सुनसरीको बर्जु तालमा ८ वर्षपछि वैकाल्टिल हाँस देखियो – Nepal Press

सुनसरीको बर्जु तालमा ८ वर्षपछि वैकाल्टिल हाँस देखियो

पानी चराको गणना सुरु

विराटनगर । नेपालमा पानी चराको गणना सुरु भएको छ । मध्य हिउँदमा पानी र सिमसार क्षेत्रमा पाइने नयाँ प्रजातिको चराको खोज र वर्तमान अवस्था बारे बुझ्न सगै संरक्षणमा सहयोग पुर्‍याउन गणना शुरु गरिएको हो ।

वेटल्याण्ड ईन्टरनेशनलको संयोजनमा हिमाली प्रकृतिको समन्वयमा गणनाको काम भईरहेको छ । चरा संरक्षणमा काम गर्ने पंक्षी संरक्षण संघ लगायत देशका विभिन्न ठाउमा क्रियाशील संघसंस्था संलग्न छन् ।

नेपाल सहित विश्वभर एकै पटक जलपंक्षी गणना भइरहेको हो । नेपालमा पछिल्लो समय जलपन्क्षीहरुको संख्या ओरालो लाग्दै गएको छ ।

दुलर्भ मानिएका जनपन्क्षीहरु पनि क्रमशः लोप हुँदै गएका छन् । पछिल्लो ५ वर्षको पन्क्षी गणनाको तथ्यांक पनि निराशाजनक छ ।

यसपटक पनि जलपंक्षी गणकहरुले नयाँ प्रजातिको चराको खोज र वर्तमान अवस्था बारे बुझ्न गणना कार्यले सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

यसैक्रममा प्रदेश नं. १ र २ का सिमसार क्षेत्रहरुमा जलपंक्षीको गणना सुरु भएको छ । ६ जना विज्ञ गणकसहित २५ जनाको समुहले पुस १८ देखि जलपंक्षीहरुको गणना सुरु गरेका हुन । १८ गते पहिलो दिन समूहले बराहक्षेत्रका  पंक्षीको गणना गरेका थिए ।

१९ गते कोशी टप्पु वन्यजन्तु आरक्षको पुर्वी भाग र २० तथा २१ गते आरक्षको पश्चिम कमलपुरका सिमसार क्षेत्रका पन्क्षीहरुको गणना गरिएको कोशी पंक्षी समाजले जनाएको छ । बुधबार सो समूहले सुनसरीको बर्जु गाउँपालिका–६ स्थित बर्जु तालमा क्षेत्रमा रहेका जलपंक्षीको गणना गरेको छ । हरेक वर्ष पुस महिनामा हुने पञ्च दिवसीय पंक्षी गणनाको यो ३३ औं पटक हो ।

पंक्षी गणना कार्यका संयोजक कोशी पन्क्षी समाजका अध्यक्ष सञ्जीव आचार्यले अव्यवस्थित शहरीकरणको प्रभाव स्वरुप पछिल्लो समय दुलर्भ चराहरुको संख्या घटेको बताए ।

वनजंगल फडानी र मानवीय चहलपहलमा वृद्धि, बासस्थानको विनाश र बिषादीको अत्याधिक प्रयोग लगायतका कारणले पछिल्लो २ बर्षमा जल पंक्षीहरुको संख्या असामान्य अबस्थाले कमी आएको छ ।

वरिष्ठ चराविद् डा. हेमसागर बरालले पछिल्लो अर्धदशक यता नेपालमा दुलर्भ जलपन्क्षीहरु लोपुन्मुख अवस्थामा छन् ।

चराविद् बरालले कोशीटप्पु वन्यजन्तु आरक्षमा २०७५ को तुलनामा २०७६ मा चराहरुको संख्यामा ६५ प्रतिशतले कमी आएको छ ।

यसबर्ष पनि सो क्रम जारी रहने उनीहरुको आङ्कलन छ । यद्यपि २०७६ सालमा पंक्षी गणकहरुको समूहले यस क्षेत्रमा ३१ बर्षपछि ठूलो ‘शिलशिले हाँस’ रेकर्ड गरेका थिए । यस्तै गत वर्ष पनि सोही समूहले पूर्वकै लागी नयाँ ‘मण्डारिन हाँस’ समेत रेकर्ड गरेको जनाएका थिए ।

यसपटक भने बर्जुताल क्षेत्रमा ८ बर्षपछि ‘वैकाल्टिल हाँस’ देखिएको कोशी पन्क्षी समाजका अध्यक्ष प्रेम आचार्यले बताए । यो हाँस नेपालमै दुलर्भ प्रजातिमा पर्दछ ।

पन्क्षी गणकहरुको सो समूहले प्रत्येक बर्ष प्रदेश नं. १ स्थित कोशी टप्पु, बर्जु ताल, तरहरा, बेतना, उर्लाबारी र भागलपुर ताल तथा प्रदेश नं. २ स्थित सप्तरीको भारदह र कमलदह लगायतका सिमसार क्षेत्रहरुमा पन्क्षी गणना गर्ने गरेका छन् ।

नेपालमा प्रत्येक बर्ष असोज महिनाको अन्त्यतिर रुसको साईबेरिया, पुर्वी युरोप र पुर्वी एशियाका क्षेत्रहरुबाट विभिन्न प्रजातिका चराहरु बसाँईसरी आउने गर्दछन् । करिब ७ महिनाको बसाईपछि जेठ महिना सुरुवातसँगै तिनीहरु आफ्नो घर फर्किन्छन् ।

सर्वाधिक पुस, माघ र फाल्गुण महिनामा विभिन्न प्रजातीका चराहरु देख्न पाईने चराविद्हरुको अध्ययन छ ।

नेपालमा भने हालसम्म गणना भएका ८ सय ८८ प्रजातीका चराहरुमध्ये ५ सय २८ प्रजातिका चराहरु कोशी टप्पु वन्यजन्तु आरक्षमा पाइन्छन् ।

सन् २०२० मा नेपालमा १ सय १३ प्रजातीका ६९ हजार पानी चरा गणना गरिएको थियो । नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाती जलपंक्षी नै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर