रुपन्देहीमा राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको छनौट शुरु – Nepal Press

रुपन्देहीमा राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको छनौट शुरु

रुपन्देही । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता (पुरुष)का लागि लुम्बिनी प्रदेशको छनौट प्रतियोगिता भैरहवाको सिद्धार्थ रंगशालामा शुरु भएको छ । गु्रप ए अन्तरगत रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासीका खेलहरु भैरहवामा शुरु भएको हो ।

ग्रुप बी अन्तरगत बाँके, दाङ र बर्दिया जिल्लाका खेलहरु दाङको देउखुरीमा पुस २६ बाट हुनेछ । भैरहवामा सुरुको दिन उद्घाटन खेलमा रुपन्देहीले नवलपरासीलाई १६३ रनले पराजित गरेको छ ।

टस जितेर व्याटिङ रोजेको रुपन्देहीले निर्धारित ३८ ओभरको खेलमा ५ विकेट गुमाउँदै २१३ रन बनाएको थियो । खराब प्रकाशका कारण खेल ढिलो सुरु भएकोले खेल ४०ओभरबाट घटाई ३८ ओभरको गरिएका थियो ।

रुपन्देहीका लागि सन्दिप सुनारले ५९ रन बनाए । उनले ६४ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मद्दतले सो रन बनाएका थिए । त्यस्तै देव खनालले ४७ र प्रकाश केसीले ४४ रनको योगदान गरे भने सन्दिप रसाइलीले २६ रन बनाए ।

बलिङमा नवलपरासीका अजित यादवले २ तथा जितेन्द्र साहनी, इकलाख अहमद गया साहनीले समान १।१ विकेट लिए ।
प्रतिउत्तरमा २१४ रनको विजयी लक्ष्य पाएको नवलपरासी २२ ओभर १ बलमै ५० रन बनाई सवै विकेट गुमाई हार व्यहोर्यो ।

नवलपरासीका लागि सर्वाधिक रन अमर रसाइलीले १४ रन बनाए भने अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । ५ जना खेलाडीले शून्य रन बनाए ।

नवलपरासीलाई सस्तैमा आउन गर्ने क्रममा विक्रम भुसालले ५, नितेश थापाले ३ र अनिल खरेलले २ विकेट लिए । खेलमा रुपन्देहीका विक्रम भुषाल म्यान अफ द म्याच भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगितामा शनिबार रुपन्देही र कपिलवस्तुबीच खेल हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर