तिलोत्तमाको रिङरोडमा रेल सञ्चालन हुने – Nepal Press
विकास निर्माण

तिलोत्तमाको रिङरोडमा रेल सञ्चालन हुने

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सञ्चालनको तयारी गरिएको छ । नगरपालिकाभित्रको ५२ किलोमिटर रिङरोडमा रेल सञ्चालनका लागि तयारी गरिएको हो ।

रेल सञ्चालनका लागि आइतबार तिलोत्तमा नगरपालिका चक्रपथ ट्राम रेल्वेकाे विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) सार्वजनिक गरिएको छ । तिलोत्तमा पब्लिक रेल्वे कम्पनीद्वारा ५२ किलोमिटर रिङरोडमा रेल सञ्चालन गरिने योजना बनाइएको छ ।

ट्राम रेल्वेको डीपीआर सार्वजनिक कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले पव्लिक शेयरमा सञ्चालन हुने रेलका लागि नगरपालिकाले सहयोग पुर्याउने प्रतिबद्धता जनाए ।

रेल्वे निर्माणमा आउने बाधा अड्चन फुकाउन र सक्दो आर्थिक सहयोग गर्न नगरपालिका तयार रहेको उनले बताए । उनले दुई वर्षभित्र योगिकुटीदेखि रोहिणी नदीको जलाशयसम्मको १४ किलोमिटर सडकमा रेल सञ्चालन हुने बताए । उनले कृषि र पर्यकटीय हिसाबमा रेल महत्वपूर्ण बन्ने उल्लेख गर्दै नागरिकले सेवा पाउने बताए ।

तिलोत्तमा पव्लिक रेल्वे कम्पनीका प्रबन्धक तथा नेपाल रेल्वे कम्पनी जनकपुरका पूर्व महाप्रबन्धक भोला शर्माले नगरपालिकाको समन्वयमा नगरपालिकाले भने अनुसार रेल्वे बनाएर रेल सञ्चालन गरिने बताए । रेल सञ्चालन भएपछि सडकमा कुनै अवरोध र कोलाहल पनि नहुने र वातावरणकमा कुनै असर नपर्ने उनले जानकारी गराए ।

ट्राम पर्यटकीय रेल भएकाले मानव वस्तीलाई कुनै अवरोध नहुने र सडकमा समस्या हुँदा ब्रेक लगाएर पनि यो रेल रोक्न सकिने उनले बताए । रेल सञ्चालनका लागि बाटो, पैसा र रेल कहाँबाट ल्याउने भन्ने प्रमुख समस्या भए पनि तिलोत्तमाका लागि कुनै समस्या नहुने उनले दावी गरे ।

तिलोत्तमा नगरपालिका २ का वडाध्यक्ष दधिराम गौतम, तिलोत्तमा पप्लिक रेल्वे कम्पनी लिमिटेडका उपाध्यक्ष हरि तिवारीले रेल सञ्चालनमा सबैको सहयोग र सल्लाह आवश्यक पर्नेमा जोड दिए ।

मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि दाङले रेल्वे निर्माणको ठेक्का पाएको छ । अबको ७, ८ महिनाभित्र डीपीआर सम्पन्न हुने बताइएको छ । प्रारम्भिक सर्वेक्षण गरी सकिएको रेल्वे निर्माण गरी रेल सञ्चालनका लागि अनुमानित ६, ७ अर्ब बजेट लाग्ने रेल्वे कम्पनीका अध्यक्ष बाबुराम अर्यालले जानकारी गराएका छन् । ५२ किलोमिटरको दूरीमा सञ्चालन गरिने रेलका लागि १७ वटा स्टेशन बनाइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर