‘विद्या भण्डारीमा राष्ट्रपतिमा हुनुपर्ने आचरण र व्यक्तित्व नै भएन’ – Nepal Press
नेपाल टक

‘विद्या भण्डारीमा राष्ट्रपतिमा हुनुपर्ने आचरण र व्यक्तित्व नै भएन’

‘आन्दोलन भन्नेवित्तिकै मान्छे सडकमा आउँदैनन्, कार्यकर्तालाई नै बुझाउन बाँकी छ’

काठमाडौं । अष्टलक्ष्मी शाक्यको चित्त दुःखाई कोहीसँग छ भने, त्यो राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नै हो । ३ वर्षअघि अष्टलक्ष्मी तत्कालीन प्रदेश ३ (हालको वागमती) को मुख्यमन्त्री बन्नका लागि संघीय सांसदको टिकट छाडेर प्रदेशको चुनाव लड्न पुगेकी थिइन् ।

तत्कालीन एमालेको प्रदेश इन्चार्ज र सबैभन्दा सिनियर नेताको हिसाबमा उनको दावेदारी स्वभाविक थियो । तर पार्टीमा गुटको दण्ड चलेपछि सिनियर र जुनियरको अर्थ हुन्न । प्रदेश इन्चार्ज शाक्यविरुद्ध केन्द्रीय सदस्यसमेत नरहेका डोरमणि पौडेल संसदीय दलको नेताको उम्मेदवार बने ।

डोरमणिलाई राष्ट्रपति भण्डारीले आफूविरुद्ध खडा गरेको भन्दै अष्टलक्ष्मीले उतिबेलै चित्त दुःखाएकी थिइन् । शाक्य डोरमणिसँग पराजित भएपछि मुख्यमन्त्री बन्ने बाटो बन्द भयो । त्यसयता उनको सम्बन्ध ओलीसँग निकै चिसियो । जसको उत्कर्ष भनेको पार्टी औपचारिक रुपमा विभाजित नहुँदै अष्टलक्ष्मीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर डोरमणिविरुद्ध अविश्वास प्रस्ताव दर्ता भयो ।

नेकपा वागमती प्रदेश इन्चार्ज शाक्यलाई ओली पक्षले हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइसकेको छ । ओलीविरुद्ध आन्दोलनको अग्रमोर्चामा रहेकी शाक्यले भृकुटीमण्डको सभाबाटै ओली प्रवृतिविरुद्ध अन्तिम लडाइँको आह्वान गरेकी थिइन् ।

प्रस्तुत छ, नेकपा नेता शाक्यसँग नेपाल प्रेसका लागि रामकुमार डिसीले गरेकाे कुराकानी नेपाल टकमा ।

दोस्रो चरणको आन्दोलन तुलनात्मक रूपमा लचक खालको घोषणा गर्नुभयो, आन्दोलनदेखि डराउनुभएको हो ?

अलि लचक भएकै हो । तपाईंले आन्दोलन भन्ने बित्तिकै मान्छे त आउँदैनन् नि ! मान्छेले बेग्लै आशा गरेका थिए– अब त आन्दोलनमा जानुपर्दैन । सडकमा जानुपर्दैन । अब समृद्धि, विकासको बाटोमा लाग्ने हो ।

हामीले पनि भनेका थियौं– अब आन्दोलनमा जानुपर्दैन । गणतन्त्र आयो । संघीयता आयो । यत्रो संविधान बनिसक्यो । अब विकासको एजेन्डा लिएर जाने हो ।

तर, अहिलेका घटनाक्रमले जनतालाई त एकैपटक छाँगाबाट खसेजस्तो भयो । यसले अलि निराश पनि बनाएको छ । नकारात्मक कुरा पनि व्यापक आयो ।

किन यस्तो भयो, यो के हो ? भन्ने कुरा नबुझाइकन सडकमा जनतालाई बोलाउनै सकिन्न । कार्यकर्ता पंक्तिलाई नै बुझाउन बाँकी छ । जनताका बीचमा पस्नै बाँकी छ । यो बीचमा अलिकति अन्तरक्रिया, छलफल र अभिमुखीकरण गर्नुपर्यो ।

विपक्षीहरूसँग सँगै मिलेर संयुक्त आन्दोलन गर्ने भन्नुहुन्थ्यो, त्यसमा त सफल देखिनुभएन नि ?

अब अलि सशक्त खालकै आन्दोलन जरूरी छ । त्यसका लागि हामीले तयारी गर्नु पनि जरूरी छ । अहिले विभिन्न पार्टीहरू आआफ्नो ढंगले लागिरहेका छन् । तर, त्यो एक ठाउँमा आउनुपर्छ । सशक्त खालको आन्दोलन गर्नका लागि त छरपष्ट ढंगले आन्दोलन गरेर हुँदैन । एक ठाउँमा आउनै पर्छ । एजेन्डा साझा हो नि त अहिलेको । विषय साझा भएकाले संघर्षमा पनि साझा ढंगले जानुपर्छ ।

यो निर्वाचन आयोग र सर्वोच्च अदालतसँग पनि जोडिएको कुरा हो ।

‘वेट एन्ड सी’ को अवस्थामा हुनुहुन्छ ?

अँ । अलिकति हेरौं न त । त्यहाँबाट कस्तो न्याय पाइन्छ भन्ने कुरा पनि हो ।

अदालतबाट प्रतिनिधिसभा पुन:स्थापना हुन्छ भन्ने आशा छ र ?

अदालत र निर्वाचन आयोग स्वतन्त्र निकाय भएकाले हाम्रो पूर्ण विश्वास छ । स्वतन्त्र निकाय भएको हुनाले कम्तीमा पनि त्यो ठाउँबाट जनताको आवाज बोलिन्छ । न्यायको आवाज बोलिन्छ । र, न्यायगत ढंगले निर्णय हुन्छ ।

कसैले गरेको हस्तक्षेपमा पनि उहाँहरूको सहमति हुँदैन । मुख हेरेर, पद हेरेर उहाँहरूले निर्णय दिनुहुँदैन । किनभने त्यो विश्वास गुमाउन हुँदैन भन्छु म । अदालतले, निर्वाचन आयोगले जनताको विश्वास गुमाउनुहुँदैन । संविधान र कानूनमा टेकेर उहाँहरूले निष्पक्ष ढंगले फैसला गर्नुपर्छ ।

तर, प्रधानमन्त्रीले त संसद पुन:स्थापना हुँदैहुँदैन भनेर ठोकुवा गर्नुभएको छ नि ?

आफैंले विघटन गरेको हुनाले उहाँले कुन नैतिकताले त्यो पुन:स्थापना हुन्छ भनेर भन्नुहुन्छ ? उहाँलाई पुन:स्थापना हुन्छ भन्ने लागेको भए उहाँले विघटन गर्नुहुन्थ्यो र ? उहाँ त अराजक ढंगले गइसक्नुभयो । बिगार्ने बाहेक सपार्ने उहाँको योजना नै छैन । यता पनि बिगार्ने, उता पनि बिगार्ने । सबै ध्वंस गर्ने । बिगार्ने, सिध्याउने र भत्काउने ।

यो ढंगले गइसकेपछि उहाँले अब देश बनाउनुहोला, संसद पुन:स्थापना गर्नुहोला, जनताको आवाज मुखरित गर्न दिनुहोला, विकास गरेर देशलाई अगाडि बढाउनुहोला भनेर उहाँप्रति अब एकछेउ पनि सोच्न सकिन्न । उहाँको सम्पूर्ण गतिविधि नै बिगार्ने हिसाबमा केन्द्रित भएको छ ।

प्रधानमन्त्रीका अनुसार तपाईंहरू ‘भेट्नो कुहिएर झरेको फल’ मात्रै हो रे नि ?

उहाँको बोलाइमा कुनै वजन नै छैन । कुनै मर्यादा पनि छैन । एउटा मानवीय हिसाबले एकअर्कालाई सम्मान गर्ने शिष्टता र संस्कारको पनि कुरा हो । संस्कारविहीन ढंगले उहाँ बोल्नुभएको छ । आफूले के बोलिरहेको छु भन्ने पनि बिर्संदै जानुभएको छ । कतिपय भन्छन्– बिरामीको कारणले होला । औषधि सेवन गरिरहेकाले होला ।

म त त्यो मान्दै मान्दिनँ । उहाँ जानेरै त्यो बोलिरहनुभएको छ । मान्छेको अपमान गर्ने खालको प्रवृत्ति उहाँको छ । यो गणतन्त्र, लोकतन्त्र यही कारणले सिध्याएको हो । बारम्बार मैले भन्ने गरेकी छु– लोकतन्त्र, गणतन्त्रप्रति उहाँलाई माया नै छैन । संघीयताप्रति उहाँलाई कुनै माया छैन । योगदान पनि छैन । त्याग पनि छैन । उहाँले दुःख गर्नुभएको पनि छैन ।

उहाँको बोलाइमा कुनै वजन नै छैन । कुनै मर्यादा पनि छैन । एउटा मानवीय हिसाबले एकअर्कालाई सम्मान गर्ने शिष्टता र संस्कारको पनि कुरा हो । संस्कारविहीन ढंगले उहाँ बोल्नुभएको छ ।

उहाँ आन्दोलनमा लागेर प्राप्त गरेको कुरा पनि होइन । त्यसो भएको हुनाले गणतन्त्रप्रति उहाँको मोह छैन । एउटा नेताले अर्को नेतालाई आपसमा मर्यादा राख्नुपर्छ । त्यो केही पनि छैन ।

उहाँ युवापुस्तामा गएर बोल्नुहुन्छ । त्यो युवापुस्ताले उहाँबाट के सिक्ने होला ? के संस्कार सिक्ने होला उहाँबाट ? कस्तो व्यवहार सिक्ने होला ? कस्तो बोली सिक्ने होला ? उहाँ अत्यन्तै संस्कारहीन बोली बोलिराख्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूले कसैलाई कारबाही नगरेको उल्लेख गर्दै तपाईंहरूलाई पुनः बैठकमा बोलाइरहनुभएको छ । तर, तपाईंहरूले त उल्टै कारबाहीको ‘फायर’ खोल्नुभयो । शुरुमै ओलीमाथि कारबाही गरेपछि अहिले मुख्यमन्त्रीहरूमाथि अविश्वास प्रस्ताव दर्ता गरिरहनुभएको छ । खासमा पार्टी एकता त तपाईंहरूले नचाहेको हो कि भन्ने जस्तो देखियो नि ?

केपी ओलीको यो नक्कली कुरा हो । सँगै भएको बेलामा मिल्न नचाहने, छलफल गर्न नचाहने । एकै ठाउँमा हुँदा सुख दुःखका कुरा गर्न नचाहने, योजनाका कुरा गर्न नचाहने । उहाँ आफैं पन्छिएको हो नि त । गुटमै रमाएर बस्ने । उहाँले नेताहरूलाई कतिसम्मको अपमान गर्नुभयो भन्ने कुरा त हेर्दा सानो जस्तो लाग्छ तर समकालीन नेताहरूलाई कति खेलाउनुभयो उहाँले । कति झुक्याउनुभयो । कति ढाँट्नुभयो । कति उहाँले तर्साउने हिसाबले व्यवहार गर्नुभयो । यो सुहाउने कुरा हो र ? सँगै बस्नै नसकिने स्थितिमा त उहाँले पुर्याएकै हो नि !

हेर्दाखेरी कुर्सीको कुरा जस्तो लाग्छ । तर, जे–जे भए पनि दुइटा अध्यक्षलाई त हामीले सम्मान नै गरेको हो । दुइटा अध्यक्षलाई सम्मान गरिरहँदा उहाँले नै एउटा अध्यक्षलाई अपमानसहित निकाल्ने स्थिति बनाउनुभयो, कुर्सी हटाएर । यस्ता धेरै खेल उहाँले खेल्नुभएको छ । कम्युनिष्ट पार्टीलाई अत्यन्तै नसुहाउने व्यवहार उहाँले गर्नुभएको छ ।

पार्टी विधिसम्मत ढंगले चलाएको भए व्यक्तिगत अपमान पनि खप्न सकिन्छ । तर, पार्टी नै धुजा–धुजा बनाउने, पार्टी नै सिध्याउने गरी उहाँ लाग्नुभयो । यो स्थितिमा पुर्याउने काम त उहाँले नै गर्नुभएको हो ।

त्यसो भए कारबाही तपाईंहरूको बाध्यता हो ?

कारबाही बाध्यता भन्दा पनि उहाँ नै छोडेर पर–पर जानुभयो त ! हामी उहाँले अपमान गरे पनि बालुवाटारमा गएर, उहाँलाई कुरेर बसेको हो । त्यही बालुवाटारमा बसेको बैठकमा पनि उहाँ आउनुभएन । उहाँ आफंै पन्छिंदै जानुभयो । पार्टीलाई अलग बनाउँदै जानुभयो । उहाँले एमाले दर्ता गर्नुभयो । उहाँको माया त त्यता थियो ।

तपाईंहरूले पार्टी फुटाउन खुमलटारमा २८० वटा बैठक गर्नुभयो रे नि !

त्यो वाहियात् कुरा हो । नक्कली खालको कुरा हो । उहाँको भ्रम दिने कुरा, मैले जथाभावी बोले पनि जनताले पत्याउँछ भन्ने छ । नेताहरूबीच सरसल्लाह हुँदैन ? उहाँले पनि त बालुवाटारमा कति बोलाउनुभयो ।

त्यहाँ कति छलफल गर्नुभएको छ । एकअर्कामा छलफल हुँदैन ? यस्तो कुरालाई सहजरूपमा लिनुपर्दैन ? उहाँ त पार्टीको मूल नेतृत्व हो नि ! उहाँले त कम्तीमा पनि सबैलाई बोलाएर व्यवस्थापन गर्ने, छलफल गर्ने, जिम्मेवारी दिने, विश्वास दिने र पार्टीलाई सिंगै चलाउनका लागि ल कसरी जाने भनेर मन फराकिलो पारेर नेतृत्व गर्ने कुरा कसले गर्ने हो ? प्रचण्डले गर्ने हो र ? उहाँले गर्ने होइन ? जबकि आफूलाई एक नम्बर अध्यक्ष भन्नुहुन्छ ।

वागमती प्रदेशको मुख्यमन्त्रीमा तपाईंको चर्चा चलेको थियो । तर, अन्तिममा आएर डोरमणि पौडेल मुख्यमन्त्री बन्नुभयो । पार्टीमा विभाजन आएपछि शुरुमै उहाँविरुद्ध तपाईंहरूले अविश्वास प्रस्ताव दर्ता गर्नुभयो । यो संयोग मात्रै हो कि तपाईंहरूबीचको व्यक्तिगत ‘टसल’ ले पनि काम गरेको हो ?

डोरमणि कमरेडबारे धेरै पहिलेदेखि नै छलफल भइरहेको थियो । म प्रदेश इन्चार्ज भएको नाताले बैठकमा उहाँलाई नै राखेर बेला–बेलामा पार्टी र सरकारबीच छलफल राख्यौं । बैठकमा भन्यौं– तपार्ईंको यो कुरा भएन है । तपाईंले सरकारका कामलाई यसरी प्रभावकारी बनाउनुपर्छ । तपाईंले यसरी योजना बनाउनुपर्छ । यसरी बजेट बनाउनुपर्छ ।

केपी ओलीको यो नक्कली कुरा हो । सँगै भएको बेलामा मिल्न नचाहने, छलफल गर्न नचाहने । एकै ठाउँमा हुँदा सुख दुःखका कुरा गर्न नचाहने, योजनाका कुरा गर्न नचाहने । उहाँ आफैं पन्छिएको हो नि त । गुटमै रमाएर बस्ने ।

तर, उहाँले सक्नु नै भएन । काम गरेर देखाउन नै सक्नुभएन । क्षमता नै देखाउन सक्नुभएन । माथि गुटको अवस्था जस्तो थियो, त्यहाँ पनि अवस्था त्यही ढंगले गयो । व्यवहार त्यस्तै भयो । बजेट बाँडफाँट गर्दा आफ्ना मान्छेलाई बजेट दिने, अर्कोलाई नदिने काम गर्नुभयो ।

साथीहरूले त्यहाँ पनि धेरै सहँदै आउनुपर्यो । तर, पनि जे होस्– मान्छे सच्चिनुपर्छ भनेर हामीले हेर्यौं ।

मैले त धेरै हिसाबले उहाँलाई नजिक राखेर साथ दिएँ । पार्टीले पनि सहयोग गरेकै हो । तर, नसकेपछि साथीहरूले यो भएन, वागमती जस्तो राजधानीसँग जोडिएको, यत्रो राम्रो प्रदेश बिग्रियो भनेर चिन्ता गर्नुभयो । बरु गण्डकी प्रदेशमा अलि गतिविधि देखिन्छ । नयाँ काम देखिन्छ । तर, यहाँ केही पनि नहुने । साथीहरूले त्यतिबेलै अविश्वासको प्रस्ताव राख्नुपर्छ भन्नुभएको थियो । मैले न त्यतिबेला चासो नदिएको हो ।

वास्तवमा मलाई इच्छा पनि थिएन । जे हुने पहिले भइसक्यो । नहुनुपर्ने कुरा भइसक्यो । अब मेरो इच्छा पनि छैन, चाहना पनि छैन भन्ने थियो ।

व्यक्तिगत रूपमा तपाईंको उहाँसँग इगो छैन ?

उहाँले जुन दिन जित्नुभयो, त्यही दिन मैले भनेकी थिएँ– गर्न नहुने काम गर्नुभयो ममाथि । त्यो पनि डोरमणिले नमान्नुपथ्र्यो । उहाँले तपाईंको नेतृत्वमा बसेर काम गर्ने हो भन्नुभएको थियो । तर, जब राष्ट्रपति, प्रधानमन्त्री नै लागिसकेपछि उहाँले आफूलाई सर्लक्कै बदल्नुभयो ।

तपाईं मुख्यमन्त्री प्रस्तावित हुनुहुन्छ । तर, बहुमत नपुग्ने देखिएको छ । सरकार कसरी बनाउनुहुन्छ ?

एक्लै त हुँदै हुँदैन । अहिले हामीसँग ५६ जना सांसद हुनुहुन्छ । दुई/तीन जना सांसद पुग्दैन । हामीले विभिन्न पार्टीसँग कुरा गरिरहेका छौं । कांग्रेससँग कुरा गरिरहेका छौं । अन्य दलहरूसँग पनि कुरा गरिरहेका छौं । म आफैंले पनि कुरा गरिरहेकी छु कांग्रेस संसदीय दलका नेतासँग । उहाँहरू सकारात्मक नै हुनुहुन्छ । हामीले भन्यौं– अविश्वास प्रस्तावको कुरा मात्रै होइन, संघीयता जोगाउने कि नजोगाउने ? गणतन्त्र जोगाउने कि नजोगाउने ?

यत्रो दुःख गरेर आखिरमा कांग्रेस, हामी मिलेर ल्याएकै गणतन्त्र, संघीयता हो । त्यसमाथि खतरा आइसकेपछि, धराप पर्ने अवस्था भइसकेपछि फेरि एकचोटि हामी मिलेर जानुपर्छ । त्यस हिसाबले नै कुरा गर्दा उहाँहरूले ठीकै छ, हामी मिलेर जान सक्छौं भन्नुभएको छ ।

एकजना मन्त्रीले तपाईं भित्ते मुख्यमन्त्री हो, यो पारित हुँदैन भनेर भन्नुभएको छ । उहाँहरूले अविश्वास प्रस्ताव असफल पार्छौं, कांग्रेससँग मिलेर हामी नै सरकारलाई निरन्तरता दिन्छौं भन्नुभएको छ नि ?

त्यसरी नबोलेको भए हुन्थ्यो । त्यसरी बोल्न आवश्यक थिएन । कसलाई भित्तामा पुर्याउँछ, कसलाई पुर्याउँदैन त्यो त परिणामले देखाइहाल्छ । परिणाम नआएसम्म तानातान होला तर सबै स्थितिले हामी ढुक्क छौं । हामी किन ढुक्क छौं भने उहाँहरू सत्तापक्ष हुनुभयो । उहाँहरूले गणतन्त्र, संविधानविरोधी जे कदम चालिरहनुभएको छ, त्यसको असर त नेकपालाई पनि परेको छ । कांग्रेसलाई पनि परेको छ । सबै दललाई परेको छ । त्यस हिसाबले पनि मिलेर जाने कति सम्भावना होला र !

जनआन्दोलनको सहयात्री नेकपा, नेपाली कांग्रेस हौं । गणतन्त्र, संघीयतामाथि खतरा आइसकेपछि फेरि पनि एकचोटि सँगै बसेर संघीयता, गणतन्त्र जोगाउनु जरूरी छ । प्रदेश जोगाउनु जरूरी छ । यसका लागि पनि मिलेर जानुपर्छ भन्ने मेरो मान्यता हो । त्यसै अनुसार कुराकानी भइरहेको छ ।

अहिलेको राष्ट्रपति र तपाईं पहिलेको सहयोद्धा जस्तो हुनुहुन्थ्यो । तर, अहिले राष्ट्रपतिप्रति आक्रामक टिप्पणी गर्नुहुन्छ । पहिलेको सहयोद्धाविरुद्ध यस्तो टिप्पणी गर्नुपर्ने दिन आउला भनेर सोच्नुभएको थियो ?

राष्ट्रपति जस्तो सम्माननीय पदमा विद्या भण्डारी जानुभएको छ । हामी त एउटै पार्टीको । एउटै संगठनमा लागेको मान्छे हो । अखिल नेपाल महिला संघमा म अध्यक्ष हुँदा उहाँ अखिल नेपाल महिला संघ परिषद्को सदस्य हुनुहुन्थ्यो ।

जनआन्दोलनको बलले गणतन्त्र आइसकेपछि राष्ट्रपतीय व्यवस्था भइसकेपछि त्यो सम्मानित पद सिर्जना भयो । हामीले संविधानमै त्यो व्यवस्था गर्यौं । यो पदमा उहाँलाई पठाउने निर्णय पार्टीले नै गरेको हो । तर, त्यस्तो महत्वपूर्ण पदमा बसिरहँदा उहाँले यो गरिमाको पद हो, सम्मानित पद हो भन्ने विश्वास जनतामा दिलाउन सक्नुभएन ।

जनआन्दोलनको सहयात्री नेकपा, नेपाली कांग्रेस हौं । गणतन्त्र, संघीयतामाथि खतरा आइसकेपछि फेरि पनि एकचोटि सँगै बसेर संघीयता, गणतन्त्र जोगाउनु जरूरी छ । प्रदेश जोगाउनु जरूरी छ ।

उहाँले जे गतिविधि गरिरहनुभएको छ, मैले विद्या भण्डारीको मुख हेरेर आलोचना गर्नुपर्ने छैन । उहाँ राष्ट्रपति हुनुहुन्छ, त्यो गरिमामय पदमा बस्नुभएको छ । तर, उहाँ गुटगत गतिविधि गर्नुहुन्छ । त्यहाँ पार्टीको गुट चलाएर बस्नुहुन्छ । भेला गरेर बस्नुहुन्छ ।

मुख्य कुरा दुइटा जुन खतरनाक अध्यादेश आयो, त्यो हो । गणतन्त्र विरोधी, लोकतन्त्र विरोधी, संघीयता विरोधी र सर्वसत्तावादको पक्षमा नेतृत्व बलियो बनाउने हिसाबले त्यो आयो । ती अध्यादेश आइसकेपछि उहाँले एक पाना पनि हेर्नुभएन । खुरुखुरु छाप लगाइदिनुभयो । प्रमाणीकरण गर्नुभयो । त्यो गलत काम हो कि होइन ?

प्रधानमन्त्रीले गलत काम गर्नुभयो भने पनि उहाँले त सच्याउने ठाउँ हो । अध्ययन गर्ने ठाउँ हो, त्यहाँ विज्ञहरू राखिएको हुन्छ । त्यति पनि गर्नुभएन भने त्यो पदको गरिमा कहाँ रह्यो ? कहाँ जोगियो सम्मान ? उहाँले त्यो गरिमामय, वजनदार पदमा बसेर गरिराख्नुभएको गलत कामको विरोध हो ।

तपाईंले चिनेको विद्या भण्डारीको चरित्र शक्ति हातमा लिने, तानाशाह बन्ने हो ?

यस्तो खालको टिप्पणी त म गर्न चाहन्नँ । उहाँले संगठनको काम गर्नु भएन त म भन्दिनँ । विद्यार्थी संगठनमा लाग्नुभएको थियो । तर, पार्टी निर्माणको संगठनमा चाहिं उहाँको भूमिका थिएन । जनताको बीचमा जाने र पार्टी निर्माण गर्ने मामिलामा चाहिं उहाँको भूमिका थिएन । त्यो ठाउँ (संगठन निर्माण) भनेको मान्छेलाई साँच्चै रूपान्तरण गर्ने ठाउँ हो ।

जनतालाई आफूले मात्रै प्रशिक्षित गर्ने कुरा होइन, जनताबाट पनि सिक्ने । व्यवहारको कुरा सिक्ने, ज्ञानको कुरा सिक्ने । नैतिकताको कुरा सिक्ने । त्यो कुरामा उहाँ लाग्नुभएन । त्यसले गर्दा पनि उहाँबाट मैले यो सबै कुरा भएको देखिरहेकी छु ।

मान्छे विचारयुक्त, सिद्धान्तनिष्ठ, नैतिकवान र संस्कारयुक्त भएन भने यस्तो खालको चरित्र देखा पर्छ । मनमोहन अधिकारीले भन्नुभएको छ– एउटा असल मान्छेमा राम्रो आचरण चाहिन्छ । राम्रो विचार चाहिन्छ । संस्कारयुक्त आचरण चाहिन्छ । जनसेवामुखी भावना चाहिन्छ । त्यति पनि उहाँले आफूलाई रूपान्तरण गर्न नसक्नुभएकै हो ।

पदले पनि त्यस्तो बनाउँदो रहेछ ?

विचार, आचरण र संस्कारले कमजोर मान्छे महत्वपूर्ण पदमा गइसकेपछि यस्तै कुरा हुँदोरहेछ । राम्रो विचारयुक्त, संस्कारयुक्त मान्छे त्यहाँ गएको भए अहिले यो केही पनि आउने थिएन । अहिले हामीले हाई–हाई भन्ने स्थिति आउनेथियो ।

राष्ट्रपतिलाई सम्मान गर्ने तहमा हामी पुग्थ्यौं । तर, त्यो अभाव भयो । पद ठूलो भयो । पद अनुसारको संस्कार पनि भएन । पद अनुसारको आचरण र व्यक्तित्व पनि भएन । देशको राष्ट्रपति गणतन्त्र, लोकतन्त्र सिध्याउने कुराको साक्षी बस्नुभएको छ । प्रधानमन्त्रीलाई सहयोग गर्नुभयो यस्तो कुरामा ।

दुःख लाग्छ ?

दुःख त बेस्सरी लाग्छ । दुःख भन्दा पनि पीडा हुन्छ । यो मेरो व्यक्तिगत कुरा मात्रै होइन । हामी त देशमा गणतन्त्र आओस्, समाजवादको लक्ष्य प्राप्त होस् भनेर वर्गीय मुक्ति, श्रमजीवी जनताको मुक्तिका लागि भनेरै लागेको हो ।

हिजो दुःख गरेर, मैले त घर, बालबच्चै छोडेर र पढाइ छोडेर हिंडेको हो । हाम्रो देशमा गणतन्त्र आओस्, जनताले सुख पाउन् र समाजवादको लक्ष्यमा पुग्न सकियोस् भनेर हामी लागेको हो । बल्ल–बल्ल यहाँ आइपुगेका छौं । त्यत्रो अग्रजहरूको त्यागबाट यहाँ आइपुगेका छौं ।

सम्झिंदा पीडाबोध हुन्छ । किनभने म यतिखेर सुखानी सम्झिन्छु । पिस्करको घटना सम्झिन्छु । छिन्ताङको घटना सम्झिन्छु । अहिलेको पदमा बस्ने नेताहरूले यो सम्झिनुपर्दैन ? त्यसै यो स्थितिमा आएको हो ?

दुईजना (प्रधानमन्त्री र राष्ट्रपति) नेताका कारण आज सिंगै व्यवस्था धरापमा परेको छ ।

मुख्यमन्त्री हुनुभयो भने तपाईंमा पनि त्यो अहंकार आउँदैन, आउन दिनुहुन्न भनेर कसरी पत्याउने ?

यसको लागि तपाईंहरू सबैको साथ चाहिन्छ । म सधै‌भरि जनताको सेवामा समर्पित हुन सकौं, निस्वार्थी हुन सकौं र कुनै विकृति विसंगति नआओस् भन्नेमा सचेत छु । मान्छे हो, आउन सक्छ । म पनि त पहिले पदमा बसेकै हो । दुई पटक त मन्त्री भएँ । तेस्रोचोटि म मन्त्री हुन्न भनेर छोडेको हो । मलाई पदको मोह छैन । पदको लोभले मैले अविश्वासको प्रस्ताव दर्ता गरेकै होइन । पद पाउँँला, मन्त्री, प्रधानमन्त्री हुँला भनेर म कम्युनिष्ट आन्दोलनमा लागेकै होइन ।

दुःख त बेस्सरी लाग्छ । दुःख भन्दा पनि पीडा हुन्छ । यो मेरो व्यक्तिगत कुरा मात्रै होइन । हामी त देशमा गणतन्त्र आओस्, समाजवादको लक्ष्य प्राप्त होस् भनेर वर्गीय मुक्ति, श्रमजीवी जनताको मुक्तिका लागि भनेरै लागेको हो ।

तपाईंले भनेको ठीक हो । सुविधाको पदमा गएपछि मान्छे बिग्रिन पनि सक्छ । यस्तो बेलामा खबरदारी गर्ने, सचेत गराउने काम पनि सबैले गर्नै पर्छ । मुख्य कुरा जनतासँग सम्बन्ध टुटाउनुहुँँदैन भन्छु म । जनतासँगको सम्बन्ध, जनताको सुख, दुःखमा साथ दिने, लागिरहने गर्नुपर्छ ।

संगठन भन्दा अलग बस्नुहुँदैन । संगठनको साथ र सहयोग भयो भने मान्छे हम्मेसी बिग्रिंदैन ।

आज केपी ओली किन बिग्रिनुभयो भने उहाँलाई संगठनप्रति माया नै छैन । कम्युनिष्ट आन्दोलनप्रति माया नै भएन, विश्वास नै भएन । जनताप्रति उहाँलाई माया नै भएन ।

तपाईंहरूको पक्षका माधवकुमार नेपालको अध्यक्षतामा गृहकार्य टोली गठन गरिएको छ, यसले के काम गर्छ ?

केपी ओलीलाई एक नम्बर अध्यक्ष बनाएर पार्टी एकीकरण गरिसकेपछि एकीकरणका काम दुई वर्षमा टुंग्याउने भनिएको थियो तर उहाँले सक्नुभएन । उहाँ प्रधानमन्त्री बन्नुभयो तर तलदेखि माथिसम्मको पार्टी एकीकरण गर्नुभएन । त्यसमा उहाँले चासो नै देखाउनुभएन । त्यसैले अहिले संगठन अस्तव्यस्त छ । कमिटीहरू निर्माण भएकै छैनन् ।

अब हामी आन्दोलनमा गइसक्यौं । आन्दोलनमा जानु हाम्रो बाध्यता भयो । तर, त्यो आन्दोलनमा गएर मात्रै भएन । सिंगो पार्टीको व्यवस्थापन, परिचालन, निर्माणको कुरा आउँछ । ती सबै कुरालाई व्यवस्थापन गर्न तल्लो कमिटीको अध्यक्ष, इन्चार्ज चाहियो । पार्टी अलग भइसकेपछि नयाँ नेतृत्व पनि ल्याउनुप¥यो । छिटो संगठनको काम चुस्तदुरुस्त बनाउने, एकताको काम छिटो चुस्त बनाउने र त्यसपछि आन्दोलनका कामलाई अगाडि लैजाने भन्ने हिसाबले यो कार्यदल बनाइएको हो ।

तपाईंहरूले प्रदेश इन्चार्जमाथि कारबाही गर्नुभएको र नयाँ जिम्मेवारी दिनुभएको छ । पार्टी औपचारिक रूपमै फुटिसकेको हो ?

एक किसिमले भावना नै जोडिएन, विचार नै मिलेन । उहाँहरूले प्रतिगमनकारी विचार, संघीयता विरोधी र गणतन्त्र विरोधी विचार राखिसक्नुभएको छ । उहाँहरू सिद्धान्त र लक्ष्यको विपरीत हुनुहुन्छ । कसरी मिलेर जान सकिन्छ ? मिलेर जान सक्ने न्यूनतम आधार त हुनुप¥यो । गणतन्त्र, संघीयतालाई जोगाउने आधार त हुनुपर्यो नि ! त्यो कुरा सबै समाप्त पारेर मिल्ने भनेर मिलिराख्न त सकिंदैन ।

तपाईंहरूले महासचिव नियुक्त गर्नुभएको छैन । कारबाही पनि गर्नुभएको छैन । उपाध्यक्ष पनि बनाउनुभएको छैन । फेरि पार्टी एकता हुनसक्छ वा हामी फेरि मिलेर जान सक्छौं भनेर ‘वेट एन्ड सी’ गर्नुभएको हो ?

त्यस्तो होइन । हामी मिलाउँदै छौं । किनभने, छलफल गर्न जरूरी पनि छ । उहाँहरूलाई के सजिलो छ भने तत्कालीन एमाले–एमाले भनेर गए पनि हुन्छ । एमाले–एमाले भनेर अलग हुनुभएको छ । पूर्व एमाले र पूर्व माओवादीको भाग पनि यतै पर्यो । दुइटा पार्टी मिलाएको हिसाबले सबै कुरा हामीसँगै पर्यो ।

हाम्रो त एकता प्रक्रिया सिंगो बाँकी छ । त्यो मिलाउन हामीले अलिकति गृहकार्य गर्नै पर्छ । त्यो नगरी गर्दा फेरि समस्या सिर्जना नहोस् । भावना हेर्नुपर्यो, क्षमता हेर्नुपर्यो । उहाँहरूले जस्तो तथानाम गर्नु पनि भएन ।

महासचिवमा धेरै नेताहरूको दाबी भएकाले चयन गर्न तपाईंहरूलाई अप्ठ्यारो भइरहेको छ भन्ने कुरो आइरहेको छ नि ?

त्यस्तो होइन । त्यो सबै प्याकेजमै छ । महासचिव मात्रै बनाउने कुरा पनि आएन । सबै प्रदेश, जिल्ला कमिटीका कुराहरू, पेशागत संगठनका कुराहरू, जनसंगठनका कुराहरू यी सबैलाई एउटा प्याकेजमा हल गर्न सिंगै एउटा प्याकेज बनाउने भन्ने कुरा भइरहेको छ । कम्युनिष्ट आन्दोलनलाई माथि उठाउनका लागि सबै हिसाबले विचारयुक्त, संस्कारयुक्त नयाँ पार्टी बनाउने तरिकाले पनि सोच्नुपर्छ भन्ने कुरा हो ।

चुनाव तोकिएको मितिमा हुन्छ कि हुँदैन ? तपाईंहरूले आन्दोलनलाई तल्लो कमिटीमा विस्तार गर्नुभएको छ । एकातिर आन्दोलन, अर्कातिर चुनावको तयारी पनि हो ?

चुनाव गर्नका लागि चुनावको तयारी भएकै होइन । यो छलछामका लािग मात्रै हो । जनतालाई भ्रममा पार्ने– मैले त चुनाव भनेको हो नि !

उहाँले चुनाव गराउनु पनि हुन्न । चुनाव गराउने मनसाय पनि छैन । जनताको बीचमा गएर विश्वास जित्ने मान्छेले त यो भंगै गर्दैन नि ! यो अहिले पनि अनुमान गर्न सकिन्छ । पाँच वर्षका लागि जनताले विश्वास गरेर मत दिएको होइन र ? थाम्न सक्नुभयो त ? जनताको यत्रो मतलाई अपमान नै गर्नुभयो । अनि फेरि जनतामा जाने भन्ने जस्तो झूट र भ्रमपूर्ण कुरा केही पनि छैन ।

चुनाव पनि नहुने, अनि राजनीति कसरी अगाडि बढ्छ त अब ?

हाम्रो अहिले पनि प्रष्ट माग छ– संसद पुन:स्थापना हुनुपर्छ । उहाँले कुन धारामा टेकेर संसद विघटन गर्नुभयो ? यो संविधानमाथि नै ‘कु’ हो । प्रधानमन्त्री जस्तो मान्छेले आँखा चिम्लेर जे गर्नुभयो यो सरासर जनतामाथिको अपराध हो ।

यदि संसद पुन:स्थापना भइदिएन भने तपाईंहरूको कदम के हुन्छ ?

यो नेकपाभित्रको मात्रै समस्या होइन । केपी ओली, प्रचण्ड र माधव नेपालको झगडाको कारणले मात्रै भएको विषय होइन । सरासरी प्रधानमन्त्री केपी ओलीले गणतन्त्रको प्रधानमन्त्री भएर पनि गणतन्त्रमाथि प्रहार गर्नुभयो । संविधानलाई सरासरी कुल्चनुभयो ।

त्यसविरुद्धको आन्दोलन अगाडि बढ्छ । र, गुम्न लागेको अधिकार फिर्ता ल्याउनुपर्छ । जनता धेरै किसिमले सचेत भएर अगाडि बढेकाले पहिलेको जस्तो तरिकाले अब अगाडि जाँदैन । जनताले अधिकार खोज्छन् । त्यो ढंगले यसलाई सुनिश्चित गरेर अगाडि बढ्छन् । पछाडि फर्कने कुरा हुनै सक्दैन ।

देशको भविष्य कस्तो देख्नुहुन्छ ?

म देशको भविष्य कहिल्यै पनि अन्धकारयुक्त देख्दिनँ । हिजो निरंकुश तानाशाहीको अवस्थामा झिनो आशा मात्रै थियो । सम्पूर्ण अधिकार खोसिएको थियो । निरंकुश शासनअन्तर्गत हामी दास भएर बाँचेका थियौं ।

त्यस्तो बेलामा पनि म आफैंलाई पनि के विश्वास थियो भने कम्युनिष्ट पार्टीले जनताको हकअधिकारका लाग काम गर्न सक्छ । जनताको सेवा, मुक्ति र यो देशका लागि काम गर्नुपर्छ । कम्युनिष्ट पार्टीले मात्रै सक्छ भनेर म त्यो विश्वासका साथ अगाडि बढेको मान्छे हुँ ।

त्यसरी लागेर निरंकुश तानाशाही, निरंकुश राजतन्त्रात्मक व्यवस्था त ढाल्न सक्यौं भने अहिले त हामी गणतान्त्रिक व्यवस्थामा छौं । हामीले नसक्ने भन्ने हुँदैन ।

तपाईंहरूले अब राजनीतिक लडाइँको चरण सकियो, हामी समृद्धिको चरणमा प्रवेश गरिसक्यौं भन्नुभएको थियो । तर, फेरि राजनीतिक लडाइँ लड्न थाल्नुभएको छ । हामी कहिलेसम्म राजनीतिक लडाइँ लड्ने ? समृद्धि कहिले प्राप्त गर्ने ?

यदि यसपालि हामीले गलत मान्छे, गलत सोच भएको मान्छेलाई राष्ट्रपति र प्रधानमन्त्री नबनाएको भए आज हाम्रो देश यो अवस्थामा पुग्ने थिएन । नेतृत्व भन्ने कुरा साह्रै महत्वपूर्ण हुन्छ ।

आन्दोलनका बेला पनि नेताले जे भन्यो त्यो दिशामा आन्दोलन जान्छ । देश निर्माण र व्यवस्था बलियो बनाउने सवालमा पनि नेतृत्वको भिजन, नेतृत्वको सोच र आचरण जस्ता कुराको आवश्यकता हुन्छ । तर, हामीले त्यो पाएनौं ।

यो एकछिनको धक्का मात्रै हो । यो एउटा पाठ पनि हो हामीलाई । त्यो पाठ के हो भने गलत नेतृत्वलाई बेलैमा खबरदारी गर्नुपर्ने रहेछ । बेलैमा गलत नेतृत्वविरुद्ध आँटका साथ लाग्नुपर्ने रहेछ ।

तपाईंहरूको पुस्तामाथि टिप्पणी हुन्छ– आन्दोलन गर्न निकै सिपालु तर व्यवस्थापनमा असफल !

देखियो त्यस्तै । व्यवस्था परिवर्तन गर्न हामी जुन आन्दोलन गर्छौं त्यसका लागि हामी जे गर्न पनि तयार हुन्छौं । त्यहाँ समर्पित हुने भावनाको विकास हुन्छ । जब हामी निर्माणमा लाग्छौं– मान्छे स्वार्थी, लोभी हुन्छ । पदलोलुप र व्यक्तिवादी हुन्छन् । व्यक्तिवादी र गुटवादी हुन्छ । अनि उसले जनतालाई बिर्सिन्छ । उसले आफ्नो त्यागलाई बिर्सिन्छ ।

जनताको त्यागलाई बिर्सिन्छ । उसले आफ्नो सिद्धान्तलाई बिर्सिन्छ । नैतिकता धरापमा पर्छ । नैतिकतालाई बिर्सिन्छ । सबै कुरा आफ्नो सुखसुविधाले बिर्सिन्छ । अनि हामी निर्माणको काममा असफल हुन्छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ