राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेलाई कारबाहीको लागि मन्त्रिपरिषदमा कुरा उठाउँछु: मन्त्री महतो – Nepal Press

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेलाई कारबाहीको लागि मन्त्रिपरिषदमा कुरा उठाउँछु: मन्त्री महतो

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले सडकमा राष्ट्रपति विद्या देवी भण्डारी लक्षित अमर्यादित अभिव्यक्ति दिने व्यक्तिलाई कारवाहीका लागि आफुले मन्त्रिपरिषदमा कुरा उठाउने बताएकी छन् ।

उनले राष्ट्रप्रमुख माथि आएका त्यस्ता अमर्यादित अभिव्यक्तिले आफु पनि निकै दुखी भएको बताउँदै कानुनी कारवाहीका लागि पहल गर्ने प्रतिवद्धता जनाएकी छन् ।

आइतवार अखिल नेपाल महिलासंघको ज्ञापन बुझ्दै मन्त्री महतोले कारवाहीको प्रतिवद्धता जनाएकी हुन् । म यो विषय अब बस्ने मन्त्रिपरिषदमा विशेष महत्वका साथ राख्नेछु, उनले भनिन्, त्यस्ता व्यक्तिलाई कारवाही दिलाउने काममा मेरो चासो रहनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरे लगत्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजित भएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको समुहले माघ १४ गते आयोजना गरेको विरोध कार्यक्रममा सडकमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध अति नै निकृष्ट शब्द प्रयोग गर्दै नारावाजी भएको थियो । सरकार र राष्ट्र प्रमुखका विषयमा आएका अमर्यादित अभिव्यक्ति विरुद्ध अनेमसंघले कारवाहीको माग उठाउँदै आएको छ ।

यस अघि पत्रकार सम्मेलन गरेर त्यस्ता शब्द प्रयोग गर्दै नारावाजी गर्नेहरुलाई कारवाहीको माग राख्दै सरकारको ध्यानाकर्षण गराएको अनेमसंघले अहिले गृहमन्त्री, महिला बालबालिका मन्त्री लगायतलाई ज्ञापनपत्र बुझाएर कारवाहीको माग राख्दै आएको छ । आगामी दिनमा फेरी यस्ता गतिविधि दोहोरिन नदिन अन्य कानुनी बाटो अवलम्बन गर्ने समेत अनेमसंघले जनाएको छ ।

अनेमसंघका सचिवालय सदस्य सुजिता शाक्यले साइवर कानुन र अन्य अदालती प्रकृया अनुसार कारवाही कारवाही जान पनि कानुनविद्हरुसंग परामर्शमा रहेको बताएकी छन् । महिला बालबालिका मन्त्री महतोलाई ज्ञापनपत्र बुझाउँदै नेता शाक्यले यस्ता गम्भिर प्रकृतिका घटना फेरी हुन नदिन मन्त्रालयको तर्फवाट विशेष कदम चाल्न आग्रह गरिन् ।

मन्त्री महतोले यो घटनालाई आफुले गम्भिरताका साथ लिएको बताउँदै महिला विरुद्ध हुने यस्ता हिँसामा कानुन समेत फितलो रहेको बताइन् । उनले बलियो कानुन निर्माणका लागि पनि आफ्नो पहल हुने प्रतिवद्धता जनाएकी छन् । नेता शाक्यको अगुवाईमा पुगेको अनेमसंघको टोलीमा गोमा देवकोटा, शर्मिला कार्की लगायतका महिला नेताहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर