खयरमारास्थित वहुप्राविधिक क्याम्पसको नाम रामवृक्ष– प्रधानमन्त्री ओली – Nepal Press

खयरमारास्थित वहुप्राविधिक क्याम्पसको नाम रामवृक्ष– प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको खयरमारामा निर्माणाधीन बहुप्राविधिक क्याम्पस सहिद रामवृक्ष यादवकै नाममा बन्ने स्पष्ट पारेका छन् ।

बुधबार बेलुका नेकपा प्रदेश २ का अध्यक्ष एवम् शहरी विकास मन्त्री प्रभु साह नेतृत्वको टोलीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नियम प्रक्रिया बिना हचुवाको भरमा उक्त शिक्षालयको नामाकरण भएकोले अब सच्चयाएर क़ानून सम्बत ढंगले रामबृक्ष यादवको नाम राख्ने बताए ।

प्रधानमन्त्री ओलीले रामवृक्षको नाममा चाँडै क्याम्पस संचालन गराउने प्रतिवद्धता जनाएको बैठकमा सहभागी नेता रामप्रित रामले बताए ।

खयरमारा सहिद रामवृक्ष यादवको मान-सम्मान र पहिचानसँग जोडिएको ऐतिहासिक भूमि रहेकोले त्यहाँ उनकै नाममा पूर्वाधार निर्माण हुनेमा ढुक्क हुन प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए ।

निर्मल लामा एक सम्मानित व्यक्ति भएको तर रामवृक्षको ठाउँमा लामाको नाम जोडेर गलत नियतले विवाद गराउने प्रयास भएको नेताहरूले आग्रह गरेपछि प्रधानमन्त्री ओलीले सो प्रतिक्रिया जनाएका हुन् ।

भेटमा मन्त्री प्रभु साहका साथै राष्ट्रियसभा सदस्य सुमन प्याकुरेल, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, प्रदेश सभा सदस्य दिलिप साह, नेता रामप्रित रामलगायत उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *