ओलीले गल्ती गरे, संसद पुनःस्थापना नै कारबाही हुनेछः घनश्याम भुसाल – Nepal Press

ओलीले गल्ती गरे, संसद पुनःस्थापना नै कारबाही हुनेछः घनश्याम भुसाल

रुपन्देही । नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले संसद पुनःस्थापना गरेर मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सजाय दिन सकिने बताएका छन् । प्रधानमन्त्री ओलीले जनता, पार्टी, लोकतन्त्रसँग गरेको सम्झौताविपरीत संसद विघटन गरेकाले सजायका भागिदार रहेको नेता भुसालको तर्क छ ।

रुपन्देहीको तिलोत्तमामा आफू निकट प्रेस संगठनका पत्रकारले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता भुसालले संसद पुनःथापना गरेर मात्र ओलीलाई सजाय दिन सकिने बताए ।

‘नाकाबन्दीमा ओलीले विरोध गरे त्यसैले संसद विघटन ठिक, गुमेको भूभाग समेटेर नक्सा बनाइयो, त्यसैले संसद विघटन ठिक भनियो, तर संसद विघटनकै विषयमा ओली पक्षसँग ठिक भन्ने आधार छैन’ भुसालले भने ।

उनले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक छ भन्ने कुरा पत्रकारिता जगतले जनतामा लैजान आवश्यक रहेको बताए ।

पत्रकारले जति छिटो जनतालाई असंवैधानिक कदमको विषयमा सुसूचित गर्न सक्यो त्यति छिटो संविधान ट्रयाकमा आउने भुसालको भनाइ छ । नेता भुसालले ओली पक्षकै नेताहरुले प्रतिनिधिसभा विघटन ठीक हो भन्न नसकेको बताउँदै अर्कै प्रसंग जोडेर संसद विघटनको पक्षमा बोल्ने गरेको बताए ।

प्रधानमन्त्री ओलीका कदम लोकतन्त्रको विरोधमा, समाजवादको विरोधमा र वामपन्थको विरोधमा रहेको दाबी गर्दै नेता भुसालले संसद विघटनको कदमलाई कुनै पनि कोणबाट सही हो भन्न नसकिने बताए ।

भुसालले संसद विघटन न्यायका विरुद्ध, समानताका विरुद्ध र समाजका विरुद्ध रहेको भन्दै उनले यसको उजागर गर्न सकिएन भने पत्रकारिताको कर्तव्य पूरा नहुने स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर