कोरोना निको भएका बालबालिकामा गम्भीर स्वास्थ्य समस्या– एकको मृत्यु, १७ शय्यामा – Nepal Press
जनस्वास्थ्य

कोरोना निको भएका बालबालिकामा गम्भीर स्वास्थ्य समस्या– एकको मृत्यु, १७ शय्यामा

जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालन गर्न चिकित्सकको सुझाव

काठमाडौं । एकपटक कोरोना संक्रमण भएर निको भएका बालबालिकामा ‘मल्टिस्टिम इन्फ्लेमेटोरी सिन्ड्रोम (एमआईएस—सी) जस्तो जटिल स्वास्थ्य समस्या देखिन थालेको कान्ति बाल अस्पतालले जनाएको छ ।

एमआईएस—सीका कारण कान्तिमा १३ वर्षीया बालकको मृत्यु भएको छ भने १७ जना अस्पताल भर्ना भएको कान्ति अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिएका छन् ।

कान्ति अस्पतालका अनुसार पछिल्लो समय दैनिक एक जना बिरामी कोरोना संक्रमणपछि देखिने एमआईएस—सीको समस्या लिएर आउने गरेका छन् ।

एकपटक कोरोना संक्रमण भएर निको भएका बालबालिका ज्वरो आउने, वाक्वाकी हुने, पेट दुख्ने, पखाला लाग्ने, मुटुको धड्कन गडबड हुने, रगत जम्ने, मिर्गौला फेल हुने जस्ता लक्षण लिएर अस्पताल आउने गरेको पाइएको छ ।

वरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्ण पौडेल कोरोना संक्रमण निको भएका बालबालिकामा मेल्टिस्टिम इन्फ्लामेटोरी सिन्ड्रोमका लक्षण देखएको बताउँछन् ।

एमआईएस–सी के हो ? कसरी थाहा पाउने ?

बाल रोग विशेषज्ञहरूका अनुसार कोरोनाभाइरस संक्रमणमुक्त भएका बालबालिकामा २४ घण्टाभन्दा बढी निरन्तर ज्वरो आउने, झाडापखाला लाग्ने, टाउको दुख्ने, आँखा र जिब्रो रातो हुने, ओठ सुन्निने, हात खुट्टा पनि रातो देखिएर केही सुन्निएजस्तो हुने तथा छालाका समस्या देखिए एमआईएस–सी को लक्षण हुनसक्छ ।

विज्ञका अनुसार कोरोना निको भएको दुईदेखि ६ हप्तापछि बालबालिकामा एमआईएस—सी देखिन सक्छ । समयमै अस्पताल पुर्याए एमआईएस—सी निको हुनसक्छ । कान्तिमा मृत्यु भएका १३ वर्षीय बालकमा पनि यस्तै लक्षण देखिएर हार्ट फेलियर भएपछि मृत्यु भएको थियो ।

कान्तिमा मृत्यु भएका १३ वर्षीय बालकका बुबा–आमामा कोरोना संक्रमण भएर दुई महिनाअघि निको भएको थियो । त्यतिबेला बालकलाई कुनै लक्षण थिएन र पीसीआर गरिएन । पछि बालकलाई पनि कोरोना भएर निको भइसकेको र कोरोनापछि देखिने मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोमका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । बालकमा एन्टीबडी पोजेटिभ पनि थियो ।

अक्टोबरसम्ममा अमेरिकाका करीब १२०० भन्दा बढी कोरोना निको भएका बालबालिकामा मल्टिस्टिम इन्फ्लेमेटोरी सिन्ड्रोम देखिएको थियो ।

भारतका केही ठाउँमा पनि बालबालिकामा यस्तो रोग देखिएको छ । अध्ययनले १४ वर्ष मुनि उमेर समूहका बालबालिकामा कोरोना संक्रमण अन्य उमेर समूहभन्दा न्यून र संक्रमित भएर मृत्यु हुने पनि यो उमेर समूहमा कमै रहेको देखाएको छ ।

कान्ति अस्पतालले गत चैतदेखि हालसम्म ८० जना कोरोना संक्रमितको उपचार गर्यो, त्यसमध्ये तीन जनाको मृत्यु भयो । नेपालमा १० वर्षभन्दा कम उमेरका कोरोना संक्रमितको संख्या ५ हजार ९०० छ ।

बालबालिकामा कोरोनाभन्दा कोरोना संक्रमणपछि देखिने ‘मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ घातक देखिएको छ । उनीहरुलाई यो स्वास्थ्य समस्याबाट बचाउने उपाय भनेकै कोरोना संक्रमण हुन नदिनु हो । विज्ञहरू जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालन गर्न सुझाउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर