मधेशी जनतालाई ईश्वर पोखरेलले मैथिलीमै सुनाए ‘दुश्मनको षड्यन्त्र’ – Nepal Press

मधेशी जनतालाई ईश्वर पोखरेलले मैथिलीमै सुनाए ‘दुश्मनको षड्यन्त्र’

जनकपुरधाम । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्रका दुश्मनले सरकार र नेतृत्वलाई सिध्याउने षडयन्त्र गरेपछि व्यवस्था जोगाउन प्रधानमन्त्रीले कठोर कदम चाल्नुपरेको बताएका छन् ।

मंगलबार जनकपुरमा आयोजित बृहत् कार्यकर्ता भेला तथा जनसभालाई सम्बोधन गर्दै पोखरेलले मधेशका जनतालाई पछिल्लो राजनीतिक अवस्थाबारे मैथिली भाषामै प्रष्ट्याउने प्रयास गरे । उनी मैथिलीमा धाराप्रवाह भाषण गर्न सक्छन् ।

जनकपुरमै पढेका र जनकपुरमै हुर्के बढेका पोखरेल मैथिलीमा भाषण गर्दा कुनै मधेशी नेता भन्दा कम देखिएनन् । पोखरेल धनुषामा भूमिगत कालदेखि नै काम गरेकाले यहाँका जनताबीच परिचित छन् ।

पार्टी विभाजनपछि आयोजित पहिलो भेलामा सोचेभन्दा ठूलो सहभागिता र कार्यकर्ताको उपस्थितिबाट उत्साहित भएका पोखरेलले भने– आज तीनवर्ष नवित्दै पार्टीभित्रबाटै एकता कमजोर पार्न हमला शुरु भयो । सत्ता र पदकै लोभमा प्रचण्ड-माधवहरुले पार्टी फुटाए । ती मधेशी जनताका पनि दुश्मन हुन् ।

उनले केपी ओलीले देशलाई समृद्ध बनाउने सपना देखेर अगाडि बढिरहँदा पार्टीकै नेताले असफल बनाउन लागेको र सोही कारण संसद विघटन गर्नुपरेको सुनाए । ‘पूर्वपश्चिम रेलमार्ग ६ लेन, तराई मधेशका हुलाकी राजमार्ग र उत्तरमा मदन भण्डारी राजमार्गलगायतका योजना अगाडि बढेको छ’ उनले भने, ‘यो सबै ओलीले गरेको हो । ओली सपना देखेर अगाडि बढ्छन् ।’

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओली मात्र भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग आँखामा-आँखा जुधाएर कुरा गर्न सक्ने नेपालको नेता भएको बताए ।

भेलामा प्रदेश २ का नेकपा इन्चार्ज सत्यनारायण मण्डल, नेता रघुवीर महासेठ, प्रदेश अध्यक्ष तथा मन्त्री प्रभु साह, जुली महतो, लीलानाथ श्रेष्ठलगायतले मधेशमा ओली नेतृत्वको नेकपा नै पहिलो शक्ति रहेको दाबी गरेका थिए ।

सभा गर्नुअगाडि जनकपुरधामको रेल्वे स्टेशन परिसरबाट विशाल र्‍याली निकालिएको थियो । र्‍यालीमा गाउँ-गाउँबाट नेता कार्यकर्ता आइपुगेका थिए । केही दिनदेखि ओली समूहका नेताहरु प्रदेश २ मा केन्द्रित भएर आगामी निर्वाचनको माहोल बनाउन थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर