सरोकारवालालाई सरकारको आग्रहः वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाऔं – Nepal Press

सरोकारवालालाई सरकारको आग्रहः वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाऔं

काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई मर्यादित एवम् व्यवस्थित बनाउनका लागि सरोकारवाला सवैलाई आग्रह गरेको छ । वैदेशिक रोजगारीका नाममा ठगी बढिरहेका बेला वैदेशिक रोजगार विभागले सरोकारवाला सम्पूर्ण व्यक्ति तथा संस्थालाई सार्वजनिक सूचनामार्फत् यस्तो आग्रह गरेको हो ।

विभागले वैदेशिक रोजगारीमा जान लागेका नागरिकले अन्तरवार्तामा छनौट भएपछि मात्र सम्बन्धित इजाजतपत्रवाला संस्था अर्थात मेनपावर कम्पनीलाई सक्कल राहदानी अर्थात् पासपोर्टलगायत अन्य आवश्यक कागजातका सक्कलप्रति बुझाउन अनुरोध गरेको छ ।

विभागले इजाजतपत्रवाला संस्थालाई पनि आवेदकबाट प्रतिलिपी वा स्क्यान कपी मात्र माग गरी छनौट भएका कामदार बाहेक अरुका सक्कल राहदानी जम्मा गर्ने गराउने काम नगर्न निर्देशन दिएको छ ।

विभागले जारी गरेको सूचनामा छनौट भएका कामदारले आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम इजाजतपत्रवाला संस्थाको आधिकारिक बैंक खातामा लागत रकम जम्मा गरिदिन र त्यसको भौचरप्रति सुरक्षित राख्न तथा इजाजतपत्रवाला संस्थाले समेत छनौट भएका कामदारबाट लिने प्रवद्र्धन खर्च तथा लागत संस्थाको बैंक खातामार्फत लिने कार्य गर्न पनि भनेको छ ।

विना इजाजत वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी बढिरहेको भन्दै विभागले इजाजत विना कसैलाई पनि वैदेशिक रोजगार सम्बन्धी कार्य नगर्न तथा कोहि कसैको प्रलोभनमा नपर्न र कोहि कसैले कुनै इजाजतपत्रवाला संस्थामा आवद्ध छु भनेमा त्यस कुराको एकिन गर्न वैदेशिक रोजगार विभागको वेबसाइट मार्फत जाँच गर्न तथा सम्बन्धित इजाजतपत्रवाला संस्थामा सिधै सम्पर्क गर्न विभागले सूचनामा भनेको छ ।

अनलाइन पुनः श्रम स्वीकृतिको लागि सेवाग्राही आफैंले आवेदन गरी श्रम स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था भएकाले पहिले फाराम भर्दाको बाटै आवेदन गर्न सकिने विभागले जनाएको छ ।

विभागका अनुसार यदि सेवाग्राहीको इमेल ठेगाना वा मोवाइल नम्बर गलत प्रविष्ट भएकोले रिसेट हुन नसकेकाका हकमा रिसेट गर्नुपरेमा वैदेशिक रोजगार कार्यालय, काठमाडौं एवम प्रदेशस्थित श्रम तथा रोजगार कार्यालय र गन्तव्य मुलुक स्थित नेपाली कुटनैतिक नियोगबाट निवेदनको ढाँचा प्राप्त गरी रिसेट को सेवा लिन सकिने छ । रिसेटका लागि आवश्यक निवेदनको ढाँचा विभागको वेबसाइटबाट समेत प्राप्त गरी पेश गर्न सकिनेछ ।

वैदेशिक रोजगारी सम्बन्धी सम्पुर्ण विवरण वैदेशिक रोजगार विभागको वेबसाइट www.dofe.gov.np मार्फत हेर्न सकिने भएकाले यसको अधिकतम प्रयोग गर्न पनि विभागले सबैलाई आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर