्न र विकास साझेदार संस्था आकर्षण वढाउन प्रदेश स्तरीय लगानी सम्मेलन अत्यन्तै आवश्यक छ’, खड्का भन्छन् ।

परियोजना बैंकको काम सकिएपछि लगानी सम्मेलन आयोजना हुने भएकाले कर्णालीमा सम्मेलन आयोजना गर्न योजना आयोगले तयारी शुरु गरेको छ । नेपाल सरकारले २०७६ सालमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनमा कर्णालीका विभिन्न ६७ वटालाई आयोजना समावेश गरेको थियो ।

तीनै योजना निर्माणका लागि अन्य दातहरुलाई आमन्त्रण गरेर भएपनि लगानी जुटाउन आफूहरुले अधिकतम प्रयास गर्ने तयारी गरेको उनको भनाइ थियो ।

बैठकले कर्णाली प्रदेश विकास परिषद्को बैठक आयोजनाका लागि संयोजन गर्न प्रदेश योजना आयोगका सदस्य डाक्टर दिपेन्द्र रोकाया तथा कर्णाली प्रदेश स्तरीय लगानी सम्मेलनका लागि संयोजन गर्न प्रदेश योजना आयोगका सदस्य योगेन्द्रवहादुर शाहीलाई जिम्मेवारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *