न्यायको खोजीमा कहिले बालुवाटार, कहिले माइतीघर – Nepal Press
नवराज विक हत्या प्रकरण

न्यायको खोजीमा कहिले बालुवाटार, कहिले माइतीघर

विरामी शरीर र घाइते मन लिएर न्यायका खाेज्दै भौतारिएका बा–आमाहरु

काठमाडौं । काठमाडौंको सुन्धारास्थित निर्माणाधीन धरहराबाट २०० मिटर बायाँतिर मोडिएर अलिकति भित्र छिरेपछि तेजमहल होटल पुगिन्छ । समय बिहानको करीब ६ बजे । होटलको मूलढोका खुलेकै थिएन । १५ मिनेटको पर्खाइपछि गेट खुल्यो । होटलको पहिलो तलामा रहेको कोठा नम्बर १०३ को ढोका भने हामी पुगेपछि मात्र खुल्यो । अनुमति लिएर हामी कोठाभित्र छिर्‍यौं ।

दुई बेड रहेको १०३ नम्बर कोठामा रात विताएका तीन जना भर्खरै उठेका थिए । ती तीन जनामा थिए, सात महिनाअघि अर्थात् गत जेठ १० गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा भएको घटनामा ज्यान गुमाएका नवराज बिकका बुवा पुनलाल नेपाली उर्फ मोहन बिक, गणेश बुढा मगरका बुवा पदमबहादुर बुढामगर र टीकाराम नेपालीका बुवा सिमे नेपाली ।

पदम बुढामगर र सिमे नेपाली दुवै बिहानको नित्य कर्ममा थिए । मोहन बिकले भने नित्यकर्म भ्याइसकेका थिए । काठमाडौंको तापक्रम शून्य डिग्री सेल्सियममा झरेको छ ।

कालो टोपी, खैरो रंगको गलबन्दी बेरेका गहुँगोरो अनुहारका नवराजका ४३ वर्षे बुवा मोहन बिकले रातो रंगको पातलो ज्याकेट लगाएका थिए । १२ घण्टा लामो गाडीको यात्राले होला खुट्टा सुन्निएको झैं देखिन्थे । अघिल्लो दिन दिनभरिको दौडधुप तथा मिडियाकर्मीलाई गुनासो सुनाएर अबेर राति होटलमा पुगेकाले र निद्रा पनि नपरेर होला आँखा लाल–लाल र सुन्निए झैं देखिन्थे ।

फोन आउँछ, कुरा सुन्छन्, सुनुवाइ हुँदैन

उठ्न पाएकै छैन, फोन बज्न थालिसक्छ । कहिले वकिलको फोन आउँछ त कहिले घरबाट, कहिले पत्रकारको । बिहान ६ नबज्दै फोन उठाउन भ्याई–नभ्याई हुन्छ ।

टेबलमा कालो झोला र स्यानिटाइजर पनि छ । अर्कोतिर एउटा कुर्सी । कुर्सीमा नवराजको नेपाली नागरिकतासहित सोती हत्याकाण्डका कागजपत्रले भरिएको क्लियर व्याग छ । कुर्सीमै रहेको छ एउटा डायरी ।

के लेखिएको छ डायरीमा भन्ने प्रश्नको जवाफमा मोहनले भने– ‘मेरो सबै सम्पत्ति यही डायरीमा छ । मेरो छोराको न्याय पनि यसैमा छ ।’ कसरी यो डायरीमा छोराको न्याय छ त भन्ने प्रतिप्रश्नमा उनले भने– ‘मेरो छोरासहित सोती हत्याकाण्ड भएपछिको सबै विवरण नै यो मेरो डायरीमा छ । पूर्व प्रधानमन्त्रीदेखि न्यायाधीश, पत्रकार सबैको फोन नम्बर पनि यसैमा छ ।’

रोजगारीमा जानका लागि एकखालको पैसा कमाउने खुशी बोकेर उनी काठमाडौं आउने गर्थे । तर यसपटक भने उनी मनभरी छोरो गुमाएको पीडा र न्यायको खोजीमा आउनुपरेको हो ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नम्बर समेत देखाउँदै मोहनले भने– ‘यी हेर्नुस् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नम्बर । यो घटना भएपछि मैले भट्टराईलाई फोन पनि गरेको थिएँ । घटनालाई गम्भीर रूपमा लिएको छु । तपाईंलाई न्याय दिलाउनका लागि म लागिपर्नेछु भनेर भट्टराईले भन्नुभएको थियो ।’ मैले फेरि प्रतिप्रश्न गरें, ‘न्याय दिलाउनुभयो त बाबुराम भट्टराईले ?’ जवाफमा भने ‘छैन, केको न्याय दिलाउनु र ! न्याय दिलाएको भए अहिले काठमाडौं आउनुपथ्र्यो र ?’

न्याय माग्न पहिलोचोटि काठमाडौंमा

सुन्निएका गोडामा चप्पलका फित्ता नै दबिएका छन् । रुकुमकै सोतीमा मारिएका गणेश बुढामगरका बुवा ४६ वर्षीय पदमबहादुर बुढामगर भर्खरै उठेर गिलासमा पानी पिउँदै थिए । १० वर्ष अघिसम्म रोजगारीका लागि भारततिर जाने गरेको भए पनि लामो समय भयो बुढामगरले लामो यात्रा नगरेको । त्यसैमा पनि बुढामगर पहिलो पटक काठमाडौं आएका थिए ।

‘पहिलो पटक काठमाडौं आउनुभएछ, यति लामो यात्रा गर्नुभयो कस्तो लाग्यो काठमाडौं ?’ भन्ने प्रश्नमा उनको अनुहार पहिलेको भन्दा झन् निन्याउरो भयो । ‘के गर्नु मेरो भाग्य पनि कस्तो ! सबै मान्छे काठमाडौं घुम्न, रमाउन आउँछन्, म भने गुमेको छोराको आत्माको शान्ति र न्यायका लागि भौंतारिएको छु ।”

पदमबहादुरलाई जाजरकोट सदरमुकाममा गाडी चढेको मात्र सम्झना छ, त्यसपछि कहाँ पुगियो कहाँ खाना खाइयो, काठमाडौंको कुन ठाउँ झरियो अनि अहिले कहाँ बसिएको छ केही पनि जानकारी छैन ।

त्यसबारेमा उनले जानकारी राख्न पनि जरूरी ठानेनन् । यति मात्र जरूरी ठाने, आफू काठमाडौं आएर बोलेपछि र कराएपछि आफ्ना छोराको हत्यारालाई जन्मकैदको फैसला होला र आफूले न्याय पनि पाउँला अनि छोरोका आत्माले पनि शान्ति पाउला ।

न्यायको खोजीमा भौंतारिएको बिरामी शरीर, घाइते मन

शायद बिरामी भएर पनि होला घरी–घरी खोकिरहेका छन्, रुकुमपश्चिममा मारिएका टीकाराम नेपालीका बुवा ३८ वर्षका सिमे नेपाली । नेपाली भने काठमाडौं पहिलो पटक आएका होइनन् । तर यसअघि काठमाडौं आउनु र अहिले आउनुमा आकाश–जमीनको फरक छ ।

यसअघि वैदेशिक रोजगारीमा जानका लागि एकखालको पैसा कमाउने खुशी बोकेर उनी काठमाडौं आउने गर्थे । तर यसपटक भने उनी मनभरी छोरो गुमाएको पीडा र न्यायको खोजीमा आउनुपरेको हो ।

दैनिक मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका सिमेलाई काठमाडौं आउन खासै रहर थिएन । काठमाडौं आउँदा यत्तिकै पनि दुई-चार दिन बितिहाल्ने र दैनिक रूपमा ज्यालादारी गर्ने काम पनि रोकिने चिन्ताले काठमाडौं नजाऊ कि भन्ने पनि लागेको थियो । फेरि आफू नगए, आफूले नबोले छोराका हत्याराले उन्मुक्ति पाउलान् र छोराको आत्माले शान्ति नपाउला भन्ने चिन्ताले आउनै पर्‍यो ।

अदालतमा मुद्दा विचाराधीन

रुकुम जिल्ला अदालतमा कर्तव्य ज्यान, जातीय छुवाछूत र ज्यान मार्ने उद्योग विरुद्धका तीन वटा मुद्दा विचाराधीन छन् । कोरोनाको महामारी फैलिरहेको छ । काठमाडौंको तापक्रम शून्य डिग्रीभन्दा तल झरेको छ । यस्तो अवस्थामा उनीहरू किन काठमाडौं आए भन्ने प्रश्न अधिकांशको छ । त्यस्तै प्रश्न मेरो मनमा पनि उब्जियो । अरूले सोध्ने मौका नपाए पनि मैले भने उनीहरूसँग भेट भएकै मौकामा सोधिहालें ।

गत जेठ १० गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा रहेकी सुष्मा मल्ललाई विवाह गर्न जाजरकोटको भेरी नगरपालिका–३ का नवराज बिक १८ जनाको टोलीसहित गएपछि सुष्माका गाउँलेले आक्रमण गरेर नवराज बिक, गणेश बुढा मगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जीव बिकसहित ६ जनाको हत्या गरे भने १२ जना भेरी नदीमा हाम्फालेर ज्यान जोगाउन सफल भए ।

नवराजका बुवालगायत ज्यान गुमाउने ६ जनाकै परिवारले उनीहरूको हत्या गरिएको भन्दै किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले ३४ जनालाई पक्राउ गर्यो । पक्राउपछि जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध कर्तव्य ज्यान, जातीय विभेद र ज्यान मार्ने उद्योग विरुद्ध मुद्दा चलाएको थियो ।

६ महिनाअघि नै जिल्ला अदालत रुकुमले ३४ जनामध्ये २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

६ महिनाअघि नै जिल्ला अदालत रुकुमले ३४ जनामध्ये २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पीडितको तर्फबाट २५ जना वकिलले अदालतमा बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट ७ जनाले ।

जिल्ला अदालत रुकुमपश्चिमले पक्राउ परेकामध्ये तुलबहादुर मल्ल, दीपेन्द्र चन्द र इन्द्रबहादुर मल्ललाई साधारण तारेखमा र मृतक नवराज बिककी प्रेमिका सुष्मा मल्लकी आमा प्रकाशी मल्ललाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्ला अदालत रुकुमपश्चिमले प्रेमिका सुष्मा मल्लसहित दुई जनालाई बाल सुधारगृहमा राख्न शुरुमा नै आदेश दिइसकेको थियो । यसरी ३४ जनामध्ये ६ जना अहिले पनि थुनामा छैनन् ।

रुकुमपश्चिम जिल्ला अदालतले २३ जनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि ती २३ जनाले उच्च अदालत सुर्खेतमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुकुमपश्चिमको आदेश बदर गरिपाऊँ भनी निवेदन दिए ।

त्यसमध्ये थप चार जनालाई धरौटीमा छोड्ने निर्णयका विषयमा न्यायाधीशको राय बाझियो । तेस्रो न्यायाधीशले पनि यस विषयमा बहस गर्दा त्यसभन्दा फरक राय आएपछि उक्त निवेदन अहिले सर्वोच्च अदालतमा प्रवेश गरेको छ ।

यस विषयमा पुस १७ गते बहस हुने भन्ने सुनेपछि मृतक ६ जनाकै आमाबुवा १६ गते दिउँसो एकाएक काठमाडौंतिर हान्निएका हुन् । उनीहरूले सर्वोच्च अदालतको बहस सुन्न पनि चाहेका थिए ।

तर ढिलो गरी काठमाडौं पुगेपछि र सर्वोच्च अदातलको बहसमा जान नपाइने भएको हुनाले पनि १६ गते काठमाडौं पुग्ने बित्तिकै माइतीघरमण्डलमा पुगेर धर्ना बसे ।

धर्ना, पत्रकारसम्मेलनदेखि प्रधानमन्त्री निवाससम्म

केही घण्टा धर्ना बसेलगत्तै जागरण मिडिया सेन्टरले युनियन हाउसमा गरेको अन्तरक्रियामा उनीहरू सहभागी भए । त्यहाँ पनि उनीहरूले आफ्नो कथा–व्यथा पत्रकार र सरोकारवाला सामु सुनाए । पत्रकारको प्रश्न र उनीहरूको पालो पालो जवाफले साँझ परिसकेको थियो । साँझ भने मृतक र घाइतेको तर्फबाट वकालत गर्दै आउनुभएका अधिवक्ता त्रिलोकचन्द्र विश्वासको सहयोगमा सुन्धारास्थित तेजमहल होटलमा बिताए । बिहानै उनीहरूलाई भेट्न हामी पुगेका थियौं ।

“के बोल्नु, जति बोले पनि जति भने पनि हामीले न्याय पाउन सक्दैनौं कि भन्ने चिन्ताले पिरोल्न थालेको छ । घटनाका विषयमा जे पायो त्यही लेखेर झन् हामीलाई पीडामाथि पीडा दिने काम पत्रकारबाट पनि भएको छ । अदालतले अहिलेसम्म हामीलाई बयानका लागि एकपटक पनि बोलाएको छैन । हामीलाई त परकै कुरा भयो, घाइते भएका १२ जनलाई समेत बयानका लागि बोलाएको छैन”, नवराजकी आमा उर्मिलाले आँशु झार्दै भनिन् ।

नवराजकी आमा मात्र होइन, बुवा पनि पत्रकारलाई त्यति सजिलै भेट्दैनन् । पत्रकार र क्यामेरा देख्यो भने पनि तर्सिन्छन् । किन भन्ने प्रश्नमा उनले भने, ‘के गर्ने पत्रकार पनि सबै एउटै कहाँ पो छन् र ! कोही एउटा कुरा लिएर अर्कै कुरा लेखिदिन्छन्, अर्कै बोलिदिन्छन् । जे छ त्यो भनिदिए पनि त हुन्थ्यो । झन् अर्कै कुरा गरेर घटनालाई नै अर्कैतिर मोड्ने काम भएको छ ।’

उनले अगाडि भने ‘यति मात्र कहाँ हो र कैयौंले हाम्रा छोरा मरेपछि कमाइखाने भाँडोका रूपमा यस घटनालाई बनाएका छन् । राजनीतिक दललाई पनि नारा लगाउने बाटो बनेको छ । जसले जे भने पनि जे गरे पनि न्याय पाइँदैन कि भन्ने चिन्ताले सताउन थालेको छ ।’

नवराजकी आमा मात्र होइन, बुवा पनि पत्रकारलाई त्यति सजिलै भेट्दैनन् । पत्रकार र क्यामेरा देख्यो भने पनि तर्सिन्छन् ।

कुराकानी गर्दागर्दै नवराजका बुवा मोहन बिक एकछिन मौन हुन्छन् । मन र आँखा रोएको प्रष्ट देखिए पनि आँशु झार्न भने रोके । आँखाको परेलीमै पुगेका आँशु पनि विस्तारै विलाउँछन् ।

एक छिन सम्हालिएपछि मलाई नै मोहनले प्रतिप्रश्न गर्दै भने– के हामीले न्याय पाऔंला त ? सरकार र अदालतले हामीलाई न्याय देला त ? के हाम्रा ६ सन्तानको आत्माले शान्ति पाउला त ? एकछिन ती प्रश्नले मलाई मौन बनायो । सिएफएल चिमले उज्यालो बनेको होटलको १०३ नम्बर कोठा पनि अँध्यारो देखियो । एकछिनको मौनता तोडियो । ती प्रश्नको जवाफ मसँग पनि त थिएन ।

किटानी जाहेरी परेर प्रहरीले पक्राउ गरेपछि अब त न्याय मिल्ला भन्ने आशा नवराजका आमा–बुवा मात्र नभई ६ जनाकै आमा–बुवामा थियो । तर जब जिल्ला अदालत रुकुमपश्चिमले ६ जनालाई विभिन्न कारणसहित थुनामुक्त गर्यो, त्यसपछि भने उनीहरूको मन अहिले वशमा छैन ।

यति कुराकानी गर्दा करीब ७ बजिसकेको थियो । १०३ नम्बर कोठामा हामी आएको जानकारी थिएन होला । भए पनि आउन्नथे होला । तर नवराजका बुवा मोहनले बोलाउन लगाएपछि भने होटलको तेस्रो तलामा रहेको ३०५ नम्बर कोठामा रात बिताएका नवराज बिककी आमा उर्मिला बिक, गोविन्द शाहीकी आमा भीमकुमारी शाही, सञ्जीव बिककी आमा सविता बिक र लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनार १०३ नम्बर कोठामै आए ।

पीडित भन्छन्ः योजनाकार छुटिसके, न्याय पाउनेमा विश्वास छैन

उनीहरू चारै जनालाई सोती काण्डको विषयमा खासै मुख खोल्न मन छैन । बोल्नै परे पनि त्यति खुलेर बोल्न चाहँदैनन् । ‘जति बोले पनि केही हुँदैन । हत्याको मुख्य योजना बुन्ने सुष्माकी आमा र सुष्मा नै छुटिसके । अब अरू त झन् के बाँकी रहलान् र !’ मौन र शिथिल भएर बोलिरहेकी नवराजकी आमा उर्मिला एकाएक आक्रोशित हुँदै भन्छिन्, ‘सरकार र अदालतले न्याय नदिए के भो त ! कसैले न्याय नदिए अन्तिममा म छु, नवराजको बुवा हुनुहुन्छ, हामी ६ जनाको घरपरिवार छौं । सबैजना बरु जेलमा जीवन बिताउँला हत्यारालाई बाँकी छोड्दैनौं ।’

प्रहरी प्रशासन, सांसद र कानूनलाई पनि हाम्रा छोरा मार्न लगाउनेले किनिसके भन्ने पनि हल्ला सुनेका छौं । प्रहरी प्रशासन पनि उनीहरूसँगै मिलेको छ भन्छन्, सांसद पनि उनीहरूकै पक्षमा बोलिरहेका छन्– भीमकुमारीले आक्रोश पोखिन् ।

‘सुष्मालाई नाबालक भनेर छोडेका हुन रे, उसको आमा प्रकाशी मल्ललाई पनि धरौटीमा छोडेको भन्ने सुनेकी छु । मेरो छोरासँग लभ गर्ने बेला, सँगै सुत्ने बेला, पेटमा बच्चा बोक्दासम्म नाबालक भएन, अनि अहिले सबै घरपरिवारलाई लगाएर हत्या गरेपछि नाबालक कसरी भए ? नाबालक भए पनि सुधार केन्द्रमा राख्ने कानूनी व्यवस्था छ भन्ने सुनेकी छु तर त्यो सुष्मा मल्ललाई त बालसुधार केन्द्रमा पनि राखिएको छैन । यस्तो पनि कानून हुन्छ र ? हामीलाई किन हेपेको कानूनले पनि ? के हामी गरीब र दलित भएकै कारण यस्तो गरिएको हो त ?’ गहभरी आँशु ल्याएर आक्रोशित हुँदै उर्मिलाले भनिन् ।

गोविन्द शाहीकी आमा भीमकुमारी शाही भने ‘साथीभाइको सङ्गतले आफूले छोरा गुमाउनुपरेको’ भन्दै एकाएक आक्रोशित भइन् ।

उनलाई अब अरू केही रहर छैन, एक मात्र दोषीलाई जन्मकैद भएको हेर्ने मन छ । ‘जसरी मैले मेरा छोराको रगताम्य लाश भेरी नदीबाट निकालें, त्यसरी नै हत्यारालाई जन्मकैदको फैसला भएर जेलबाट फर्किएको हेर्न मन छ ।”

प्रहरी प्रशासन, सांसद र कानूनलाई पनि हाम्रा छोरा मार्न लगाउनेले किनिसके भन्ने पनि हल्ला सुनेका छौं । प्रहरी प्रशासन पनि उनीहरूसँगै मिलेको छ भन्छन्, सांसद पनि उनीहरूकै पक्षमा बोलिरहेका छन्– भीमकुमारीले आक्रोश पोखिन् ।

सञ्जीवकी आमा सविता बिकलाई भने हत्यारा पक्राउ परेपछि अब कानूनले हदैसम्मको कारबाही गर्छ भनेर छोरो मारिएको चिन्ता कम हुँदै गएको थियो । तर जब ६ जना छुटेको खबर सुनिन्, यसले उनलाई झन् पीडा थपिदिएको छ । ‘के हत्यारालाई छुटाउने नै सरकारको नीति हो त ? उनीहरूले आफूले हत्या गरेको पनि स्वीकारिसकेका छन् । घाइते भएकाले पनि आँखाले नै देखेका छन् हत्या गरेको । तर अहिले ती हत्यारालाई नै सरकारले छुटायो’ सविताले भनिन् । उनी थप्छिन्, ‘८ महिना कुरिसक्यौं न्याय पाएका छैनौं । अझै हेरौं ढिलो भए पनि केही छैन तर न्याय पाउनुपर्यो । हाम्रा छोराका हत्यारालाई सकेसम्म मृत्युदण्ड दिनुपर्‍यो नभए आजीवन कारावास हुनुपर्‍यो । यत्ति हो हाम्रो माग अरू केही पनि चाहिंदैन ।”

उच्च अदालत सुर्खेतका विरुद्ध पीडकले आफूले तारेख तथा धरौटीमा रहेर मुद्दा लड्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा पनि निवेदन दिइसकेका छन् । यसै निवेदनमाथि पुस १७ गते सर्वोच्च अदालतमा बहस पनि भइसकेको छ ।

लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनारको भनाइ पनि अरूको भन्दा फरक छैन । ‘हत्याको योजनाकार प्रकाशी मल्ल र सुष्मा मल्ललाई थुनामुक्त गरेपछि मलाई अहिले न दिउँसो भोक लाग्छ न राति निद्रा । आठ महिना भइसक्यो आँखा ओभानो बस्न पाएका छैनन् । चाँडै फैसला भएको भए त हामीले यसरी दौडधुप गर्नुपर्ने थिएन । जे भए पनि चित्त बुझाएर बस्थ्याै‌ ।’

अरू न्याय नपाइने हो कि भनेर निराश भइरहेका बेला लक्ष्मी भने यस घटनाका विषयमा सबैको चासो देखिएकाले न्याय पाइन्छ नै भन्ने आशामा काठमाडौं आइपुगेको सुनाउँछिन् । उनी भन्छिन्, ‘मुख्य हत्या गरिएको घटनाको बहस पहिले हुनुको सट्टा विपक्षीको बहस अहिले भएको छ । यो कस्तो देश हो ? पीडितलाई पहिले न्याय दिनुको सट्टा हत्यारालाई न्याय दिन खोजिरहेका छन् ।’

१६ पुस काठमाडौं आइपुगेका सोती घटनामा हत्या भएका ६ जनाका आमा–बुवाको टोलीले दोस्रो दिन रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गरेर आफूहरूले न्याय पाउनुपर्ने माग गरेको छ भने तेस्रो दिन उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रम निवास बालुवाटारमा पुगेर भेटेको छ ।

भेटमा आफूले जुनसुकै हालतमा पनि न्याय पाउनुपर्ने माग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि न्याय दिलाउनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । तर प्रधानमन्त्रीको भनाइमा पनि उनीहरूको पूर्ण विश्वास भने छैन । दोस्रो दिनमा नै घर फर्किने तयारीमा काठमाडाै‌ आएका उनीहरूको तेस्रो दिन पनि काठमाडौंमा नै बितिसकेको छ ।

उच्च अदालत सुर्खेतका विरुद्ध पीडकले आफूले तारेख तथा धरौटीमा रहेर मुद्दा लड्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा पनि निवेदन दिइसकेका छन् । यसै निवेदनमाथि पुस १७ गते सर्वोच्च अदालतमा बहस पनि भइसकेको छ ।

पुस १७ गतेको सर्वोच्च अदालतमा भएको बहसमा सोती हत्याकाण्डका जे–जति सक्कल कागजात छन् ती सबै पेश गर्न सर्वोच्चले आदेश दिएको अधिवक्ता त्रिलोकचन्द्र विश्वासको भनाइ छ । जिल्ला अदालत रुकुमपश्चिम, उच्च अदालत सुर्खेतमा मात्र नभई सर्वोच्च अदालतमा समेत विश्वासले बहस गर्दै आएका छन् । उनका अनुसार सर्वोच्चले यस मुद्दासँगै जे–जति निवेदन परेका छन् ती सबैलाई एकै पटक सुनुवाइ गर्ने आदेश दिएको छ ।

विश्वाससहित सोती हत्याकाण्डमा पीडितको तर्फबाट बहस गर्दै आएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी घटनाका प्रत्यक्षदर्शी १२ जना घाइते जिउँदै रहेकाले पीडितकै पक्षमा फैसला हुने विश्वास गर्छन् ।

अमानवीय र क्रूर घटना भएकाले पीडकको पक्षमा फैसला भए न्याय नहुने उनको बुझाइ छ । ‘आशा गरौं पीडितले न्याय पाउनेछन्’ वरिष्ठ अधिवक्ता त्रिपाठी भन्छन् । उनका अनुसार अब करीब एक महीनाको सेरोफेरोमा प्रमाण पुगेपछि सर्वोच्च अदालतमा अर्को बहस हुनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालय रुकुमपश्चिमले गत जेठ ३२ गते वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनकी आमा, बुवा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो । सबैलाई ६ जनाको हत्या गरेको कसुरमा कर्तव्य ज्यान, १३ जनालाई घाइते बनाएको कसुरमा ज्यान मार्ने उद्योग र जातीय छुवाछूत सम्बन्धी कसुर अनुसार आजीवन कैद गर्न माग गरिएको थियो ।

यसरी भएको थियो घटना

गत जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिकाको वडा नम्बर ८ सोतीकी मल्ल थरकी १७ वर्षीया युवतीसँग प्रेमविवाह गर्न मनसुवाले जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज बिकसहित १९ जनाको टोली त्यसतर्फ गएको थियो । तर युवतीकी आमाले गाउँलेलाई गुहारेपछि उक्त घटना घटेको थियो । घटनामा नवराज बिक, गणेश बिक, सन्दीप बुढा, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीको मृत्यु भएको थियो । पीडित पक्षले उनीहरूलाई कुटी–कुटी हत्या गरेर भेरी नदीमा फालिएको आरोप लगाइरहेका छन् ।

पीडितले हत्यारालाई कडाभन्दा कडा कारबाहीको माग गरिरहेका बेला सरकारले भने पाँच महीना अघि नै मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने र घाइतेको उपचार गर्ने निर्णय गरेको थियो ।

संसदीय छानबिन समिति, सरकारी उच्चस्तरीय छानबिन समिति तथा अन्य विभिन्न तहबाट गठित समितिले उक्त घटना जातीय भेदभाव र सामूहिक हत्या भएको निष्कर्ष निकालिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर