भारतमा किन हुन सकेन प्रचण्डको राजनीतिक भेटघाट ? – Nepal Press

भारतमा किन हुन सकेन प्रचण्डको राजनीतिक भेटघाट ?

दिल्लीले खोज्यो औपचारिक च्यानल, कोसियारीले पनि मानेनन् भेट्न

काठमाडौं । पत्नी सीता दाहालको जटिल रोगको उपचारका लागि भारतको आर्थिक राजधानी मुम्बईमा रहेका विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई भारतीय पक्षले औपचारिक भेटघाटका लागि आधिकारिक च्यानलबाट व्यवस्थापन होस् भन्ने सन्देश दिएको छ । काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीले प्रचण्डको पक्षबाट भेटवार्ताका लागि केही इमेल र खबर प्राप्त भए पनि अहिले नेपालको जटिल राजनीतिक अवस्थामा भारत संलग्न हुन नचाहेको बताएका छन् ।

प्रचण्डको तर्फबाट भारतीय राजनीतिक नेतृत्व र उच्च अधिकारीहरुसँग भेटघाटको चाँजोपाँचो मिलाउन आग्रह गरिएको ती अधिकारीले नेपाल प्रेसलाई बताए । यो जानकारी सरकारलाई पनि प्राप्त भएको तर परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासमा कुनै आग्रह नआएको स्रोतले जनाएको छ ।

दिल्लीस्थित नेपाली दूतावास स्रोतले भन्यो–देशको पूर्व प्रधानमन्त्री भारत आएको बेला दूतावासले औपचारिक-अनौपचारिक रुपमा के कस्तो सहयोग गर्नुपर्ने हो लगायत बसोबास र यहाँ उपचारका लागि गर्नुपर्ने समन्वय गर्छ । तर उहाँहरुको तर्फबाट त्यस्तो कुनै सहयोग माग भएको छैन । भेटवार्ताहरुको बारेमा औपचारिक जानकारी पनि छैन र उहाँहरुले भेटघाट मिलाइदिनुपर्‍यो पनि भन्नुभएको छैन ।

स्रोतका अनुसार प्रचण्ड उच्चस्तरीय भेटघाटको वातावरण मिलेमा दिल्ली जाने तयारीमा थिए । तर यसपटक भारतले नेकपा विभाजन र राजनीतिक संकट गहिरिएका बेला प्रधानमन्त्री केपी ओलीलाई चिढ्याउने गरी प्रचण्डलाई औपचारिक आतिथ्य दिन चाहेन ।

स्रोतले भन्यो–प्रचण्डको पक्षबाट आग्रह भएको हो तर भारत यस मामिलामा ‘स्केप’ हुन खोज्यो । यतिसम्म कि महाराष्ट्रका गभर्नर भगतसिंह कोसियारीले पनि अन्तिममा भेट्न मानेनन् । सत्तारुढ भारतीय जनता पार्टीका पूर्व उपाध्यक्ष र नेपाल मामिलामा मोदीलाई सुझाव दिन सक्ने हैसियत भएकाले प्रचण्डले मुम्बईमा रहेका बेला उनीसँग भेट्न खोजेको हुनुपर्छ ।

केही भारतीय मिडियाले पनि कोसियारी निकट सूत्रलाई उद्धृत गर्दै प्रचण्डसँग गभर्नरले भेट्न नमानेको दाबी गरेका छन् । प्रचण्ड पत्नी सीता दाहालको मुम्बईस्थित ‘न्यूरोगन ब्रे एण्ड स्पाइनल इन्स्टिच्युट’मा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर