पूर्वप्रधानन्यायाधीशको वक्तव्य भ्रम सिर्जना गर्ने खालको : ज्ञवाली – Nepal Press

पूर्वप्रधानन्यायाधीशको वक्तव्य भ्रम सिर्जना गर्ने खालको : ज्ञवाली

विराटनगर । पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पूर्वप्रधानन्याधिशहरुको संगठित व्यक्तव्यबाजी जबर्जस्ती भ्रम सिर्जना गर्न जारी भएको आरोप लगाएका छन् ।

बुद्धिजीवी परिषद् मोरङले शनिबार विराटनगरमा आयोजना गरेको वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा ओली समूहका प्रवक्ता ज्ञवालीले दवाव र प्रभावमा पार्ने गरि सार्वजानिक गरिएको उक्त व्यक्तव्य संविधानले तोकेको जिम्मेवारीभन्दा बाहिरबाट आएको समेत आरोप लगाए ।

मानव अधिकार आयोगको अध्यक्षबाहेक संगठित रुपमा कुनै जिम्मेवारी नपाउने पूर्वप्रधानन्याधिशहरुको उक्त वक्तव्यबाजी अदालती प्रक्रियालाई प्रभावित पार्ने योजनामा आएको समेत मन्त्री ज्ञवालीको आरोप छ ।

उनले वर्तमान राजनीतिक परिवेश यस स्थानमा आउनुमा धेरै कारण जिम्मेवार रहेको बताउँदै जनादेशमा जाने कुराले लोकतान्त्रिक विधि र प्रक्रियालाई बलियो बनाउने धारणा राखे । संसद बिघटनको पक्ष–विपक्षमा उभिन पाउने भएपनि राजनीतिमा लोकतान्त्रिक विधि विपरित जान नमिल्ने बताए ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जनता र पार्टीबीचको सम्बन्धलाई सुदृढ गर्दै शक्तिशाली कम्यूनिष्ट पार्टी गठन गर्न सफल प्रधानमन्त्रीविरुद्ध इतिहासमा असफल भईसकेका आफ्नै दलका नेताहरुले मोर्चाबन्दी गरेको आरोप लगाए ।

नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने प्रधानमन्त्रीको योजना समेत सफल हुन नदिने गरि षड्यन्त्र भएको उनको टिप्पणी छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्डको फुटाउ र शासन गर भन्ने नियतका कारण कम्यूनिष्ट पार्टी विभाजनको दिशामा गएको दाबी गरे ।

संघीय सरकार र पार्टी कब्जा गर्न नसकेपछि प्रदेश सरकार कब्जा गर्ने योजनामा प्रचण्ड–माधव नेपाल समूह अहिले गलत नियमसहित लागि परेको मुख्यमन्त्री राईको आक्रोश थियो ।

‘संविधान र दलको विधान समेत नपढिकन हतास मनस्थितिसहित उनीहरु लागेका छन’, मुख्यमन्त्री राईले भने– सफल हुने त छैनन्, उनीहरुको नियत नै गलत छ, त्यसलाई प्रदेशसभा सदस्यहरुले बिफल बनाउनुहुनेछ ।’ संघीयतालाई असफल बनाउने योजनामा रहेका उनीहरु विरुद्ध त्यसको पक्षमा उभिएको आफ्नो पक्ष सफल हुने मुख्यमन्त्री राईको विश्वास थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर