प्रमोद खरेलको गीतमा रोयल्टी विवाद चर्कियो, ७५ जना गायकले प्रहरीमा दिए उजुरी – Nepal Press

प्रमोद खरेलको गीतमा रोयल्टी विवाद चर्कियो, ७५ जना गायकले प्रहरीमा दिए उजुरी

एक म्युजिक कम्पनीसँग रोयल्टी विवाद चर्किएपछि ७५ जना संगीतकर्मीले न्याय माग्दै प्रहरी गुहारेका छन् । गायक प्रमोद खरेलले विन्ध्याबासिनी म्युजिक कम्पनीबाट एघारवर्षदेखिको हिसाब खोज्दै टेकु प्रहरीमा उजुरी दिएका हुन् । स्रष्टाले रोयल्टी पाउनुपर्ने माग गर्दै संगीतकार संघको अगुवाइमा उक्त कम्पनीविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

११ वर्षअघि ‘प्रणय एल्बमका चार गीत तयार गर्दा गायक खरेल र कम्पनीबीच रोयल्टी लगायतका हिसाब किताबमा सम्झौता भएको थियो । गीत निर्माणमा सबै लगानी खरेलको थियो भने कम्पनीले उनलाई २ लाख १० हजार रुपैयाँ दिएको थियो । केही समयअघि कम्पनीले गीतको कपिराइट आफ्नो नाममा रहेको भन्दै कम्पनी रजिष्टारमा उजुरी दिएको थियो । गायक खरेलले राष्ट्रिय तथा अन्तराष्ट्रिय मंचमा गाइरहेको आरोप सहित १ करोड क्षतिपूर्ति मागिएको थियो ।

तर, प्रस्तोता नेपाल समाजले कपिराइट स्रष्टाको हुने भन्दै कम्पनीविरुद्ध विज्ञप्ती जारी ग¥यो । लगत्तै कम्पनीका प्रमुख सुवास रेग्मीले सामाजिक संजालमै संगीतकर्मीविरुद्ध आक्रोश पोखे । विवाद चर्कँदै गएपछि संगीतकर्मीले प्रहरी गुहारेका हुन् । प्रहरीले तथ्य र प्रमाण सहि भन्दै उजुरी दर्ता गरेको संगीतकार संघका संरक्षक लक्ष्मण शेषले बताए ।

‘अहिले त पाँचवर्षको सम्झौता ११ वर्ष पुगिसक्यो । बाँकी ६ वर्षको आम्दानी र रोयल्टी पनि मलाई कम्पनीले दिनुपर्छ । यसका लागि म अदालत जान तयार छु’ खरेलले भने । तर, विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुवास रेग्मीले अदालतबाट प्रमाणित गरेर ल्याउन चुनौति दिएका छन् । ‘प्रचलित कानुन र प्रतिलिपि अधिकार ऐनले निर्मातालाई गायक जत्तिको अधिकार धनी पनि भन्दैन कुरा अदालतबाट प्रमाणित गरेर ल्याउनूस’ रेग्मीले भने ।

संगीतकार संघका संरक्षण शेषले चाहिँ स्रष्टाको बौद्धिक सम्पत्ति उसको अधिकारको विषय भएको बताए । ‘स्रष्टाको अधिकारलाई जसले कुण्ठित बनाउँछ, उसले कानुनअनुसार सजाय भोग्न तयार रहनुपर्छ’ उनले भने । शिव परियार, राजेशपायल राई, सत्यराज आचार्य, इन्दिरा जोशी, अर्जुन पोखरेल, कमल खत्री, रामकृष्ण ढकाललगायतले हस्ताक्षर गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर