डोरमणिविरुद्ध अविश्वास प्रस्तावः तीन सांसदको हस्ताक्षर फिर्ता – Nepal Press
वागमती प्रदेश

डोरमणिविरुद्ध अविश्वास प्रस्तावः तीन सांसदको हस्ताक्षर फिर्ता

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका तीन सांसदले आफ्नो समर्थन फिर्ता लिएका छन् । उनीहरुले मुख्यमन्त्री कार्यालय र प्रदेशसभा सचिवालयमा आफ्नो हस्ताक्षर फिर्ता लिएको जानकारी दिएका छन् ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित प्रकाश श्रेष्ठ, काठमाडौं १० की रमा आलेमगर र चितवनका कृष्ण भुर्तेलले हस्ताक्षर फिर्ता लिएको स्रोतले जनाएको छ ।

नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले गतसाता मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाका ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको थियो । अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन अविश्वास प्रस्ताव दर्ता गराइएको छ । प्रचण्ड–माधव पक्षले दलको नेतासमेत अष्टलक्ष्मीलाई चयन गरिसकेको छ ।

हस्ताक्षर फिर्ता लिनेमध्येकी एक सांसद रमा आलेमगरले आफूले सोच विचार गर्दा प्रधानमन्त्री केपी ओलीले चालेको कदम नै सही लागेकाले अविश्वास प्रस्तावको पक्षमा नरहेको बताइन् । उनी र प्रकाश श्रेष्ठ ओली पक्षीय नेकपाको केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

११० सदस्यीय वागमती प्रदेशसभामा नेकपाका ८० सांसद छन् । ४५ मध्ये तीन जनाले हस्ताक्षर फिर्ता लिएपछि प्रचण्ड–माधव पक्षमा ४२ सांसद रहेका छन् भने ओली पक्षमा सभामुख सानुकमार श्रेष्ठसहित ३८ जना देखिएका छन् ।

केही सांसद अझै ढुलमुलमा छन् । डोरमणि पक्षले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने अरु केही सांसद आफ्नो पक्षमा आउने दाबी गरेको छ । तर अष्टलक्ष्मी पक्षले अविश्वास प्रस्ताव पास हुने र ओली पक्षका सांसद आफ्नो पक्षमा आउने दाबी गरेको छ ।

अविश्वास प्रस्ताव पारित हुन ५६ जना सांसदले प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ । प्रचण्ड–माधव पक्ष एक्लैले अविश्वास प्रस्ताव पारित गर्न संख्या पुग्दैन । यदि कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेन वा तटस्थ बस्यो भने डोरमणि पौडेलको पद जोगिन सक्छ ।

तर उनले दल विभाजन भएर अल्पमतमा परेकाले विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसको साथ चाहिन्छ ।

कांग्रेसले अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा मुख खोलेको छैन । दुवै पक्ष कांग्रेसको प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसँग संवादमा छन् । बानियाँले भने पार्टी केन्द्रको निर्देशन विना कुनै कदम नचाल्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर