पर्यटक पर्खिरहेको हेलम्बु (फोटो फिचर) – Nepal Press
पर्यटक पर्खिरहेको हेलम्बु (फोटो फिचर)
शर्मिला पण्डित २०७७ पुष १८ गते ९:१३
२०७७ पुष १८ गते ९:१३

हेलम्बु । अधिकांश स्थानीय तहमा यतिबेला पर्यटकलाई आकर्षण गर्न भन्दै ‘भ्यूटावर’ बनाउने होडबाजी चलेको छ । यस्ता टावर ठड्याउन सके मात्रै पर्यटकको ओइरो लाग्छ भन्ने भ्रममा रहेका स्थानीय तहले पनि अरू क्षेत्रको लागि छुट्याएको बजेट यसैमा खन्याउन थालेका छन् ।

पर्यटन क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ ? भन्ने खालका योजनाहरू ल्याउन स्थानीय तह तत्पर भएका देखिंदैनन् । तर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका यस मामलामा अपवाद बनेको छ । पर्यटन क्षेत्रलाई थप उकास्नका लागि भ्यूटावर भन्दा पृथक सोच बनाएको छ, हेलम्बु गाउँपालिकाले ।


काठमाडौं उपत्यकावासी मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकका लागि हेलम्बुले उत्कृष्ट गन्तव्य बनाउन विभिन्न खालका प्याकेजहरू ल्याउँदैछ ।

पछिल्लो समयको ट्रेन्ड हेर्ने हो भने नेपालीहरू घुमफिरमा बढी रमाउन थालेका छन् । परिवारका सदस्यदेखि साथीभाइसँग लामो तथा छोटो यात्रामा निस्कन थालेका छन् ।

कोभिडको कारण लामो समय घरभित्रै थुनिन पर्दाको उकुसमुकुसबाट निस्कन पनि नयाँ ठाउँको खोजी गर्न थालेका छन् । छोटो समयकै लागि भए पनि घुम्ने परिपाटी विस्तारै बढ्न थालेको छ ।

यही मौकालाई सदुपयोग गर्न गाउँपालिकाले हिमालयन ग्रेट ट्रेल, बञ्जीजम्प, पाराग्लाइडिङ, ट्रेकिङदेखि हाइकिङ रुटसम्म विस्तार गर्दैछ ।

काठमाडौंबाट एक दिनदेखि एक हप्तासम्मको लागि टुर प्याकेज तयार पारेर आन्तरिक पर्यटक भित्र्याउने ध्येयमा छ, हेलम्बु । काठमाडौंबाट नजिकको ठाउँ घुम्नको लागि यतिबेला हेलम्बु उत्कृष्ट गन्तव्य बन्न सक्छ । उपत्यकावासीलाई मात्र होइन देशैभरबाट आन्तरिक पर्यटक ल्याउने तयारीमा जुटिरहेको छ, हेलम्बु गाउँपालिका ।

हुन त हेलम्बुलाई पर्यटन क्षेत्रको रूपमा चिनिएको लामो समय भइसक्यो । तर विदेशी पर्यटकको रोजाइमा मात्रै परेकाले हेलम्बु गाउँपालिकाले आन्तरिक पर्यटक ल्याउनको लागि पहल थालेको हो ।


काठमाडौंबाट नजिकै भएर पनि आन्तरिक पर्यटकलाई तान्न नसकेपछि गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आफैं जुटिरहेका छन् ।

यसअघि अधिकांश विदेशी पर्यटकले मात्रै धानेको हेलम्बुको पर्यटन क्षेत्र कोभिडको कारण माथि उकास्न नसक्ने भएपछि गाउँपालिकाले आन्तरिक पर्यटक भित्र्याउन विभिन्न खालका योजनाहरू ल्याउन पहल भइरहेको छ ।

पर्यटकीय सम्भावना बोकेको हेलम्बु आन्तरिक पर्यटकको रोजाइमा खासै पर्न नसक्नुको कारण गलत बुझाइ र आन्तरिक पर्यटकको लागि प्रचारप्रचार नहुनु रहेको अध्यक्ष निमाको बुझाइ छ । तर त्यही नजिक रहेको काठमाडौंवासीको नजर पोखरा, चितवन, इलामलगायतका ठाउँमा मात्रै पर्यो ।

अब पोखरा र चितवनको विकल्प हेलम्बुमा किन नदिने त भन्ने सोचाइ साथ हेलम्बु गाउँपालिका अघि बढ्यो । घुम्न रुचाउनेहरूलाई हेलम्बु भनेको सोलुखुम्बु भन्दा पनि टाढा होला भन्ने भ्रमले पनि आन्तरिक पर्यटकको रोजाइमा नपरेको अध्यक्ष निमा बताउँछन् । काठमाडौंबाट हेलम्बु केवल डेढ–दुई घण्टाको बाटो हो ।

काठमाडौं उपत्यकामा ५० देखि ५५ लाख मानिसको बसोबास छ । ५० लाख जनसंख्यालाई एक दिनको लागि नजिकको गन्तव्यमा कहीं घुम्न जाउँ भनेदेखि त्यो गन्तव्य कहीं नदेखेको गुनासोलाई सम्बोधन गर्न खोजेको उनी बताउँछन् ।

कतिचोटि नगरकोट जानु ? कतिपटक धुलिखेल जानु ? त्योभन्दा विकल्पको कहीं छैन । त्यसको विकल्पको लागि हेलम्बुलाई लिनुपर्छ भनेर हेलम्बुले टार्गेट गरेको छ । अब हेलम्बु ग्रेट ट्रेलमा केही हप्तामा हिउँ पर्न शुरु हुन्छ ।

हिउँ पर्ने वित्तिकै काठमाडौं उपत्यकाको जनसंख्याबाटै केही आन्तरिक पर्यटकहरू घुम्न आउने अनुमान गाउँपालिकाको छ । गाउँपालिकाका मेयर निमाले सोचेका छन् कि हिउँ परेको समयमा घुम्न आएका पर्यटकले सामाजिक सञ्जालमा फोटो राख्छन् । र त्यही फोटो देखेर आकर्षित भएकाहरू आफ्नो परिवार र साथीसँग एकचोटि त्यो हेलम्बु ग्रेट ट्रेलमा पुग्नेमा आशावादी छन् ।

उनले आफ्नो योजना सुनाए, ‘हामीले २५ लाख मान्छे यहाँ ल्याउन सक्ने हो भने, हाम्रो गाउँपालिकामा रहेका २० हजार जनसंख्या मध्ये एक जनाको भागमा एक लाख मान्छे पर्छन् । यसले यहाँका मानिसको आर्थिक स्थितिमा धेरै सुधार आउँछ । त्यसैले यसलाई हामीले धेरै जोड दिनुपर्छ ।’

पोखरा, चितवन जस्तै पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिने ठाउँ हो, हेलम्बु ।

ग्रेट ट्रेल हेर्न, हिमालको दृश्यावलोकन गर्न, हाइकिङ गर्न मात्र नभई आन्तरिक पर्यटकहरूले हेलम्बुमा रहेको पाल्चोक, जयवागेश्वरी मन्दिर दर्शन गर्न पनि सक्नेछन् । त्यति मात्र होइन बुद्धिष्टहरूको लागि गुरु रिन्पोछेले तपस्या गरेका ठाउँ छन् यहीं । पुराना ६० वटा गुम्बाहरू पनि छन् । गुम्बाको अध्ययन गर्न पनि सकिने अध्यक्ष निमाको भनाइ छ ।

हुन त हेलम्बु पर्यटनको क्षेत्रको रूपमा पहिलेदेखि नै चिनिएको ठाउँ हो । नेपालमा ट्रेकिङको सुरुआत नै हेलम्बुबाट गरिएको भनिन्छ । तर पछिल्लो अवस्थामा के भइदियो भने ठाउँठाउँमा मोटरबाटो खुल्यो । मोटरबाटो पुगेपछि ट्रेकिङलाई प्रभावित पार्यो । यसको असर पर्यटन क्षेत्रमा पनि पर्यो, सडक पुगेको ठाउँमा पर्यटकहरू आउने क्रममा क्रमशः कम हुँदै गयो ।

चर्चित ट्रेकिङ रुटलाई २०७२ को भूकम्पले पनि असर पार्यो । भूकम्पले होटल, निजी घरहरू सबै भत्कायो ।

त्यति मात्र होइन हेलम्बुलाई गुम्बाहरूको नगरपालिका भनेर पनि चिनिन्छ । तर ती सबै भत्के । र, बल्ल धेरै वर्षपछि बन्ने क्रममा छन् । निजी घरहरू अन्तिम चरणमा छन् । ट्रेकिङ रुटहरू अझै बनिसकेको छैन र त्यसले पनि पर्यटन क्षेत्रमा निकै ह्रास आएको छ ।

पहिलेको रुटहरूमा मोटरबाटो पुगिसक्यो । यसको विकल्पमा पर्यटकहरूलाई आकर्षित गर्न अन्य ठाउँहरू पनि निर्माण गर्नुपर्छ भनेर गाउँपालिकामा ६० किलोमिटर लामो चीनको ग्रेटवाल जस्तै ‘हेलम्बु ग्रेट ट्रेल’ निर्माण अगाडि बढ्यो ।

६० किलोमिटर लामो चीनको ग्रेटवालकै मापदण्डमा निर्माण शुरू भइसकेको छ । ३०० मिटर बनिसक्यो यस साल दुई किलोमिटर निर्माण सम्पन्न हुनेछ । र, त्यसको लागत झण्डै साढे ४ अर्ब रहेको छ । ग्रेट ट्रेल निर्माण सम्पन्न नहुँदै आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको छ । यसले पनि थप उत्साह थपेको छ ।

गाउँपालिकाले सुरुआत गर्यो । यसको लागि चाहिने बजेट गाउँपालिकाले संघीय र प्रदेश सरकारसँग मागेको छ । ४ अर्ब बजेट गाउँपालिकाको पाँच वर्षको बजेटले पनि पुग्दैन भनेर निर्माण थालनी नै गरिएन भने त्यो पैसा एकैचोटि जुट्दैन भनेर नगरपालिकाले योजनालाई रोकेन । त्यसका लागि सुरुआत गाउँपालिकाले नै गर्दै जाने भनेर अहिले त्यो प्रोजेक्टमा प्रदेश सरकारले पनि पैसा हालिराखेको छ । यो हेलम्बु गाउँपालिकाको महत्वाकांक्षी प्रोजेक्ट हो ।


हिमालयन ग्रेट ट्रेल भनेर गाउँपालिकालाई ४ अर्बको प्रोजेक्ट भनेको ठूलो हो । यो निर्माण सम्पन्न भएपछि हेलम्बुको मात्र नभएर नेपालको लागि चीन पछाडिको यति ठूलो र यतिको उँचाइमा बनेको कहाँ छ ? भनेर खोजी भयो भने नेपालमा छ भन्ने गर्वका साथ भन्न पाउनेछन् ।

त्यससँगै यो हेलम्बु ग्रेट ट्रेलको राम्रो पक्ष चीनको ग्रेटवालबाट हिमालहरू देखिंदैन । हेलम्बु गे्रट ट्रेलबाट ६० किलोमिटर फन्को मार्दा ८० प्रतिशत हिमाल अवलोकन गर्न सकिन्छ । ग्रेट ट्रेलबाट नै हिमाल देखिने भएपछि माउन्टेन फ्लाइट गर्नु नपर्ने उद्देश्यले नै यसको निर्माण गरिएको हो ।

ग्रेट ट्रेलले धेरै धार्मिक क्षेत्रलाई समेत समेट्छ । हेलम्बुको ग्रेट ट्रेलबाट एकैपटक पाल्चोक, जयवागेश्वरी, गोसाइँकुण्ड, आमायाङ्ग्री तथा बौद्ध धर्मावलम्बीहरूका गुरु रिन्पोछेले तपस्या गरेको ठाउँको पनि अवलोकन गर्न सकिन्छ ।

६० किलोमिटर राउण्ड मार्दा हेलम्बु गाउँपालिका पूरै परिक्रमा हुन्छ । यसबाट हेलम्बु गाउँपालिकाभित्रको पर्यटकीय क्षेत्रमा विदेशी पर्यटक मात्र नभएर आन्तरिक पर्यटकले पनि ठूलो योगदान पुग्ने अपेक्षा गाउँपालिकाले गरेको छ । अहिले नै आन्तरिक पर्यटकहरूको भीड बढ्न थालेको छ । त्यति मात्र होइन राजधानीवासीलाई पानी खुवाउने मेलम्ची खानेपानीको मुहान नै त्यही छ ।

हेलम्बु पुगेपछि रसुवाको लाङटाङ ट्रेकिङ गर्न चाहने पर्यटकको लागि पनि हेलम्बुको दुई ठाउँबाट लाङटाङ जोड्ने ट्रेलहरू धमाधम निर्माण भइराखेको छ ।

एउटा ट्रेल चाहिं हेलम्बु काङसालाङ भएर लाङटाङ पुग्ने अर्को चाहिं सेलिसाङ पास भएर लाङटाङ पुग्ने रुट बन्दैछ । सेलिसाङ भएर लाङटाङ पुग्ने रुट यस वर्ष नै सकिन्छ । त्यसपछि पर्यटकहरूको आवतजावत शुरु हुनेछ । त्यो सँगसँगै आन्तरिक पर्यटकको यात्रालाई लामो बनाउन र हेलम्बुमै बञ्जी जम्पको मज्जा लिन हेलम्बु गाउँपालिका–१ चर्काथलीमा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण भइरहेको छ । पुलको गहिराइ १७३ मिटर छ ।

अध्यक्ष निमा भन्छन्, ‘त्यसमा हामीले बञ्जी जम्प गराउने भनेर तयारी थाल्दैछाै‌। पुलको निर्माण यो वर्षभित्र सकिन्छ । त्यसको लागि गाउँपालिकाले डीपीआर गरेर प्रदेशको बजेटमा आयोजना समावेश गरेर निर्माण हँुदैछ । झोलुङ्गे पुलको काम यसै वर्ष सकिनेवित्तिकै बञ्जी जम्पका लागि प्राइभेट सेक्टरसँग पहल थालिसकेको छ ।

त्यो सँगसँगै गाउँपालिका अर्को मौकालाई गुमाउन चाहँदैन । पोखरामा अन्तर्राष्ट्रिय एअरपोर्ट बन्नेवितिकै सराङकोटको पाराग्लाइडिङ चलाउन मिल्दैन । फेरि पाराग्लाइडिङ गर्नेहरूले त कहीं न कहीं ठाउँ खोजिहाल्छन् ।

सराङकोटको विकल्पमा हेलम्बुमा पाराग्लाइडिङ गराएर पर्यटक ल्याउने लक्ष्य राखेको हेलम्बुले घोप्टेघ्याङको २२०० मिटर उँचाइबाट पाराग्लाइडिङको परीक्षण गर्यो । परीक्षण सफल पनि भयो । अध्यक्ष निमा उत्साही हुँदै थप्छन्, ‘त्यहाँ हामीले छिटो भन्दा छिटो पाराग्लाइडिङ औपचारिक रूपमा शुरू गर्न प्राइभेट सेक्टरको टोलीलाई भनिसकेका छौं ।’

हेलम्बुमा केही छैन भन्नेहरूको लागि सम्पूर्ण चिजहरूलाई प्याकेजको रूपमा लिएर जाने गाउँपालिकाको तयारी छ । अध्यक्ष शेर्पाले पर्यटन क्षेत्रलाई अगाडि बढाउन विकासको कामलाई पनि सँगसँगै लगेका छन् ।

उनी भन्छन्, ‘मुख्य सडकहरूमा बाहै्र महिना गाडी चल्दैन । हिउँदको समयमा मात्र गाडी चल्छ । बर्खामा गाडी नै चल्दैन । हामीले चुनावको बेला पनि भनेका थियौं । धेरैले चुनावको बेला धेरै भाषण गर्छन् तर पछि सब बिर्सिन्छन् । तर म त्यस्तो गर्दिनँ । किनभने हामीले चुनावको बेला बोलेका थियौं, मुख्य सडकहरूमा १२ महिना गाडी चल्ने बनाउँछौं भनेर ।’

पहिले भइरहेका मोटरबाटोहरू एकदमै साना र प्राविधिक सर्भे विना नै बनाइएका थिए । ‘हेलम्बुमा पर्यटकहरू बढाउने भन्ने अनि सडक चाहिं सानो भएर हुन्छ त ? त्यसैले सबै सडकहरू ९ देखि १० मिटर बढाएर विस्तार गरिराखेका छौं’, उनी भन्छन् ।

उनले सुनाए, ‘यो काम अन्तिम चरणमा पुगेको छ । सोलिङ गर्नेदेखि नाली खोलेर बर्खामा पनि चलाउन मिल्ने गरी बनाइएको छ । अब हाम्रो एक–डेढ वर्ष मात्रै बाँकी छ । त्यो बेला बोलेको कुराहरू पूरा गर्नुपर्यो भनेर लागिपरेका छौं ।’

 

तस्विर सौजन्य:  हेलम्बु गाउँपालिका