प्रचण्ड-माधव पक्षधर अखिलले मन्त्रीहरुलाई कालो झण्डा देखाउने – Nepal Press

प्रचण्ड-माधव पक्षधर अखिलले मन्त्रीहरुलाई कालो झण्डा देखाउने

काठमाडौं । प्रचण्ड-माधव नेपाल पक्षधर नेकपा समर्थित अनेरास्ववियूले सरकार विरुद्ध आन्दोलन घोषणा गरेको छ । संगठनले मंगलबार बिहान पत्रकार सम्मेलन गरी आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनका क्रममा केपी ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउनेदेखि प्रधानमन्त्रीको पुत्ला दहनसम्म कार्यक्रम राखिएको अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले बताए ।

आन्दोलनका क्रममा प्रधानमन्त्रीप्रति व्यंग्य गर्दै वयलगाडा प्रदर्शन र ज्ञापनपत्र तथा धर्ना कार्यक्रम हुने पत्रकार सम्मेलनमा बताइयो । सो संगठनले लिम्पियाधुरा सहितको नक्सा भएको पाठ्यपुस्कत वितरण गर्न माग गर्दै अनलाइन कक्षाको नाममा लिइएको शुल्क खारेज गर्न दबाब दिने भएको छ ।

प्रचण्ड–माधव पक्षधर अनेरास्ववियूको संयोजक पनि ऐन महर नै

पार्टी विभाजनपछि अनेरास्ववियू दुई समूहमा बाँडिए पनि प्रचण्ड-माधव पक्षले संयोजक ऐन महरलाई कायमै राखेको छ ।

महरमाथि कारवाही गर्न सिफारिस गरिए पनि निर्णय भइ नसकेकोले महरालाई संयोजक मानेरै पत्रकार सम्मेलनमा विज्ञप्ति जारी भएको छ । महर ओली पक्षका नेता हुन् । महर पक्षले पनि सहसंयोजक रन्जितलाई कारवाही गरेको छैन ।

पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाएर अन्य प्रदेश इन्चार्ज तथा मुख्यमन्त्रीहरुलाई हटाउने क्रम चले पनि अखिलमा महर हटाउने निर्णय नभएको एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर