सुकुम्बासीका सन्तानको स्याहारमा समर्पित सन्जु – Nepal Press
समाजसेवा

सुकुम्बासीका सन्तानको स्याहारमा समर्पित सन्जु

बीस वर्षको उमेर । घुम्ने/रमाउने समय । तर, समकालीन साथीभन्दा उनको स्वभाव भिन्न छ । कलिलो उमेरमै उनले अग्लो अभिभारा उठाएकी छन् । हाँस्ने, रमाउने र चञ्चल हुने किशोरवयमा उनी चाहिं सहयोगी हात लिएर अघि बढ्दैछिन् । ४० केटाकेटीको भविष्यलाई आकार दिन उनका पाइला सधैंजसो बानेश्वर क्याम्पसतिर लम्किन्छन् ।

उनी अर्थात् सञ्जु ढकाल । सञ्जु तीनकुनेस्थित बानेश्वर क्याम्पसको चौरमा केटाकेटीलाई सीप सिकाउने, पढाउने र सपना देख्न सिकाउने काममा व्यस्त छिन् । सिनामंगलस्थित सुकुम्बासी बस्तीका केटाकेटी पनि सञ्जुसँग नाच्न, खेल्न, पढ्न र सिक्न पाउँदा मक्ख छन् ।

लकडाउनले सिंगो देश ठप्प थियो । तर सञ्जु भने ती केटाकेटीका सपनामा पखेटा हाल्ने योजना बुन्दै थिइन् । लकडाउनले सबैभन्दा मारमा परेको भनेका पनि यिनै भुईंमान्छे थिए ।

एकदिन सिनामंगल करिडोरमा हिंड्दै गर्दा सञ्जुका आँखा वागमती किनारको सडकमा रहेका ती सुकुम्बासी केटाकेटीमाथि पर्यो, जो भोकसँग संघर्ष गरिरहेका थिए ।

‘यिनीहरूको बाहिरी अवस्था देख्दा मलाई नरमाइलो लाग्यो । वास्तवमा मलाई पहिला यो सुकुम्बासी टोल भन्ने पनि थाहा थिएन । केही समयपछि मात्र थाहा पाएँ । र, मैले एउटा अध्ययन गरें– यहाँ कति जना बालबालिका छन् ? यिनका वुबा आमा के गर्छन् ? यिनीहरूको अवस्था कस्तो छ ? सर्वे गर्दैगर्दा मलाई थाहा भयो कि काठमाडौंको वास्तविक अँध्यारो त यहाँ पो रहेछ ! कति बालबालिकाका घरमा त बिजुली बत्ती पनि छैन । म छक्क परें’ उनले भनिन्, ‘धेरै अभिभावकलाई आफ्ना बालबालिका आफू नभएको वेलामा दिउँसो कहाँ छन् ? के गर्छन् ? भन्ने कुराको पनि थाहा हुँदोरहेनछ ।’

सुकुम्बासी टोलका केटाकेटी र उनका अभिभावकलाई देखेपछि केही गर्नुपर्छ भन्ने उनलाई लाग्यो । तर, कसरी गर्ने ? उनले यसबारे धेरै उपाय सोचिन् र केही उपाय पो भेटिन्छ कि भनेर सामाजिक संस्थाका पदाधिकारी पनि गुहारिन् । तर, उनीहरूबाट अपेक्षित सहयोग पाइनन् ।

सञ्जुलाई लाग्यो म आफैं यो काम गर्छु । जस्तोसुकै कठिनाइ आए पनि ती केटाकेटीलाई सहयोग गर्ने संकल्प लिइन् । २० वर्षे यी किशोरीका लागि ती केटाकेटीलाई सहयोग गर्ने काम त्यति सजिलो पनि थिएन ।

केटाकेटीलाई सुरक्षित राख्दै उनीहरूको सारथि बन्नका लागि धेरै कुरा चाहिन्थ्यो । त्यसका लागि उनी विभिन्न कम्पनी धाइन् । र, जम्मा पारिन् उनीहरूलाई चाहिने माक्स, स्यानिटाइजर, फेससिल्डलगायतका सामग्री । त्यस्तै स्वयंसेवकका रूपमा बोलाइन् विभिन्न तालीमप्राप्त प्रशिक्षकहरूलाई ।

बालबालिकाको खाजाका लागि केही व्यक्तिले सहयोग गरे । सडकमा हिंडिरहने बटुवाले समेत आजभोलि आफन्तको जन्मदिन त्यहीं आएर मनाइदिएर बालबालिकालाई दिउँसोको खाजाका लागि सहयोग पुर्याउन थालेका छन् ।

आँटे नहुने के छ र ? उनले यो आइडियामा काम गर्न साथीभाइ बटुलिन् र सहयोगी मनहरूको साथ लिइन् । नर्स बनेर बिरामीको सेवा गर्ने सञ्जुको बाटो समाजसेवातिर मोडियो ।

कोरोनाका कारण विद्यालय गुमाएका ती सुकुम्बासी केटाकेटीलाई सीप र पढाइ सिकाउन सञ्जु र उनको टीम सक्रिय छ ।

गरीब तथा विपन्न बालबालिकालाई सहयोग गर्ने भावना सञ्जुमा सानैदेखि पलाएको थियो । आफू विद्यालय जाँदा आफूजस्तै अन्य बालबालिका सडकमा खेलिरहेको देख्दा मन पोल्ने गरेको बताउँछिन् उनी ।

‘कसका छोराछोरी होलान् ? बाबुआमा के गर्छन् ? किन यी बालबालिका विद्यालय नगएका होलान् ? यस्ता प्रश्न मेरो मनमा आइरहन्थे । विद्यालय जाने म जस्तै बालबालिका सडकमा देख्दा मानसपटलमा अनेक कुरा खेल्थे । धेरै प्रश्न दिमागमा आउँथे’ उनले भनिन्, ‘यी बालबालिकाको लागि मैले केही गर्नुपर्छ भन्ने भावना सधैं मेरो मनमा आउँथ्यो । अहिले पनि आउँछ ।’

विज्ञान संकायमा १२ पास गरेपछि परिवारको दबाब थियो मेडिकल फिल्डमा लैजाने । तर, उनको मन सामाजिक कार्य गर्नेमा नै उद्वेलित थियो । परिवारको दबाबलाई पन्छाउँदै उनी मदन भण्डारी कलेज भर्ना भइन् ।

‘एसएलसी र प्लस टुको बीचमा केही संस्थामा आफैं स्वयंसेवकको रूपमा काम गरेकी थिएँ । सोही समयमा मलाई केही सरहरूले कलेज भर्ना हुन सल्लाह दिनुभयो । र, बीएसडब्लू (व्याचलर इन सोसल वर्क) मा भर्ना भएँ । अहिले त्यहाँ बी.ए. दोस्रो वर्षमा अध्ययनरत छु’, सञ्जु भन्छिन् ।

जब म सुकुम्बासीका ती केटाकेटीलाई सहयोग गर्छु भनेर तिनका आमाबुबालाई भेट्न पुगें झन् आश्चर्यमा परें । ‘विद्यालय नलागेको समयमा तपाईंका छोराछोरीलाई पढाउँछु’ भन्दा ‘नानी तिमीले अमेरिकाबाट कति सहयोग लिएकी छ्यौ ?’ पो भने । कति अभिभावकले त ‘हाम्रा नानी पढाएर हामीलाई कति पैसा दिन्छ्यौ ?’ भन्ने प्रश्न पनि तेस्र्याए ।

‘म धेरै केही गर्न सक्दिनँ होला तर, उनीहरूको भविष्यको लागि एउटा आकार दिने काम गर्छु भनें । बल्ल उनीहरू आश्वस्त भए’ उनले सुनाइन् ।

त्यसपछि बल्ल मेरो कामको शुरुआत भयो । तर, यो कामलाई निरन्तरता दिन म एक्लैले सम्भव छैन । यसका लागि आगामी दिनहरूमा सबैको साथ/सहयोगको अपेक्षा गरेकी छु ।

हेर्नुहोस्, सन्जुको समाजसेवा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *