नम्रता श्रेष्ठको नयाँ मोड : सिसिफस, मेन्टल हेल्थ र आशाको किरण – Nepal Press

नम्रता श्रेष्ठको नयाँ मोड : सिसिफस, मेन्टल हेल्थ र आशाको किरण

काठमाडौं । आइरिस नाटककार जर्ज बर्नाड शा भन्छन् –‘आशावादी र निराशावादी दुवैले समाज बनाउँछन् । आशावादीले जहाज बनाउँछ भने निराशावादीले प्यारासुट ।’ ग्रीष्म ऋतुको एक अपरान्ह उनी ‘ह्याप्पी’ मूडमा सुनिइन् । उनी अर्थात् नम्रता श्रेष्ठ ।

यस्तो लाग्छ, उनको जीवन फिल्मको रिलजस्तै घुम्यो । निराशा, आशा र ग्रीक दन्त्यकथाको एउटा पात्र सिसिफस जस्तै विचलित नहुने एउटा लेडी । पहिलोपटक २००९ मा उनको डेब्यु फिल्म ‘मेरो एउटा साथी छ’ पोखराको एउटा सिंगल थिएटरमा हेरेको थिएँ । सुकिलो स्टारडम, मुस्कान पोतिएको त्यो मुहार, मध्यमवर्गीय रोमान्सको चित्र मेरो स्मृतिमा ताजै छन् ।

यो त्यही समय थियो जतिबेला शहरमा नयाँ हिरोइनको उदय भएको थियो । मिडिया हेडलाइन ‘मल्टिप्लेक्स’ र ‘सिंगल’ हिरोइनको रुपमा डिस्कोर्स चलाउँदै थिए । मल्टिप्लेक्स अभिनेत्रीको ट्याग लाग्यो उनलाई । धेरैले शहरिया मध्यमवर्गीय दर्शककी एक्ट्रेसको रुपमा उनलाई परिभाषित गरे । उनी स्वयंले यो बहसमा आफूलाई विभाजित गर्न चाहिनन् । उनलाई लाग्छ : म सबै दर्शककी साझा अभिनेत्री हुँ ।

नम्रताको जन्म दुईपटक भयो । एउटा– धराने मोटीको रुपमा र अर्को सन् २००९ को स्क्यान्डलपछि । समयका यी दुई फरक आयामले नम्रताको व्यक्तित्व र बुझाइलाई डिफाइन गर्छन् । सबै साथीभाइले माया गरेर बोलाउने त्यतिबेलाकी प्रिय मोटी अहिले स्प्रिचुअल र फिलोसफिकल नमुको रुपमा रुपान्तरित छिन् । यही कारण नम्रता चरित्र बाँच्छिन् । चाहे त्यो ‘मेरो एउटा साथी छ’, चाहे ‘सोल सिस्टर’ होस् वा पति हत्याको बदला लिने ‘जाइरा’ चरित्र ।

नेपाली फिल्मको एउटा दर्शकीय वर्ग नम्रतालाई आदर्श मान्छ र उनको चरित्र बाँच्न चाहन्छ । मेन्टल हेल्थ, स्क्यान्डलका उतारचढाव र जीवनप्रतिको आशावादिताबाट नेपाली युवापुस्ताले धेरै कुरा सिक्न सक्छ ।

धेरैलाई सरप्राइज लाग्न सक्छ –नम्रताको पहिलो फिल्म ‘मेरो एउटा साथी छ’ होइन भन्दा । कक्षा १ मा पढ्ताका हो, नम्रताले बालकलाकारको रुपमा फिल्म ‘संगिनी’मा अभिनय गरेको । जतिबेला ‘लिटल बुद्ध’ र ‘संगिनी’ फिल्मको अडिसनमा भाग लिएकी नम्रता कलाकारको रुपमा छानिइन् । नेपालमै सुटिङ हुने भएकाले नम्रताले संगिनीमा चान्स पाइन् । दीपाश्रीको डेब्यु फिल्म र सरोज खनालसँगको स्क्रिन सेयर गर्दा बेलाको त्यो क्षण उनको मस्तिष्कमा फिल्मको रिलजस्तै घुमिरहन्छन् । यही विन्दुदेखि नमुभित्र अभिनयको हुटहुटी सवार भयो ।

डेढ दशक भयो नम्रताको जीवनमा समयले पटक–पटक परीक्षा लियो । यी परीक्षामा उनी पटक–पटक उत्तीर्ण पनि भइन् । यो ‘ब्याकअप’ र ‘स्ट्रेङ्थ’ कसरी आउँछ ? नम्रता यसको क्रेडिट परिवारको मूल्य र सपोर्टलाई दिन्छिन् । पहिलो म्युजिक भिडियो खेल्दा होस्, पहिलोपटक साइवर संसारमा फोटोसुट गर्दा होस् या २००९ को चर्चित स्क्यान्डल । यी उतारचढावमा परिवार उनको पक्षमा जहिल्यै उभियो । ‘त्यसकै कारण अहिलेसम्म म यहाँ छु’ नम्रता महसूस गर्छिन्, ‘परिवार जब तपाइँको पक्षमा उभिन्छ, अन्य चुनौती तपाइँलाई गौण लाग्छ ।’

मान्छेका गसिप र हल्लासँग नम्रतालाई कुनै गुनासो छैन । आत्मरति उनको जीवनको डिक्स्नेरीमा कहिल्यै अटाएन । पहिलो म्युजिक भिडियो होस् वा ‘सानो संसार’ प्रिमियरको बेला प्राप्त दर्शकको उच्च प्रशंसा । यो मामिलामा उनीसँग एउटा इमान्दार जवाफ छ : अरुले म्युजिक भिडियो र फिल्म हेरेर वाउ भने तर मेरो काम मलाई मन परेन । केही हो जस्तो पनि लागेन ।’ हुनसक्छ, आफ्नो काम मननपर्ने र असन्तुष्टि हुने उनको बानीले उनलाई अझै मिहिनेत गर्न प्रेरित गर्‍यो । हुनसक्छ गसिपको पछाडि नलाग्ने बानीले उनलाई आफ्नो सिद्धान्तमा अडिन प्रेरित गर्‍यो ।

यो मामिलामा एउटा रोचक किस्सा पनि छ । ‘सानो संसार’ हेरेपछि नम्रतालाई फिल्म मनपरेन । त्यो साँझ उनी र निर्देशक आलोक नेम्वाङबीच हल्का झगडा पनि पर्‍यो । आफ्नै फिल्मलाई किन नराम्रो भनेको भनेर आलोक नम्रतामाथि खनिए । तर, नम्रता यो मान्न तयार थिइनन् ।

आफ्नै काम र क्यारेक्टर उनलाई ‘हावा’ लाग्यो । आफ्नै काम उनलाई ‘ननसेन्स’ लाग्थे । तर, कहिलेकाहीं ननसेन्स कुराभित्र सेन्स लुकेका हुन्छन् । यही कारण नम्रता जहिल्यै टीमवर्कको पक्षमा उभिइन् । उनलाई लाग्छ, राम्रो फिल्म बन्न एउटा पक्ष मात्र राम्रो भएर हुँदैन ।

के कलाकार सधैं पर्फेक्सनको खोजीमा हुन्छ ? नम्रताको लागि उनी स्वयं ‘सानो संसार’ गर्ने बेला पूर्ण थिइनन् र ‘थ्राइभ’को खोजीमा थिइन् । ‘म ट्रेन्ड एक्टर थिइनँ । मैले जस्ता फिल्म हेर्थेँ त्यो समयमा त्यो हेर्दा चाहिं मलाई आफ्ना फिल्म मनपरेको हो’ उनी इमान्दार सुनिइन् ‘अरुले खतरा गर्छन् काम, तर मैले के नै गरेको छु भन्ने फिल हुँदो रैछ ।’

हुन त फिल्म समीक्षक सधैं ‘नो एक्टिङ इज एक्टिङ’ भन्छन् । अनि अर्को बिहान ? आफ्नै फिल्म हेर्न परिवारसहित हलमा जाँदा उनले ताला लगाएको देखिन् । त्यतिबेला डिजिटल र एनालग प्रविधिका पक्षधरबीचको झगडा उत्कर्षमा थियो । नम्रताको फिल्म ‘सानो संसार’ले डिजिटल विद्रोहको श्रीगणेश गरिदिएको थियो । नम्रतालाई डिजिटल ट्रेन्डको एउटा विम्वको रुपमा लिने पनि धेरै छन् ।

‘सानो संसार’ लागेका जति सबै हलमा ताला लागेको थियो । ‘यो हेर्दा म डिजापोइन्ट पनि भएकी थिएँ’ उनले सम्झिइन्, ‘केही घन्टापछि दर्शकको ठूलो क्राउड आयो र हल खुलायो । यसले ममा पुनः खुशीको संचार गर्यो ।’ कुनै एउटा कलाकारको लागि दर्शकको माया नै सबथोक हुन्छ । त्यसपछि मिडियामा आउने न्यूज र कार्यक्रममा गरिने सम्मानले नम्रतालाई सेलेव्रिटी हुनुको अर्थ बोध गरायो । ‘कताकता ह्वाइ भन्ने कुरा पनि मनमा खेल्थ्यो’ उनी सुनाउँछिन्, ‘कताकता सेलेव्रिटी भएको फिल पनि हुन थालेको थियो ।’

‘सानो संसार’ अगाडि नेपाली फिल्मले उनलाई रत्तिभर अपिलिङ तुल्याउन सकेन । न त पोस्टर, नत ट्रेलरले उनलाई इन्टरटेन तुल्याए । उनी नेपाली फिल्म हेर्ने प्राणी थिइनन् त्यो समय । भनिन्छ नि, व्यवस्था बदल्न व्यवस्थाभित्रै घुस्नुपर्छ । राजनीति शास्त्रको यो सूत्र कालान्तरमा उनै नम्रतामाथि प्रयोग भइदियो ।

‘सोल सिस्टर’जस्तो विशुद्ध प्रयोगवादी फिल्म बनाउन होस् या ‘जाइरा’को एक्सन लेडी । बक्सअफिस अंकगणितलाई भुल्ने हो भने यी सबै फिल्ममा नम्रताको नियत सकारात्मक महसूस हुन्छ । ‘त्यसपछि आलोक दाइले सधैं गोपीकृष्ण हलमा फिल्म हेर्न लैजानुहुन्थ्यो र नेपाली फिल्मको प्रवृत्तिलाई बुझ्ने मौका पाउँथे । बल्ल त्यसपछि नेपाली फिल्म हेर्न थालें’ उनी सम्झन्छिन् ।

‘त्यतिबेला धेरै न्यूज आउँथ्यो । मिडियाले नयाँ धार र पुरानो धार भन्दिनुभयो । मलाई थाहा पनि थिएन, कुन धार के हो भनेर । कतिपय ठाउँमा हामीलाई डिजिटल हिरो, हिरोइन पनि भन्नुहुन्थ्यो । यी कुराले हामीलाई सोच्न बाध्य पनि पार्‍यो ।

पहिले काम गर्ने शैली पनि भिन्न थियो । सानो संसारपछि डिजाइन र प्राविधिक कुरामा एकैपटक परिवर्तन आयो । तर, स्वीकार चाहिं राम्रोसँग गर्नुभयो । अनि डिजिटल फिल्म बन्न थाले । फिल्मको प्रोसेस पनि भिन्न हुन थाल्यो’ परिवर्तनको यो किस्सामाथि नम्रताको कथन छ ।

असल अभिनेताले चरित्र बाँच्छन् । नम्रतालाई पनि यस्तै लाग्छ । चरित्र बाँच्न उक्त पात्रको जीवनभित्रै पस्नुपर्ने चुनौती हुन्छ । कतिपय मेथड एक्टरलाई चरित्र बाँचिसकेपछि पुनः वास्तविक जीवनमा फर्कनलाई कठिन हुन्छ । डेनियल डे लेविसदेखि नेपालकै सौगात मल्लसम्मका एक्टरले चरित्र बाँच्न ‘एक्स्ट्रिम’ प्रयोग गरेका किस्सा छन् ।

‘त्यही भएर म वर्षमा एउटा दुइटा फिल्म मात्र गर्छु । मलाई चाहिं टाइम चाहिन्छ । उसले कसरी सोच्छ भनेर बुझ्नुपर्ने हुन्छ । प्रायः बाहिर जाँदा पनि म मान्छेलाई अब्जर्भ गरेको हुन्छु । त्यही नै मेरो स्कूल हो । यी कुराले मलाई पात्र निर्माण गर्न मद्दत गर्छन्’ नम्रताले कलाकार हुनुको चुनौती बाँडिन्, ‘तर, म क्लब जाने मान्छे परिनँ । घरमै बस्न मनपर्छ ।’

कहिलेकाहीं आफ्नो सफलतामा खुसी नहुने मानवीय गुण हुन्छन् । जस्तो, ‘क्लासिक’ फिल्मबाट सर्वोत्कृष्ट नायिकाको उपाधि जित्दा नम्रतालाई आफू अझै सेलेव्रिटी भइनसकेको भाव आयो । किनभने, यो त्यही समय थियो जतिबेला उनको जीवनमा ‘स्वास्थ्य’ प्रश्न बनेर उभिएको थियो ।

ठीक त्यही बेला उनमा मानसिक स्वास्थ्य (डिप्रेसन)को डायग्नोस भयो । ‘क्लासिक’ फिल्मको प्रत्येक सट् पिच्छे उनलाई गाह्रो हुन्थ्यो । उनी सोच्थिन् : म किन यहाँ छु, म यो काम किन गरिरहेकी छु । मेरो ठाउँमा अर्कै भएको भए अझ राम्रो गर्न सक्थ्यो होला भन्ने ।

निर्देशकले खोजेजति र पात्रले जति मागेको भूमिका हो, त्यो दिन नसकेको महसूस उनले सट्पिच्छे गर्थिन् । भन्नुको अर्थ ‘क्लासिक’ छायांकनदेखि नै उनमा डिप्रेसन शरु भएको थियो ।

‘त्यो वर्ष मैले सबैजसो अवार्ड जितेँ । तर म आफूभित्रै सरप्राइज थिएँ । मेरो माइन्डमा समस्या रहेछ त्यो समयमा । औषधि पनि खाइरहेकी थिएँ । मिक्सड टाइपको फिलिङ आउँथ्यो । त्यतिबेला त मजस्तो झुर एक्टर कोही थिएन जस्तो लाग्थ्यो’ मानसिक स्वास्थ्यबारे नम्रता खुलिन् ।

किनभने नेपाली समाजमा अहिले पनि खुल्ला रुपमा मानसिक स्वास्थ्यको बहस हुँदैन । त्यसमा पनि नेपाली फिल्म उद्योगमा अभिनेत्रीका लागि चुनौती धेरै हुन्छन् । ‘फिल्म मात्र हैन, नेपाली समाजका हरेक क्षेत्रमा महिलालाई हेर्ने विभेद हुन्छ । महिलाबाट पर्फेक्सनको आशा राखिन्छ । शुरुमा त मलाई पनि बोल्न गाह्रो भएको थियो । डाक्टरले अभोइड गर्न भन्नुभएको थियो । शुरुमा डराएकी थिएँ मेन्टल हेल्थको कुरा गर्न । पछि जोजोलाई डिप्रेसन छ, उहाँहरुसँग कुरा गर्थेँ । राम्रा फिल्म हेर्थेँ । योग र साधनाको लागि जान्थेँ । मेरो समस्या अरुलाई पनि सेयर गर्थेँ । यो कुराले अरुलाई पनि मद्दत मिल्यो’ उनी खुलिन् । आफ्नो अनुभवले अरुलाई मद्दत मिलोस् भनेर मानसिक स्वास्थ्यको बारेमा कुरा गरेको नम्रताकाे कथन छ ।

पब्लिक फिगर हुनुका आफ्नै खाले सीमा छन् । नचाहँदा नचाहँदै पनि क्यामेराको लागि रेडी भइदिनुपर्ने । कृत्रिम मुस्कान छर्दिनुपर्ने । बोलिदिनुपर्ने यस्तै यस्तै । तर, मेन्टल हेल्थसँग संघर्ष गरिरहेकी नम्रतालाई त्यो कालखण्डमा यी कुरा गर्न पटक्कै रुचि थिएन । बाहिरबाट जस्तो देखिन्छ, त्यस्तो नहुने डायलेक्टिकल समस्या । यो दौरान उनले गुम्बा चहारिन् । रिम्पोछेसँग माइन्ड ट्रेनिङ सिकिन् । पहेँलो रिबन बाँधेर अन्तर्यामी बन्ने प्रयास गरिन् ।

यी अभ्यासले उनलाई सहयोग दियो । तीन वर्षसम्म कामविना घरबाहिर गइनन् । या त ट्रेकिङ गइन् या त घरमै आराम गरिन् । तीनवर्ष डिप्रेसनको औषधि लिइन् । उनलाई धर्मगुरुले नकारात्मक मान्छे र वातावरणबाट टाढा रहन सुझाएका थिए ।

‘म आत्महत्याको सोचमा पनि थिएँ त्यो समय । नेगेटिभ बाहेक आउने कुरै थिएन । जे सोसल मिडिया खोले पनि नेगेटिभ कुरा आउने’ नम्रतालाई लाग्छ, ‘कलाकार हुनुको नाताले मलाई सबै कुरा थाहा हुनुपर्छ । तर, मलाई ती जान्नु जरुरी थिएन । डिप्रेसनका समयमा के कुरा बोल्ने, के कुराबाट पछि हट्ने जस्ता कुरा पनि महत्वपूर्ण थिए मेरा लागि ।’

‘मेरो एउटा साथी छ’ रिलिजकै टाइममा हो । नम्रताको जीवनमा एकसाथ खुशी र विस्मात दुवै आए । सन् २००९ को यो बेला उनको जीवनमा एउटा ठूलो स्क्यान्डल भयो ।

‘त्यो टाइममा मान्छेहरुले म अब सिद्धिएँ भने सोचेका थिए । मैले गिभअप गर्छु भनेर सोचेका थिए । मैले आफूलाई मार्छु भनेर पनि सोचेका थिए । मैले पनि सोचेको थिएँ होला कुनै प्वाइन्टमा एकचोटि तर बिर्सिएँ । तर, फेमिलीको सपोर्ट मेरो पक्षमा थियो । त्यो विन्दुमा म आफ्नो लक्ष्य र गन्तव्यप्रति दृढ थिएँ । परिवारले पनि मलाई दुईवटा अप्सन दिनुभएको थियो । एउटा –तिमीलाई जहाँ जान मन लाग्छ जाऊ । मैले न्यूयोर्क फिल्म स्कूलमा अप्लाइ गर्न लागेकी थिएँ । यसो हुँदा भाग्यो भन्ने कुरा हुन्छ । अर्को यहीँ बसेर परिस्थितिलाई फेस गर्ने । फेमिलीले नै भनेपछि म यहीँ बस्ने निधोमा पुगेँ । वास्तविक रुपमै यो कठिन परिस्थिति थियो ।’

‘योङ पनि थिएँ । धेरै कुराहरुलाई ह्यान्डल गर्न सक्ने थिइनँ । कसरी लिनुपर्छ कुराहरुलाई भन्ने कुराको आइडिया थिएन । सबै कुरा एकैपटक भएपछि काममा डिस्टर्ब हुन्थ्यो । त्यतिबेलै रेष्टुरेन्ट खोल्दै थिएँ । कतिपय साथीले इट्स ओके भन्नुभयो । फेमिलीले पनि साथ दिनुभयो । सबैजनाको माया देखेपछि म अझै बलियो हुनुपर्छ भनेर अगाडि बढ्ने सोच गराएँ । मेरो टिचर, फेमिली र साथीले सधैं कल गरेर म ठीक भए नभएको कुरा जान्नुहुन्थ्यो’ नम्रता भावुक सुनिइन्, ‘मैले ठीक त्यहीबेला अब म जहाँ पुग्नुपर्ने हो, त्यहीँ पुग्छु भनेर प्रतिबद्धता गरेको थिएँ ।’ नम्रतालाई नजिकबाट चिन्नेहरु भन्थे –उनी आफ्ना समकालीनसँग घुलमिल हुँदिनन् । वृद्ध उमेरका सँग उनी मिल्न रुचाउँछिन् र सानैदेखि जिज्ञासु स्वभावकी थिइन् । उनी प्रश्न गर्थिन् र उनका हजुरआमासँग उत्तर हुन्थे ।

अर्को आयाममा नम्रताले फिल्म निर्मात्रीको जीवन बाँचिन् । सिक्किमका प्रशान्त रसाइलीसँग मिलेर उनले ‘सोल सिस्टर’ निर्माण गरिन् । बक्सअफिसमा फिल्म असफल भयो । उनी आफैंले हलमा फोन गरेर फिल्म हटाइदिन भनिन् । डेब्यु निर्मात्रीको रुपमा उनले यस फिल्मबाट धेरै कुरा सिकेको बताउँछिन् । यस्तो लाग्छ, उनी सेल्फ क्रिटिकल प्रोड्युसर पनि हुन् । आफ्नै फिल्मलाई पैसा तिरेर नहेर्न सुझाउने उनको बानी अचम्मको छ । अब भने प्रोडक्सन गर्न डर मान्ने पक्षमा छैनन् उनी । राम्रो टीम गराएर मात्र फिल्म बनाउने मूडमा छिन् उनी । ‘म दुईचारवटा कन्सेप्टमा काम गरिरहेकी छु । मेरो बकेट लिस्टमा केही प्रोजेक्ट छन्’ उनी भन्छिन्, ‘चाँडै पुनः निर्मात्रीको रुपमा फर्कनेछु ।’

नम्रताको लागि अभिनय महत्वपूर्ण शर्त हो, चाहे त्यो नाटक होस् वा फिल्म । उनलाई माध्यमगत विविधतामा आपत्ति छैन । उनले पछिल्लोपटक गोल्डेन ब्वाइ नामक नाटकमा पनि अभिनय गरिन् । तर, तपाइँ आफूलाई एक्टर किन मान्नुहुन्न ? हाम्रो प्रश्नमा उनी भन्छिन्–मलाई निश्चित रुपमा यस्तो काम गरेँ र गरेको छु भन्ने नै भएको छैन, जुन दिन हुन्छ, त्यो दिन भन्छु । मलाई एक्टरको रुपमा लाग्ने भएँ मात्र भन्थेँ । त्यो महसूस अहिले गरेकी छैन । सेलेव्रिटी बन्ने सपनाको दौडमा नम्रताको यस्तो जवाफ एउटा आदर्श पनि हो । किनभने, नेपाली फिल्मको एउटा दर्शकीय वर्ग नम्रतालाई आदर्श मान्छ र उनको चरित्र बाँच्न चाहन्छ । मेन्टल हेल्थ, स्क्यान्डलका उतारचढाव र जीवनप्रतिको आशावादिताबाट नेपाली युवापुस्ताले धेरै कुरा सिक्न सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *