कम्युनिष्ट र चार्ली च्याप्लिन सम्बन्ध : ओलीले किन गरे ‘क्‍वाइन’ ? – Nepal Press

कम्युनिष्ट र चार्ली च्याप्लिन सम्बन्ध : ओलीले किन गरे ‘क्‍वाइन’ ?

विज्ञ भन्छन् –चार्लीको अन्डरडग कमेडी र इमेज नै ओलीको ऊर्जा

काठमाडौ । पुस १८ गते शनिवार काठमाडौं जिल्ला कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हलिउडका चर्चित अभिनेता चार्ली च्याप्लिनको कथा सुनाउँदै भने – हाम्रो अदालतले को हो असली चार्ली च्याप्लिन पत्ता लगाउँछ । जुँगा, कपालमा लगाएको जेल र कुम हल्लाइबाट पत्ता लगाउँछ ।’ ओलीको यो व्यंग्य नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित थियो ।

असली चार्ली च्याप्लिन को ? हेर्नुस् भिडियो

७ पुसमा ओली पक्षधरको युवाको भेलालाई जनकपुरधाममा सम्बोधन गर्दै नेता महेश बस्नेतले दाहाल र माधव नेपाललाई जोकरको संज्ञा दिंदै भनेका थिए–उनीहरुको अवस्था चार्ली च्याप्लिन र धुर्मुस–सुन्तली जस्तै भएको छ ।

नेकपा विभाजन र संसद विघटनको परिदृश्यपछि नेपाली राजनीतिको केन्द्रमा एउटा शब्द जबर्जस्ती ‘क्वाइन’ भैरहेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीदेखि उनी निकट नेताले प्रचण्ड–नेपाल पक्षलाई आरोप लगाउन यो शब्दावली प्रयोग गरिरहेका छन् ।

बीसौं शताब्दीका महान कमेडी अभिनेता च्याप्लिन र उनको सिनेम्याटिक दर्शन २१औं शताब्दीको नेपाली राजनीतिको केन्द्रमा प्रयोगमा आउनुले के अर्थ राख्छ ? त्यसमा पनि नेकपा विभाजनसँग चार्ली च्याप्लिनको सम्बन्ध कहाँ छ ?

च्याप्लिनको अन्डरडग कमेडी र उसको इमेजलाई ऊर्जाको रुपमा लिनुभयो । ओली किन पनि बढी प्रभावित हुनुहुन्छ भने अरु मान्छेलाई बुझाउनको लागि उखान टुक्का प्रयोग गर्नको लागि च्याप्लिनला बिम्बको रुपमा लिनुभयो । उहाँ च्याप्लिनबाटै प्रभावित हुनुहुँदो रैछ भन्ने कुरा प्रष्ट भयो ।

च्याप्लिनको व्यक्तित्वलाई लिएर नेपाली नेताले आफू अनुकूल व्याख्या गरिरहेका छन् । ओलीले दाहाल–नेपाल खेमालाई आरोप लगाउँदै उनीहरु नक्कली चार्ली च्याप्लिन भएको आरोप लगाए । नेता बस्नेतले विरोधी खेमा च्याप्लिन जस्तै बन्न थालेको भन्दै हलिउडका यी महान एक्टरलाई दुरुह बिम्बको रुपमा उल्लेख गरे । जर्मनीका फाँसीवादी शासक एडोल्फ हिटलर र उनको फाँसीवादलाई विरोध गर्ने च्याप्लिन कम्युनिष्टप्रति सहानुभूति राख्थे । तर, नेपालमा स्वयं कम्युनिष्टले कलामा साम्यवाद खोज्ने आइकनलाई अर्को समूहप्रति व्यंग्यमा प्रयोग गरेका छन् ।

‘कमेडियन र क्लाउनबीचको भेद नबुझ्दा यस्तो समस्या आएको आएको नेपाली अभिनेता दीपकराज गिरी बताउँछन् । ‘कमेडियनलाई उडाउने काम भएको छ । कमेडीभित्रको मर्म र सन्देशलाई नबुझ्दा नेताहरुले च्याप्लिनलाई गलतरुपमा प्रस्तुत गरिरहेका छन्’ उनले भने । नेपाली कमेडियनको नाम लिंदा गाली खाइने डरले अन्तर्राष्ट्रिय कमेडियनको नाम लिइएको हुनसक्ने उनले बताए । सबैले सम्मान गर्ने सेलिव्रिटीको गलत प्रस्तुतीकरणले स्वयं नेताप्रति जनताको विश्वास गुम्ने ठम्याइ उनको छ ।

को थिए चार्ली ?
विश्व फिल्ममा कमेडी विधा सुरुआत गर्ने श्रेय चार्ली च्याप्लिनलाई जान्छ । साइलेन्ट फिल्म युगका यी हस्तीलाई टाइम म्यागजिनले २० औं शताब्दीका महान एकसय व्यक्तिको सूचीमा राखेको थियो ।

‘द ट्रयाम्प’ नामक पात्रको माध्यमबाट उनले राजनीतिक पात्र, तानाशाह र विकृतिलाई कडा व्यंग्य गरे । सन् १९४० मा बनेको फिल्म ‘द ग्रेट डिक्ट्याटर’ उनको सबैभन्दा चर्चित फिल्म बन्यो जसले हिटलर र उनको फाँसीवादविरुद्ध व्यंग्य गरेको थियो । यही दशकबाट उनी विवादमा तानिए र उनको लोकप्रियता खस्कँदै गयो । कम्युनिजमप्रति सहानुभूति राखेको भन्दै उनीविरुद्ध आलोचना सुरु भयो । लगत्तै अमेरिकाबाट देश निकाला भएपछि उनी स्वीट्जरल्यान्ड बसाइँ सरे ।

सन् १९२१ को ‘द किड्’ उनको डेब्यु फिल्म थियो । अ वुमन अफ पेरिस (१९२३), द गोल्डेन रस (१९२५), द सर्कस (१९२८) उनका महान फिल्महरु थिए । फिल्ममा ध्वनिको प्रयोग नहुँदै स्टार बनेका च्याप्लिनको स्टाइल चाहिं ‘सल्यापस्टिक’ कमेडी दर्शनबाट प्रभावित थियो ।

भन्नुको अर्थ उनी शारीरिक क्रियाद्वारा हास्यरसको निर्माणमा माहिर थिए । यो शैलीको कमेडीले व्यक्तिको भित्र र बाहिर दुवै पक्षमा हुने हिंसाविरुद्ध व्यंग्य गर्छ । सन् १९९८ मा न्यूयोर्क टाइम्सका फिल्म समीक्षक एन्ड्रिउ सारिजले च्याप्लिनलाई निर्विवाद विश्व फिल्मका महान हस्ती र अहिलेसम्मकै युनिभर्सल आइकन भनेर लेखेका थिए । सन् १९९९ मा टाइम म्यागजिनले करोडौंलाई हाँसो दिएका भन्दै च्याप्लिनलाई शताब्दीकै सय महान व्यक्तिको रुपमा सूचीकृत गरेको थियो ।

फिल्म इतिहासकार मार्क कजिनले च्याप्लिनबारे लेखेका छन् : चार्लिनले फिल्मको स्वरुप मात्र बदलेनन्, बरु समाजशास्त्र र व्याकरणलाई परिवर्तन गरिदिए ।’ च्याप्लिनको फिल्म बुझाइ चाहिं विख्यात इटालेली निर्देशक फेडेरिको फेलेनीबाट प्रभावित थियो । फेलेनीले त च्याप्लिनलाई क्रिस्चियन धर्मका प्रथम पुरुष एडमकै एउटा रुप भएको टिप्पणी गरेका थिए । च्याप्लिनको यो फिल्म स्टाइलबाटै विश्वका अन्य फिल्ममा कमेडी जनराले हाँगा हालेको विश्वास गरिन्छ । अहिले पनि नेपालसहित बलिउडमा च्याप्लिन शैलीलाई फलो गर्नेहरु धेरै छन् ।

ओली चार्ली च्याप्लिनबाट प्रभावित
उसो भए प्रधानमन्त्री ओलीले कुन उद्देश्यले च्याप्लिनलाई उध्दृत गरे त ? फिल्म लेखक प्रदीप भारद्वाज भन्छन् : उहाँले एउटा बिम्बको रुपमा च्याप्लिनलाई प्रयोग गर्नुभएको हो । च्याप्लिनको चरित्रलाई उहाँले आफूभित्र लुकाउँदै गर्दा निस्किएको मात्र हो ।

प्रचण्ड–ओलीले एक अर्कालाई काउन्टर दिनको लागि च्याप्लिनलाई आफू अनुकूल व्याख्या गरेको भारद्वाजको विश्लेषण छ । ‘नेपाली नेताहरु जतिबेला जेल पर्नुभयो र संघर्ष गर्नुभयो । त्यो समयमा नेपालका कमेडियन यसरी प्रस्फुटित भएर आइसकेका थिएनन्’ उनी भन्छन्, ‘लेखकको रुपमा गोर्की पढ्नुभयो । कमेडियनको रुपमा च्याप्लिन पढ्नुभयो । उहाँहरुले आफ्नो संघर्षको समय बाहिरको मान्छेलाई पढ्नुभयो ।’

प्रदीप व्याख्या गर्दै भन्छन्–जसरी डान्सको रुपमा माइकल ज्याक्सनलाई चिनिन्छ । ड्रामा लेखकको रुपमा शेक्सपियरजस्तै संसारको मेटाफोरको रुपमा को अगाडि आउँछ भन्ने नियतमा च्याप्लिनलाई अगाडि ल्याइएको मात्र हो । च्याप्लिनको अन्डरडग कमेडी र उसको इमेजलाई ऊर्जाको रुपमा लिनुभयो । ओली किन पनि बढी प्रभावित हुनुहुन्छ भने अरु मान्छेलाई बुझाउनको लागि उखान टुक्का प्रयोग गर्नको लागि च्याप्लिनलाई बिम्बको रुपमा लिनुभयो । उहाँ च्याप्लिनबाटै प्रभावित हुनुहुँदो रैछ भन्ने कुरा प्रष्ट भयो ।

२०१९ को चर्चित हलिउड फिल्म ‘जोकर’मा एउटा बलियो डायलग छ : ‘कमेडी जहिल्यै सब्जेक्टिभ हुन्छ ।’ चार्ली च्याप्लिनको दर्शन पनि यही हो –व्यंग्यमार्फत एजेन्डामाथि प्रहार गर्ने । तर, नेपाली राजनीतिमा च्याप्लिन प्रयोग सब्जेक्टिभभन्दा अब्जेक्टिभ मामिलामा बढी ‘क्वाइन’ भैरहेको छ । चार्ली च्याप्लिन संसारलाई आफ्नो अमिट छाप छाडेर ४४ वर्षअघि बितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर