पत्रकारविरुद्ध ‘पाखुरा सुर्केर’ कांग्रेस किन प्रतिवादमा उत्रियो ? – Nepal Press
ब्लग

पत्रकारविरुद्ध ‘पाखुरा सुर्केर’ कांग्रेस किन प्रतिवादमा उत्रियो ?

‘नाँच्न नजान्ने आँगन टेढो’ नेपाली जनजिब्रोमा झुण्डिएको यो उखान झट्ट सम्झना भयो । जतिबेला मेलमा आएको नेपाली कांग्रेस केन्द्रीय समितिको विज्ञप्ति पढ्दै थिएँ ।

१२ वर्षयता राजनीतिक रिपोर्टिङका दौरान कांग्रेसका सयाै‌  विज्ञप्ति पढियो होला । यसपटक कांग्रेसको विज्ञप्ति अलिक चासोपूर्वक पढ्नुपर्यो । जहाँ देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीले आफ्नो पार्टीभित्रको आन्तरिक किचलो ढाकछोप गर्न ‘आफूअनुकूल समाचार नलेख्नेविरुद्ध खेद प्रकट’ गरेको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति कांग्रेस केन्द्रीय समितिको जारी बैठकको आधिकारिक धारणा हो । जसमा पार्टीभित्र ‘दुई खाले धारणा नरहेको’ दाबी गर्न ध्यानाकर्षण, खेद र आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ– संसद विघटनको असंवैधानिक कदमका विरुद्ध एउटै निर्णय र प्रष्ट धारणा साथ नेपाली कांग्रेस एकमतका साथ आन्दोलनको मैदानमा छ । फेरि पनि यो सुस्पष्ट गर्दै गलत समाचारहरूप्रति खेद प्रकट गर्दै भ्रमपूर्ण समाचार सम्प्रेषण नगरी पार्टी निर्णयको आधारमा समाचार सम्प्रेषणका लागि सबै संचारमाध्यमलाई नेपाली कांग्रेसको यो बैठक हार्दिक आग्रह गर्दछ ।

अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती हुनु भनेकै आलोचनालाई ग्रहण गर्ने क्षमता हुनु हो । के कांग्रेसले यस्तो क्षमता गुमाइसकेको हो ? कांग्रेस केन्द्रीय समितिको निर्णयले यो प्रश्न उब्जाइदिएको छ ।

नेपाली कांग्रेस निःसन्देह आफूलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर ठान्दछ । अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती हुनु भनेकै आलोचनालाई ग्रहण गर्ने क्षमता हुनु हो । के कांग्रेसले यस्तो क्षमता गुमाइसकेको हो ? कांग्रेस केन्द्रीय समितिको निर्णयले यो प्रश्न उब्जाइदिएको छ ।

खुला राजनीतिक व्यवस्थामा राजनीतिक दलभित्रका छलफलका विषयहरू गोप्य रहन सक्दैनन् । लोकतन्त्रको सौन्दर्य भनेकै पारदर्शिता हो । नेपाली राजनीतिको सावाँ अक्षर चिन्ने जो–कोहीलाई थाहा छ, कांग्रेसभित्र गुटगत लडाईं छ । कांग्रेसको राजनीतिमा वामे सार्ने हरेक कार्यकर्ताले टेक्ने भूगोल र अडिने भित्तो गुटद्वारा निर्मित छन् ।

पार्टीका आन्तरिक मात्रै होइन राष्ट्रिय राजनीतिका धेरै सवालमा कांग्रेसभित्र भिन्न मतहरू छन् । यो घामजस्तै छर्लङ्ग छ ।  मतान्तर हुनु र भिन्न मतहरू प्रकट हुनु लोकतान्त्रिक पार्टीको कमजोरी नभएर सौन्दर्य हो । के कांग्रेस लोकतन्त्रको यो सौन्दर्यबाट भाग्न खोजेको हो ?

लोकतान्त्रिक पार्टीभित्र ‘दुई खाले विचार नरहेको’ स्पष्टोक्तिले कांग्रेसको सैद्धान्तिक धरातल मक्किएको स्पष्ट हुन्छ । आफ्नो कमजोरी लुकाउन सञ्चारमाध्यमलाई दोष दिने प्रयत्न लोकतान्त्रिक पार्टीको आधारभूत चरित्रसम्मत छैन ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएयता कांग्रेसले देखिने गरी गरेका सबै निर्णयहरू नेपालका सञ्चारमाध्यमको ‘कभरेज’ मा परेकै छन् ।

पार्टीभित्र ‘अदालतको आदेश कुर्ने’ वा ‘आन्दोलनको मैदानमा होमिने’ भन्नेबारे बहस भएकै थियो । पुस १३ को प्रदर्शनमा सडकमै दुई धारका विचार प्रवाहित भएका थिए ।

सभापति शेरबहादुर देउवाले भक्तपुरमा संसद पुनस्र्थापना पार्टीको माग नभएको र अदालतको विषय भएको बताइरहँदा काठमाडौंमा संसद पुनस्र्थापनाको मागसहितको ब्यानर कांग्रेस कार्यकर्ताले बोकेकै थिए ।

सभापति शेरबहादुर देउवाले भक्तपुरमा संसद पुनस्र्थापना पार्टीको माग नभएको र अदालतको विषय भएको बताइरहँदा काठमाडौंमा संसद पुनस्र्थापनाको मागसहितको ब्यानर कांग्रेस कार्यकर्ताले बोकेकै थिए ।

तनहुँमा रामचन्द्र पौडेलले सडकबाटै संविधानको रक्षा गर्ने बताएको तथ्य लुकाएर लुक्छ र ? सभापति र वरिष्ठ नेताका सार्वजनिक विचारहरू नै कांग्रेसमा ‘दुई खाले धारणा’ छन् भन्ने विषयको पर्याप्त प्रमाण होइन र ? अनि यसैका आधारमा लेखिएका समाचारप्रति लोकतान्त्रिक भनिने पार्टीको ‘खेद’ लज्जाकै विषय होइन र ?

नेपालको राजनीतिक आन्दोलनमा कांग्रेसले निर्वाह गरेको भूमिकालाई नेपालका सञ्चारमाध्यमले कहिल्यै ‘मिनिमाइज’ गरेका छैनन् ।

सिद्धान्ततः आफूलाई लोकतान्त्रिक दाबी गरेका कारण ऐन–बखतमा कांगे्रेसप्रति मिडिया र नागरिक समाजले अपेक्षा पनि गर्ने गरेका छन् । यसपटक प्रतिनिधिसभा भंग भएपछि त्यस्तै भूमिका अपेक्षित थियो ।

सबैजसो मूलधारका सञ्चारमाध्यमले कांग्रेसको धरातल खोजेका थिए । कांग्रेस उभिने धरातल लोकतन्त्र र संविधानवादको पक्षमा हुनुपर्छ भन्ने कसैको अपेक्षा हुनु के गलत हो ?

कांग्रेसभित्रका गुट, गुटभित्रका स्वार्थ र किचलो सञ्चारमाध्यमका लागि सधैं ‘मसला’ हुन् । तर त्यो ‘मसला’ को उत्पादन सानेपा, बूढानीलकण्ठ र बोहोराटारमै हुने गर्छ । कांग्रेसभित्रका किचलो ‘कविले कविता लेखेजस्तो काल्पनिक’ विषय होइनन् ।

कांग्रेस केन्द्रीय समितिको पछिल्लो निर्णय त यस्तो लाग्छ मानौं कि कांग्रेसमा बहुलता नै छैन । आफूलाई बहुलवादी भन्ने कांग्रेसले पार्टीभित्र भिन्न विचार छैन भन्नु लाचारी बाहेक केही होइन ।

कांग्रेस विज्ञप्तिको प्रसंग सामान्य विषय होइन । यसले ‘उठाउन’ खोजेको महत्वाकांक्षा र दवाउन खोजेको ‘अभिव्यक्ति स्वतन्त्रता’ बारे गम्भीर छलफल आवश्यक छ । विगतमा पनि कांग्रेस नेतृत्वबारे आलोचनात्मक समाचार र विचारहरू संप्रेषण हुने गरेकै थिए । तर नेतृत्वले त्यसलाई सामान्य प्रक्रियाका रूपमा लिन्थ्यो ।

पाखुरा सुर्केर प्रतिवाद गर्ने कांग्रेसको प्रचार नीति कहिले बन्यो ? कांग्रेस नेतृत्वले जवाफ दिनुपर्छ । प्रसंग कांग्रेसको निर्णय र विज्ञप्ति मात्रै होइन आलोचकलाई ‘खुइल्याउने’ प्रचार नीति कांग्रेसको ‘वाररुम’ बाटै भइरहेको छ । जुन आपत्तिजनक छ ।

आलोचकलाई ‘खुइल्याउने’ प्रचार नीति कांग्रेसको ‘वाररुम’ बाटै भइरहेको छ । जुन आपत्तिजनक छ ।

२०१६ सालमा दुईतिहाइ बहुमतसहित प्रधानमन्त्री बनेका वीपी कोइरालाले पत्रकार मदनमणि दीक्षितलाई ‘समीक्षा’ दैनिक प्रकाशन गर्न आर्थिक सहयोग गरेका थिए । पार्टीनिकट र आफ्नो प्रशंसा गर्ने अन्य पत्रिकाहरू छँदै थिए । तर वीपीले सरकारका कामहरूको स्वस्थ आलोचना गर्न ‘समीक्षा’लाई सहयोग गरे ।

मिडियाबाट हुने खबरदारीले सही बाटोमा हिंड्न आफूलाई प्रेरणा हुने वीपीको बुझाइ थियो । आज तिनै वीपीको पार्टीले सञ्चारमाध्यमलाई खबरदारी गर्न थालेको छ । आलोचनाबाट आत्तिएर कांग्रेसले ‘समाचारविरुद्ध पारित गरेको खेद प्रस्ताव’ कांग्रेसको लोकतान्त्रिक आचरण पतनको उदाहरणका रूपमा रहिरहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *