‘सरकारले हाम्रो माग पुरा गरेर याङ्ग्रीको पानी काठमाडौं लैजान्छ भन्नेमा हामी ढुक्क छौँ’ – Nepal Press

‘सरकारले हाम्रो माग पुरा गरेर याङ्ग्रीको पानी काठमाडौं लैजान्छ भन्नेमा हामी ढुक्क छौँ’

पाँचपोखरी थाङ्पाल गाउँपालिका नेपालको पुरानो प्रशासनिक विभाजनअनुसार मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत सिन्धुपाल्चोक जिल्लामा र हाल वाग्मती प्रदेशमा पर्छ । सो पालिकाको नाम प्रसिद्ध धार्मिक र पर्यटकीयस्थल पाँचपोखरीबाट बनेको हो ।

विसं २०७३ मा राज्यको पुनःसंरचनासँगै बनेको सो गाउँपालिकाका पूर्वमा जुगल र पश्चिममा हेलम्बु गाउँपालिका, उत्तरमा रसुवा र लाङ्टाङ राष्ट्रिय निकुञ्ज तथा दक्षिणमा मेलम्ची नगरपालिका पर्छन् । गाउँपालिका नामकरण भएको स्थल पाँचपोखरी वडा नं ३ भोताङको भौगोलिक क्षेत्रभित्रको राष्ट्रिय निकुञ्जमा पर्छ । पालिकाको कूल क्षेत्रफल १८७।२९ वर्ग किमी छ । समुद्री सतहबाट चार हजार १०० मिको उचाइमा पालिकाको उच्च भूभाग पाँचपोखरी पर्छ । नेपाल सरकारको निर्णयानुसार साविकका बाँसखर्क, बरुवा, भोताङ, थाङ्पालकोट, गुन्सा, थाङ्पालधाप, भोटेनाम्लाङ र लागर्चे गाविस समेटेर आठ वडाको पाँचपोखरी थाङ्पाल गाउँपालिका घोषणा गरिएको थियो ।

अहिलेसम्म समृद्ध पाँचपोखरी निर्माण गर्नका लागि भइरहेका काम, विकासनिर्माण अवस्थालगायत विविध विषयमा  गाउँपालिकाका अध्यक्ष टासी लामासँग गरेको अन्तर्वार्ताको अंशः

गाउँपालिकामा विकासनिर्माणको काम कसरी अगाडि बढ्दै छ ?

गाउँपालिका विकासनिर्माणको सवालमा हामी रणनीतिक योजनाका साथ अगाडि बढिरहेका छौंँ। सबै वडामा विकासनिर्माणका काम योजनामुताविक नै अगाडि बढाइरहेका छौँ । हिजो जनतासँग गरिएका कबुललाई नै प्राथमिकता दिएर हामी अगाडि बढिरहेका छौँ ।

वडाको कुरा गरिरहँदा कति वडामा प्रशासकीय कार्यालय बने, कति बन्न बाँकी छन्, के छ अवस्था ?

दुई वटा वडा कार्यालय बनिसकेका छन् । अरु वडा कार्यालय पनि तत्कालै बनाउनुपर्ने अवस्थाको छैन तर पनि हामी निकट भविष्यमा अरु तीन वटा वडा कार्यालय बनाउन लागिरहेका छाैँ । यस हिसाबले हेर्दा हामी वडा कार्यालय निर्माणलाई पनि अगाडि बढाइरहेका छौँ ।

कोरोनाले समग्र काममा क्षति पुर्‍यायो होला नि ?

कोरोना सङ्क्रमणको शुरुको चरणमा गाउँमा सन्त्रास थियो, चिन्ता थियो । मनमा एक किसिमको डर थियो । त्यसले गर्दा स्थानीय सरकारले अलि बढी जिम्मेवार भएर काम गर्न परेको थियो । क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन निर्माण गर्‍यौँ । कम्तीमा बाहिरबाट आउने मानिसलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्न लगायौँ, गाउँगाउँका नागरिकलाई पनि हामीले सचेत रहन र धेरै नआत्तिन आग्रह गर्‍यौँ । वडावडाका स्वास्थ्यचौकीलाई २४ घण्टै तयारी अवस्थामा बस्न भनेका थियौँ र एम्बुलेन्सबाट पनि हामीले जनतालाई सेवा दियाैँ । नागरिक कसैलाई पनि समस्या नपरोस् भनेर स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर हामीले काम गर्र्यौं  ।

चुनावका बेला बोलेका कुराहरुको लेखाजोखा गर्ने गर्नु भएको छ कि छैन ?

चुनावका बेला हामीले धेरै ठूला कुरा गरेनाै । आमनागरिकका बीचमा हामीले विशेष गरी सबै वडामा विद्युत् पुर्‍याउँछौँ, काठको खम्बा विस्थापन गर्छौं भनेका थियौँ । अहिले सबैतिर काठको पोल हटाइसकेका छौँ, स्टिलको खम्बा हालेका छौँ । विद्युत् नपुगेको ठाउँमा पुर्‍याउने काम भइरहेको छ । मुख्य सडकलाई बाहै्र महिना सञ्चालन गर्नका लागि काम भइरहेको छ । हामीले जनताका बीचमा बोलेका कुरामा नै प्राथमिकताका साथ काम गरिरहेका छौँ ।

मोटरबाटो, खानेपानी, सिँचाइको अवस्था चाहिँ कस्तो छ ?

विशेषगरी आममानिसमा विकासनिर्माण भन्नेबित्तिकै बाटो भन्ने बुझाइ छ तर हामी त्यो ठान्दैना्रै। विकासका विभिन्न पाटा छन् । ती पाटामध्ये कम्तीमा मानव विकास सूचकाङ्कमा पछाडि परेको हाम्रो गाउँपालिका हिमाली क्षेत्रमा पनि पर्ने भएकाले हामीले विशेषगरी शिक्षालाई प्राथमिकता दिएका छौँ । स्वास्थ्यलाई महत्वका साथ हेरेका छाैँ । पर्यटनलाई हामीले मूलमन्त्रका रुपमा अगाडि बढाएका छौँ किनभने हाम्रो गाउँपालिका पर्यटनको अथाह सम्भावना भएको, धार्मिक, सांस्कृतिक पर्यटन हरेक हिसाबले सम्भावना नै सम्भावना भएकाले गर्दा हाम्रो गाउँपालिका पर्यटनको भण्डार नै हो ।

जनताको आर्थिक जीवनस्तरलाई कायापलट गर्न सकिन्छ भन्ने उद्देश्यले कृषि, खेलकूद, भूकम्पबाट तहसनहस भएका भौतिक संरचना निर्माणका लागि हामीले तीव्र अभियान सञ्चालन गर्‍यौंँ । अहिले प्रायःजसो निजी आवास निर्माण सम्पन्न भइसकेका छन् । कतिपय अझै गुनासो रहेकाले त्यसलाई पनि छिटो सुल्झाउन प्रयास भइरहेको छ । मुख्य सडकलाई ११ मिटर र सहायक सडक सात मिटरका दरले कटिङ भइरहेको छ । दुई वटा सडकलाई पर्यटन सडक घोषणा गरेर काम भइरहेको छ । हाम्रो १ नम्बर वडाबाट प्रवेशपछि सबै वडा हुँदै ८ नम्बर वडाबाट निस्कन मिल्ने गरी सडक निर्माण गरिएको छ । चक्रपथको काम पनि अगाडि बढिरहेको छ ।

पर्यटकीय क्षेत्रको पहिचान र प्रर्वद्धन गर्ने कामचाहिँ कत्तिको गुर्नभएको छ ?

पर्यटनको कुरा गर्ने हो भने हाम्रो गाउँपालिका नमूना गाउँपालिका जस्तो लाग्छ । सङ्घीय सरकारमा नेपाल पर्यटन बोर्ड भनेजस्तै हामीले पनि हाम्रो गाउँपालिकामा पर्यटन समिति गठन गरेका छौँ । हाम्रो गाउँपालिकाको पर्यटकीय क्षेत्रको जिपिएस म्यापिङ ट्याप गरेर संसारभरिका मानिसलाई सहयोग होस् भनेर काम गरिरहेका छाैँ । मोबाइल एप्स बनाउने काम भइरहेको छ । कतिपय हिमालको नामकरण भएका छैनन् । भर्खरै हामीले पाँचपोखरी पिक र युवा पिक भनेर नामकरण गरेका छाै‌ । त्यहाँ पुगेर आएको अध्ययन भ्रमण टोलीलाई हामीले सम्मान पनि ग¥यौँ । अब उहाँहरुकै सल्लाहसुझावका आधारमा हामी अन्य काम अगाडि बढाउनेछौँ । यति अथाह सम्भावना भएको पर्यटनको भण्डार हाम्रो गाउँपालिकामा सरकारले घोषणा गरेको घुम्नलायक १०० गन्तव्यमध्ये सिन्धुपाल्चोकमा मात्र १६ वटा राख्न सफल भयौँ । पाँचपोखरीमा पर्यटकीयस्थल छन् र हामीले त्यसको प्रचार गरिरहेका छौँ । आन्तरिक तथा बाह्य पर्यटक धेरैभन्दा धेरै भित्रिन थालेका छन्, पाँचपोखरी पर्यटकको केन्द्र बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।

याङ्ग्री र लार्केको पानी काठमाडौँ लैजाने तयारी भइरहेको छ । उता मेलम्ची खानेपानी आयोजनाबाट पीडित भएकाले चरणबद्ध आन्दोलन गरिरहेका छन् । तपाईहरुको चाहिँ माग के छ ?

मेलम्चीबाट दैनिक १७ करोड लिटर तथा याङ्ग्री र लार्केबाट दैनिक ३४ करोड लिटर पानी काठमाडौँ जान्छ । हामीले यति ठूलो आयोजनालाई साथ दिएपछि अब यहाँका मानिसलाई साथ नदिई, जीवनस्तर उकास्नका लागि कुनै प्रयास नगरी यहाँको विकासनिर्माणको काम नगरी काठमाडौँ पानी लैजाने मात्र भनेर त हुँदैन । त्यहाँको विकासनिर्माण र जनताको आयआर्जनसँग जोडेर हामीले कुराकानी गरिरहेका छाैँ । त्यस हिसाबले पानी पथान्तरणभन्दा प्रारम्भिक चरणमा हुनुपर्ने चिज, जनताले पाउनुपर्ने सेवासुविधा, कानूनले दिएको अधिकार सुनिश्चित हुनुप¥यो अनि मात्र पानी लैजान पाइयो, त्यसै लैजान कहाँ पाइन्छ ? त्यतिमात्र हैन पथान्तरणपछि पनि यहाँका जनताले पाउने सेवासुविधा, विकासनिर्माणको काम जति पनि छ, ती सबै कानूनतः सुनिश्चित हुनुपर्‍यो अनि मात्र पानी लैजाने कुरा गर्न पाइयो नि ! यी सबै विषयमा सरकारले साथ दिन्छ र हाम्रो चाहना पूरा गरेर मात्र सरकाले पानी लैजान्छ भन्नेमा हामी ढुक्क छौँ ।

तपाईले देख्नुभएको पाँचपोखरीको सपना चाहिँ कस्तो छ ?

हिमालैहिमालले घेरिएको काठमाडौंबाट नजीकै रहेको हाम्रो गाउँपालिका पर्यटनको अत्यन्त सम्भावना र भण्डार भएको गाउँपालिका हो । यहाँका जनजीवनलाई पर्यटनसँग जोडेर कृषि, पशु, व्यवसायलाई आधुनिक हिसाबमा विकास गर्दै अगाडि बढ्ने योजनामा छाैँ र त्यसैअनुसार काम पनि भइरहेको छ । त्यसैले गाउँपालिकालाई देशकै विशिष्ट गाउँपालिकाका रुपमा विकास गर्ने उद्देश्यका साथ काम भइरहेका छन् । प्रकृतिले पनि साथ दिएको छ, जनताले पनि साथ दिएको छ र राजधानीबाट अत्यन्तै नजीक छ । हामी पर्यटकीय हिसाबले विकास गरेर अगाडि बढ्न सक्छौँ र समृद्ध गाउँपालिका बनाउन सक्छौँ भन्ने लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *