‘उक्साहटमा लागेर प्रचण्डले ऐतिहासिक अवसर गुमाए’ – Nepal Press

‘उक्साहटमा लागेर प्रचण्डले ऐतिहासिक अवसर गुमाए’

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले विकल्प दिंदादिंदै पनि प्रचण्ड–माधव नेपाल समूह सहमतिमा नआएको दावी गरेका छन् ।

बुधबार साँझ काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले पार्टी विवादको सहज अवतरणका लागि प्रधानमन्त्रीले प्रचण्ड–नेपालसामू तीन प्रस्ताव राखेको तर प्रचण्ड सहमत नहुँदा समस्या पैदा भएको बताए।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चैतमा हुने महाधिवेशनबाट अध्यक्ष बन्न र आगामी चुनावमा नेकपाका तर्फबाट भावी प्रधानमन्त्रीका रुपमा घोषणा गरेरै जनताका विचमा जाने प्रस्ताव गरेपनि प्रचण्ड सहमत नभएको मन्त्री मानन्धरको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नयाँ पुस्तालाई पार्टी नेतृत्वमा ल्याउनेगरी काम गर्न अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई प्रस्ताव गरेको भए पनि उहाँहरु सहमत नभएको राज्यमन्त्री मानन्धरले जानकारी दिए ।

अझै पनि एकता कायम हुने सम्भावना नसकिएको बताउँदै राज्यमन्त्री मानन्धरले ताजा जनादेशका लागि जनतामा जाने निर्णयमा सहमत भएर आउन प्रचण्ड नेपाल समूहलाई आग्रह गरे । राज्यमन्त्री मानन्धरले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर काम गर्न नदिइएको बताउँदै जनताको समृद्धिको सपना साकार पार्न पुन निर्वाचनमा जानुपरेको बताए।

प्रधानमन्त्री ओलीले आगामी महाधिवेशनबाट पार्टी नेतृत्व हस्तान्तरण गर्ने र आगामी चुनावबाट नयाँ नेतालाई समृद्धिको अभियानको नेतृत्व दिने बताउँदा पनि केही नेताको स्वार्थले पार्टीमा विभाजन आउन लागेको मन्त्री मानन्धरको तर्क छ ।

अहिले भड्किएर हिडेका नेता कुनै दिन पश्चातापसहित मुलधारमा फर्कने बताउँदै मन्त्री मानन्धरले अरुको उक्साहटमा प्रचण्डले नेपालको राजनीतिक इतिहासै ठुलो अवसर गुमाएको बताउनुभयो । एकतापछि चलायमान हुनुपर्ने पार्टी संगठनहरु जाम भएर बसेको तर अहिले अध्यक्ष ओलीको सक्रियतामा चलायमान हुन थालेको बताउँदै मन्त्री मानन्धरले सरकार र पार्टी दुबै चलायमान हुने दाबी गरे ।

कार्यक्रममा ४ घण्टा ५ मिनेट २० सेकेण्ड लगातार गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकड्समा नाम लेखाएका राज्यमन्त्री मानन्धरलाई सम्मान गरिएको हो । त्यस्तै बालाजु यातायात र तारकेश्वर यातायात प्रालीले मन्त्री मानन्धरलाई सम्मान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर