भारतमा बर्डफ्लु देखिएपछि नेपालमा उच्च सतर्कता – Nepal Press

भारतमा बर्डफ्लु देखिएपछि नेपालमा उच्च सतर्कता

काठमडौं । भारतमा बर्डफ्लु देखिएसँगै नेपालमा उच्च सावधानी अपनाउन थालिएको छ । सरकार र निजी क्षेत्रबाट आ–आफ्नो ढङ्गले सावधानी अपनाउन थालेका हुन् ।

सरकारले भारतमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागअन्तर्गतका कार्यालय र क्वारेन्टिनलाई सक्रिय बनाएर पक्षीजन्य पदार्थ आयातमा रोक लगाएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा दयाराम चापागाईका अनुसार पक्षीजन्य पदार्थ आयातको सिफारिस दिइँदै आएकामा बन्द गरिएको हो ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला बर्डफ्लु प्राविधिक समिति हुने गर्दछ । चापागाईका अनुसार चितवनमा केही दिनअघि समितिको बैठक बसेको थियो । बैठकले व्यवसायीलाई उच्च सावधानी अपनाउन अनुरोध गरेको छ ।

वाग्मती प्रदेश सरकारको सहयोग र व्यवसायीको साझेदारीमा नारायणगढ–मुग्लिन सडकखण्डमा ढुवानी गर्ने साधन सरसफाइ र निसङ्क्रमण गरिँदै छ । भरतपुर महानगरपालिकासँग जग्गा माग गरी २५ लाख रुपैयाँ खर्च गरेर सवारी साधनको सरसफाइ र निसङ्क्रमण स्थल निर्माण गर्न लागिएको उनले जानकारी दिए।

काठमाडौँ, पोखरा, गोरखा, धादिङ, लमजुङलगायतका जिल्लामा यही बाटो हुँदै कुखुराजन्य पदार्थ जाने गर्दछ । फर्कदा सवारी साधनलाई निसङ्क्रमण गर्न लागिएको हो । देशकै सबैभन्दा बढी कुखुराजन्य वस्तु उत्पादन हुने चितवनका कृषकलाई जैविक सुरक्षा अपनाउन अनुरोध गरिएको उनले बताए ।

कुखुराको रोगको परीक्षण गर्ने केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला चितवनमा नै छ । प्रयोगशाला प्रमुख डा चेतनाथ खरेलका अनुसार यो प्रयोगशालाको कार्यक्षेत्र देशैभर हो । प्रयोगशालामा कोभिड–१९ परीक्षण गरिएकाले यहाँ सङ्कलन भएका नमूना त्रिपुरेश्वरको पक्षी रोग अन्वेषण प्रयोगशालामा पठाइँदै आएको छ ।

प्रयोगशालाले त्यही कृषकले ल्याउने नमूना र आफैँले देशैभरबाट सङ्कलन गर्ने नमूना परीक्षण गर्ने गर्दछ । भारतमा बर्डफ्लु देखा परेसँगै नमूना सङ्कलन बढाइएको उनले जानकारी दिए ।

हाल यस प्रयोगशालामा ब्याक्टेरियोलोजी परीक्षण मात्र हुने गरेको छ । मोलीकुलर, एलाइजा, पिसिआर, हिस्टोप्याथोलोजीलगायतका महत्वपूर्ण परीक्षण रोकिएका छन् । त्यस्ता सरदर दैनिक एउटा नमूना काठमाडौँ पठाइँदै आएको छ । खरेलले कोभिड–१९ प्रयोगशाला अन्यत्र सारेर पक्षीजन्य परीक्षणलाई यही गर्नका लागि पटकपटक अनुरोध गरिँदै आएको बताए ।

गएको चैत महिनामा तीन महिनाका लागि त्यहाँ कोभिड–१९ प्रयोगशाला स्थापना गरिएको भए पनि हालसम्म स्थानान्तरण गर्न सकिएको छैन । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले भारतबाट आउने कुखुराजन्य पदार्थ तत्काल रोक्नुपर्ने, सरकारी निकाय चनाखो हुनुपर्ने र कृषक एवं व्यवसायीले जैविक सुरक्षामा ध्यान दिन सकेमा रोग भित्रन नपाउने बताए ।

नेपालमा कुखुराजन्य पदार्थको मूल्य बढेकाले भारतबाट लुकीछिपी आउने क्रम बढ्दो रहेको उनको भनाइ छ । उनले भने ,‘अहिले डराउनुपर्ने अवस्था नरहे पनि सरकारी र निजी क्षेत्रले आफ्नो जिम्मेवारी पूरा नगरेमा रोग भित्रन सक्छ ।” सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सकेमा नेपालमा रोग भित्रन नपाउने उनको भनाइ छ ।

पक्षी रोग प्रयोगशालाबाट तत्काल कोभिड–१९ प्रयोगशाला स्थानान्तरण गरेर त्यहाँ पक्षीको परीक्षण बढाउनुपर्ने उनको भनाइ छ । कुखुराजन्य पदार्थमा नेपाल आत्मनिर्भर रहेको छ । यस क्षेत्रमा रु एक खर्बभन्दा बढीको लगानी भइसकेको व्यवसायीको भनाइ छ । जाडो मौसममा बर्डफ्लुको उच्च जोखिम हुने गर्दछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ