सरकारी गाडीमा मनलाग्दी, किन्न भन्दा मर्मतमा खर्च बढी – Nepal Press
कर्णाली प्रदेश

सरकारी गाडीमा मनलाग्दी, किन्न भन्दा मर्मतमा खर्च बढी

सुर्खेत । कर्णाली प्रदेशसभामा ४० जना सदस्य छन् । यसमध्ये हाल मुख्यमन्त्रीसहित ६ जना मन्त्री छन् । बाँकी ३३ जनामा प्रदेशसभाबाट ११ जनाले गाडी सुविधा पाउँदै आएका छन् ।

प्रदेशसभाबाट गाडी सुविधा पाउनेहरूमा सभामुख, उपसभामुख दुई जना, प्रमुख प्रतिपक्षी दलका नेता, उक्त दलका सचेतक दुई जना र सत्तारुढ नेकपाका प्रमुख सचेतक, सचेतक दुई जना छन् ।

प्रदेशसभामा चार वटा संसदीय समिति छन् । गएको साउन भन्दा पहिले सत्तारुढ दलकै एक नेताले प्रमुख प्रतिपक्षी दलको नेतको रूपमा सेवा–सुविधा लिंदै आएका थिए ।

यीसहित प्रदेशसभामा सवारी साधन प्राप्त गर्ने संसदहरूको संख्या ११ पुगेको छ । ११ मध्ये प्रदेशसभा सदस्य यामलाल कँडेलले साउनबाट सेवा–सुविधा नलिने घोषणा गरेका छन् । हाल प्रदेशसभामा दशवटा गाडी सांसदहरूले प्रयोग गर्दै आइरहेका छन् ।

सुविधाका नाउँमा पाएका सवारी साधनलाई सांसदहरूले निजी सवारी साधन जस्तै बनाएर जुनसुकै समय अनावश्यक रूपमा र मनपरी ढंगले चलाइरहेका छन् । प्रदेशसभा सचिवालयका एक कर्मचारी भन्छन्, ‘हामीले सांसदहरूलाई नियम सिकाउनै मिलेन । केही सुझाव दिए बढी जान्ने भएको भन्दै हपार्न आउँछन् ।’

उनी भन्छन्, ‘समितिको काम भएको अवस्थामा गाडी प्रयोग गर्नु स्वाभाविक भए पनि निजी कामका लागि, पार्टी कार्यक्रमका लागि भनेर गाडीको प्रयोग गर्ने क्रम रोकिएको छैन । प्रदेशसभामा नै गाडी अभाव भएका समयमा अहिले यहाँका दुई गाडी कामै नलाग्ने भएका छन् । गाउँगाउँमा गाडी लिएर जानुपर्ने आवश्यकता नभएको ती कर्मचारीको भनाइ छ ।

समिति वा पदाधिकारीलाई प्रदेशसभाका काम–कारबाहीमा सहजता होस् भन्ने ध्येयका साथ सचिवालयले गाडी उपलब्ध गराउँछ । तर त्यसलाई सांसदहरूले आफ्नै ठानेर प्रयोग गर्दा गाडी नै नाम नलाग्ने स्थितिमा पुगेको अवस्था छ ।

लागत भन्दा बढी मर्मत खर्च !

सांसद यामलाल कँडेलले चलाउँदै आएको बा २ झ ३९७० नम्बरको स्कोर्पियो गत जेठ ६ गते चितवनको दासढुंगा नजिकै दुर्घटना भएको थियो । उक्त गाडी हालसम्म प्रदेशसभा सचिवालयले मर्मत गर्न सकेको छैन । सो गाडी भैरहवामा रहेको समृद्धि इन्टरप्राइजेज कम्पनीमा राखिएको छ ।

उक्त गाडी २०७५ असारमा रु.४९ लाख ४९ हजारमा खरीद गरिएको सचिवालय जिन्सी शाखाका नायब सुब्बा सुरेन्द्रबहादुर थापाले जानकारी दिए । अहिले उक्त कम्पनीले खरीद मूल्यभन्दा मर्मत खर्च बढीको इस्टिमेट दिएको छ ।

कम्पनीका अनुसार उक्त गाडी मर्मतका लागि रु.५९ लाख ६९ हजार खर्च लाग्ने देखिएको छ । यद्यपि हालसम्म नेता कँडेलले उक्त गाडी प्रदेशसभा सचिवालयलाई भने हस्तान्तरण गरेका छैनन् । कँडेलले गाडी दुर्घटनामा परेपछि गएको साउनमा नै सवारीसाधनको सेवा–सुविधा परित्याग गरेको घोषणा भने गरेका थिए ।

जलाइयो अध्यक्षको गाडी

प्रदेशसभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहले चढ्ने कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको स्कोर्पियोमा बिहीबार राति अज्ञात समूहले आगो लगाइदिएको छ । अध्यक्ष सिंह खाना खान भेरी नगरपालिका वडा नं. ७ का वडाध्यक्षको घरमा गएको समयमा अज्ञात समूहले आगो लगाउँदा गाडी पूर्ण रूपमा क्षति भएको छ ।

प्रदेशसभा सचिवालयका एक कर्मचारी भन्छन्, ‘अब यो पूर्ण रूपमा क्षति भएको गाडीको मर्मतको के कुरा गर्नु ? गाडी खरीद गरेको दुई वर्षमै प्रदेशसभालाई ठूलो धक्का लागेको छ ।’

सांसदले मनपरी प्रयोग गर्दा क्षति

वीरेन्द्रनगर–६ का उदय शाही सांसदले मनपरी रूपमा गाडी चलाउँदा यस्तो घटना भएको बताउँछन् । कम्तीमा गाडीलाई सुरक्षित स्थानमा राख्नुपथ्र्यो । पार्टी कार्यक्रमका लागि भनेर सचिवालयले गाडी दिएको पनि होइन होला । उनले भने, ‘गाडी पाउनु आफ्नो हक ठान्ने र सो सुविधाप्रति बढी लोभ गर्ने सांसदका कारण सरकारी सम्पत्तिको सत्यानाश भएको छ ।’

जुन कामका लागि सुविधा दिएको हो त्यसैका लागि प्रयोग गरेको भए क्षति नहुने शाही बताउँछन् । आफ्नो अधिकार क्षेत्र भन्दा पनि बाहिर गएर निजी सम्पत्ति जस्तै प्रयोग गर्न थालेपछि यस्तो अवस्था आउने गर्छ । उनले भने, ‘सांसदका घरमा घाँस बोक्नका लागि, पार्टी कार्यक्रममा जानका लागि त सरकारले गाडी दिएको होइन होला नि ?’

प्रदेशसभा सचिवालय गाउँमा नयाँ ट्रयाक खोलिएका बाटोमा समेत सांसदहरूले अनावश्यक रूपमा गाडी लैजाँदा मर्मत खर्च धेरै आउने गरेको बताउँछ । हरेक गाडीमा मर्मत खर्च धेरै छ । उहाँहरू जथाभावी गाडी लैजाने गर्नुहुन्छ । एकातिर गाडीका पार्टपुर्जा बिग्रने गरेका छन् भने गाडी किनेको दुई वर्षमै थोत्रिने गरेका छन् ।

स्रोत भन्छ, यसरी सरकारी सम्पत्तिको दुरुपयोग भइरहँदा पनि हामीले बोल्न सक्ने अवस्था छैन । उनका अनुसार सवारी साधन पाएका सांसदहरूमध्ये केही बाहेक अन्यले आफन्तलाई ओसार्न, निजी कामका लागि प्रयोग गर्न दिइने गरेको गुनासो प्रदेशसभामा आएको छ । यद्यपि उनले यसबारेमा धेरै कुरा खोल्न चाहेनन् ।

शाहले गरेनन् गाडी फिर्ता

असोज २५ गते कर्णाली प्रदेश नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई पदबाट बर्खास्त गरे पनि उनले हालसम्म गाडी फिर्ता गरेका छैनन् । उनले हालसम्म पनि कर्णाली प्रदेश ०२००१ झ ००३९ नम्बरको गाडी प्रयोग गर्दै आइरहेका छन् ।

शाहले गाडी फिर्ता नगर्दा नवनियुक्त सचेतक कुर्मराज शाहीले गाडी सुविधा प्राप्त गर्न पाएका छैनन् । मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर अभियानमा साथ दिएको भन्दै शाहलाई पदमुक्त गरेका थिए ।

उनको स्थानमा सीता नेपालीलाई प्रमुख सचेतक तथा कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *